तनहुँ जलविद्युत्को तेस्रो पटक ठेक्का आह्वान

2390

आयोजना निर्माण अवधि सन् २०२५ जुनसम्म धकेलिने

फाल्गुन १९, २०७६

काठमाडौँ — १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजको संरचना बनाउन तेस्रो पटक टेन्डर आह्वान गरिएको छ । पहिलो पटक ठेक्का पाएको कम्पनीले सम्झौताअनुसार काम सुरु नगरेको र दोस्रो ठेक्कामा सहभागी कम्पनीहरू प्राविधिक रूपमा अयोग्य भएपछि शुक्रबार पुनः ठेक्का आह्वान गरिएको हो ।

तीन पटक ठेक्का गर्नुपर्दा आयोजना निर्माण सम्पन्न अवधि  सन् २०२५ को जुनसम्म धकेलिने अनुमान गरिएको आयोजना प्रमुख प्रदीपकुमार थिकेले बताए ।

आयोजनाको हेडवर्क्स संरचनाका लागि पहिलो पटक गरिएको ठेक्का इटालियन कम्पनी सीएमसीले पाएको थियो । सीएमसीले भनेको समयमा काम सुरु नगरेपछि ठेक्का सम्झौता रद्द भएको थियो । त्यसपछि वैशाखमा आह्वान गरिएको दोस्रो पटकको ठेक्कामा सहभागीको सूची आयोजना कार्यालयले दातृ निकाय एसियाली विकास बैंक (एडीबी) मा पठाएको थियो । बाँधसहितको संरचना (हेडवर्क्स) निर्माणका लागि गरिएको ठेक्कामा चार कम्पनीले बोलपत्र पेस गरेका थिए ।

चीनको चाइना गेजुवा ग्रुप अफ कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, चाइना नेसनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड तथा सोङ डा कर्पोरेसन भियतनाम र कालिका कन्स्ट्रक्सन नेपाल जेभीले बोलपत्र पेस गरेका थिए । दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्ने गरी बोलपत्र माग गरिएको थियो ।

यी कम्पनीहरूको सूची एडीबीमा पठाइएको र कुनै पनि कम्पनी प्राविधिक रूपमा आयोजना निर्माणका लागि सक्षम नदेखिएपछि पुनः ठेक्का आह्वान गर्ने निर्णय भएको हो । यसअघि कम्पनीले कात्तिकको दोस्रो साताभित्र ठेक्का सम्झौता गरी पुसबाट आयोजनास्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने लक्ष्य राखेको थियो ।

पहिलो पटक ठेक्का गर्दा आयोजना २०२४ को जुनभित्र सक्ने लक्ष्य राखिएको थियो । दोस्रो पटकको ठेक्कामा आयोजना निर्माण सम्पन्न मितिलाई २०२४ को डिसेम्बरमा सारिएको थियो । पहिलो चरणको संरचनाअन्तर्गत आयोजनाको १ सय ४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुई वटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नुपर्नेछ ।

पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरू एसियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैक (ईआईबी) को सहुलियतपूर्ण ऋण परिचालन हुने आयोजनाले जनाएको छ । चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका काम गरिरहेको छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन बनाउन भारतीय कम्पनी केईसीसँग ठेक्का सम्झौता भइसकेको छ । उक्त कम्पनीले प्रसारण लाइनको सर्भे गरिरहेको छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ । यसमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, ईआईबीले ८ करोड ५० लाख र नेपाल विद्युत् प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
स्रोत:कान्तिपुर