सिंहदरबारभित्र ६० करोडको लागतमा सोलार निर्माण गरिने, चीनसँग सम्झौता

    2463

    काठमाडौं : ऊर्जा मन्त्रालय र चिनियाँ सरकारबीच सिंहदरबारभित्र सौर्य ऊर्जा (सोलार) निर्माणका लागि सोमबार सम्झौता भएको छ । सिंहदरबारभित्रका छतहरूको उपयोग गरी सोलारबाट एक मेगावाट उत्पादन गर्ने गरी सम्झौता भएको हो ।

    ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र चिनियाँ राजदूतावासका इकोनोमिक काउन्सिलर वाइ पिङबीच आगामी १३ महिनाभित्र निर्माण सम्पन्न हुने गरी हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ ।

    “आगामी डिसेम्बरमा निर्माण सुरु गरी १३ महिनाभित्र निर्माण पूरा गर्ने गरी सम्झौता भएको छ,” सहसचिव घिमिरेले भने । मन्त्रालयका अनुसार, अनुमानित ६० करोड लागत रहेको सोलार प्लान्टबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा जोडिने छ ।

    ५ वर्षअघि ५ मेगावाटको सोलार उत्पादन गर्ने गरी अध्ययन अघि बढाए पनि  सिंहदरबारभित्रका अधिकांश छतहरू अयोग्य देखिएपछि एक मेगावाट मात्र उत्पादन हुने भएको हो ।

    सिंहदरबार र यस वरिपरि रहेका करिब चार दर्जन भवनमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालयसहित १७ भवन मात्र सोलार उत्पादनका लागि योग्य देखिएको छ ।

    आधुनिक प्रविधिको उपयोग गरेर निर्माण हुने ग्रिड कनेक्टेट सोलारबाट सिंहदरबारभित्रको बिजुली आवश्यकता पूर्ति गर्नका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    स्रोत : कारोबार