८८२ मेगावाटका दुई आयोजनाको स्वामित्व किनेपछि बीपीसीको सेयर मूल्य र कारोबार दुबै बढ्यो

    1183

    सोमबार बुटवल पावर कम्पनी(बीपीसी) को सेयर कारोबार लगायत सेयर मूल्य दुबै बढेकाे छ ।कम्पनीले ८८२ मेगावाट क्षमताका २ जलविद्युत आयोजनाको सम्पूर्ण स्वामित्व खरिद गरेपछि लगानीकर्ताहरु यस कम्पनीमा आकर्षित भएका हुन् ।

    बजारमा बीपीसीकाे सबैभन्दा बढी सेयर कारोबार भएको छ । सोमबार मात्रै यस कम्पनीको ६ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य अघिल्लो दिनको तुलनामा २.४४ प्रतिशतले बढेर प्रतिकित्ता ५०४ रुपैयाँ पुगेको छ ।

    बीपीसी र चिनियाँ कम्पनीको बहुमत स्वामित्व रहेको एसीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले आइतबार उक्त आयोजना किन्ने सम्झौता गरेका हुन् । सम्झौता अनुसार कम्पनीले ६०० मेगावाटको माथिल्लो मस्र्याङदी २ र २८२ मेगावाटको मनाङ-मस्र्याङदी जलविद्युत आयोजनाको सबै स्वामित्व गरि सो मात्राको विद्युत खरिद गर्ने भएको छ ।

    बीपीसीले चिनीया कम्पनीको साझेदारीमा १००० मेगावाट आयोजना बनाउन लागेको हो । जसको लागि कम्पनीले चीनबाट २ खर्ब लगानी भित्र्याउँदै छ ।

    समग्रमा सोमबारको सेयर बजारमा ८.२७ अंकले घटेर १३४५ अंकमा झरेको छ । सो दिन कुल १५९ कम्पनीको ४३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।

    त्यस्तै, अन्य बाहेक कारोबारमा आएका बाँकी समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ३९ अंकले ओरालो लागेको छ । अन्य समूह भने सामान्य ०.३४ अंकले बढेको छ ।

    विकासन्युज