काठमाडाैंसहित प्रमुख सहरमा विद्युत् वितरण प्रणाली भूमिगत गरिने

    2543

    परामर्शदाता नियुक्त हुँदै

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालगायत अन्य प्रमुख सहरहरुमा भुमिगत लाइनबाट विद्युत् वितरणको तयारी गरेको छ ।
    बाहिरी प्रणालीबाट विद्युत् वितरण गर्दा जोखिम बढेको र सहरको सौन्दर्यमा ह्रास आएको भन्दै प्राधिकरणले यसलाई भूमिगत गर्न लागेको हो । विकसित मुलुकमा विद्युत् वितरण प्रणाली भूमिगत गरेको पाइएपछि नेपालले पनि प्रमुख सहरमा भूमिगत गर्न लागेको हो ।
    यसका लागि एसियाली विकास बैंक(एडीबी)ले ३२ अर्ब रुपैयाँ बढी ऋण लगानी गर्ने भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै १२ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।
    भूमिगत वितरण प्रणाली विस्तारका लागि आन्तरिक तयारी भइरहेको ऊर्जामन्त्री जनार्दन शर्माले बताए । उनका अनुसार काठमाडौं उपत्यका र देशका प्रमुख सहरहरुमा वितरण प्रणाली सुदृढीकरण गर्न दीर्घकालीन गुरुयोजना तयार भैरहेको छ । काठमाडौंको वितरण प्रणाली कम्तीमा २ हजार एमभीए हुने गरी कार्य अगाडी बढाएको उनले जानकारी दिए । भूमिगत लाइन विस्तारको काम अघि बढाउन  प्राविधिक तयारी भईरहेको समेत उनले बताए ।
    वितरण प्रणालीलाई भूमिगत बनाउन परामर्शदाता नियुक्तिको प्रकृया सुरु भइसकेको विद्युत् प्राधिकरण वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले बताए । परामर्शदाता नियुक्त भएपछि यसले गति दिने उनले जानकारी दिए ।  २ वर्षभित्र यसलाई सक्ने गरी योजना तयारी भइरहेको उनले जानकारी दिए । यस्तै उपत्यका बाहिर बिराटनगर, वीरगञ्ज, पोखरालगायत प्रमुख सहरमा भूमिगत प्रणालीबाट विद्युत् वितरण गरिने योजना रहेको उनले बताए । सबै सहरमा भूमिगत वितरण प्रणालीको काम एकसाथ अघि बढेको छ ।
    तस्बिर : गुगल 

    स्रोत : १२ खरी