आयल निगमले चार्जिङ स्टेशन राख्न अध्ययन गर्दै

1442

माघ २, २०७५

काठमाडौं। विद्युतीय सवारी साधनको प्रयोग बढाउन नेपाल आयल निगमले पेट्रोल पम्पसँगै चार्जिङ स्टेशन राख्न अध्ययन गर्ने भएको छ।

नेपाल विद्युत प्राधिकरणसँगको  सहकार्यमा निगमले पेट्रोल पम्पमै चार्जिङ स्टेशनका लागि तयारी थालेको निगमका उप कार्यकारी निर्देशक सुशील भट्टराइले जानकारी दिए। सरकारलेनै विद्युतीय गाडीलाई प्रोत्साहन गर्नै भन्दै तीन सय बस भित्र्याउने निर्णय गरिसकेको छ। प्राधिकरणले पनि वर्षायाममा सबै विद्युत खपत गर्न नसकिने भन्दै विद्युतीय गाडीको प्रवर्द्धनका लागि चार्जिङ स्टेशन बनाउने घोषणा गरिसकेको छ।

अर्को वर्ष कात्तिकमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन हुने र सबै विद्युतको खपत नहुने भएकाले विद्युत खपत बढाउने योजना बनाएको हो। निगमले चार्जिङ स्टेशन बनाउने ठाउँको अध्ययन गर्नेछ।चार्जिङ स्टेशनको लागि आवश्यक क्षमताको लाइन नभएको ठाउँमा प्राधिकरणले क्षमता बृद्धि गर्ने र चार्जिङ स्टेशन राख्ने गरि छलफल भइरहेको भट्टराईले बताए।

पहिलो चरणमा उपत्यका भित्रका ७० बढी पेट्रोल पम्पमा चार्जिङ स्टेशन राख्न अध्ययन हुनेछ। दोस्रो चरणमा उपत्यका वरपर समेत गरि दुई सय बढी पेट्रोल पम्पमा चार्जिङ स्टेशन राख्ने निगमको तयारी छ।चितवनदेखि थानकोट सम्मको पृथ्वी राजमार्गमा पर्ने पेट्रोल पम्पमा पनि चार्जिङ स्टेशन राख्ने निगमको योजना छ। यो क्षेत्रमा एकातिर भिरालो पहाड र अर्को तिर नदी भएकोले उपयुक्त ठाउँ भेटिएमा पेट्रोल पम्प बाहेकका ठाउँमा पनि चार्जिङ स्टेशन राख्ने उनले बताए।

प्राधिकरणले गत वर्षदेखिनै विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्ने भन्दै आफ्नो केन्द्रीय कार्यालय रत्नपार्कमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ। सो स्टेशन आन्तरिक प्रयोगको लागि भएपनि विद्युतीय गाडीको प्रवर्द्धनमा निकै सहयोगी भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए।

प्राधिकरणले काठमाडौं र ललितपुर महानगरपालिकासँग सहकार्य गरेर थप १० ठाउँमा तत्काल चार्जिङ स्टेशन राख्ने तयारी गरेको छ। प्राधिकरणले विद्युतीय गाडीको प्रवर्द्धनकै लागि अहिले एउटा विद्युतीय गाडी प्रयोगमा ल्याएको छ। २८ लाख रुपैयाँ पर्ने सो गाडी एक पटक चार्ज गरेपछि ८० किलोमिटर सम्म गुड्ने गरेको छ। ४५ मिनेटमा फुल चार्ज हुँदा १५ युनिट विद्युत खपत हुने गरेको छ।

उपत्यकामा सामान्यतया डिजेल/पेट्रोल गाडीले एक लिटर इन्धनबाट अधिकतम २० किलोमिटर भन्दा बढी यात्रा गर्न सकिदैन। विद्युतीय गाडीले भने १५० देखि २०० रुपैयाँबाट ८० किलोमिटर भन्दा बढी यात्रा गर्न सकिन्छ। उपत्यकामा अहिले प्राधिकरणले केन्द्रीय कार्यालयमा दुई वटा, सिंहदरवारमा एउटा, ज्ञानेश्वर स्थित बिवाइडीको अफिसमा एउटा र अन्य ठाउँमा समेत गरि ५/६ वटा चार्जिङ स्टेशन राखिसकिएको अधिकारीले बताए।

एउटा चार्जिङ स्टेशन राख्न कम्पनी अनुसार ५ देखि १५ लाख रुपैयाँ सम्म खर्च लाग्ने गरेको छ। चार्जिङ स्टेशनको लागि जग्गा खरिद गर्दा अझै महँगो पर्छ।

अमर बडुवाल
बिजमाण्डू