सहरमा पनि ऊर्जा अनुदानको तयारी

    2724

    Solar Power Systemबाग्लुङ,माघ २१ – मुलुकको बढ्दो लोडसेडिङमा दिक्क भएका सहरी जनतालाई राहत दिन सरकारले ऊर्जा नीति परिवर्तनको तयारी गरेको छ। विद्युतमा मात्र निर्भर रहेका सहरियालाई नवीकरणीय ऊर्जा प्रयोगतर्फ आकर्षित गर्न विशेष अनुदान दिने नीतिको मस्यौदा तयार भएको छ।
    ऊर्जा सुरक्षालाई बढाउन वायु र सौर्य ऊर्जालाई बहुउपयोगमा ल्याउन अनुदान नीति तयार भएर पारितको चरणमा रहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक गोविन्दराज पोखरेलले जानकारी दिएका छन्। विज्ञान तथा प्रविधि मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जिल्ला विकास समिति, ऊर्जा तथा वातारण शाखा, डिसिआरडिसीले यहाँ आयोजना गरेको नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्त्रि्कयामा पोखरेलले उक्त जानकारी दिएका हुन्।
    नयाँ नीतिमा प्रधानमन्त्रीसमेत सकरात्मक रहेको उनले बताए। उनका अनुसार सरकारले ४० प्रतिशत दिने गरी नीतिको मस्यौदा बनेको छ। बैंक तथा वित्तीय संस्थाले ४० प्रतिशत ऋण र २० प्रतिशत सम्बन्धित व्यक्ति तथा संस्थाले लगानी गर्ने मस्यौदामा छ। अहिलेसम्म ग्रामीण क्षेत्रमा लघुजलविद्युतका लागि प्रति किलोवाट १ लाख २५ हजार अनुदान दिने नीति छ।
    ग्रामीण क्षेत्रका जनतालाई लघुजलविद्युतमा यस अगाडि दिँदै आएको अनुदानलाई समेत वृद्धि गर्ने गरी प्रस्ताव गरेको उनले जनाए । बढ्दो मूल्यवृद्धिअनुसार प्रति किलोवाट १ लाख ९५ हजारदेखि २ लाख २५ हजारसम्म प्रदान गर्न लागिएको हो। ‘विगतको तुलनामा लघुजलविद्युतमा पनि अनुदानमा वृद्धि गर्ने प्रस्ताव गरेका छौं,’ उनले भने।
    स्थानीय निकायसँग सहकार्य गरेर फोहोरबाट समेत ऊर्जा निकाल्ने तयारी भएको उनले बताए। केन्द्रले मुलुकका ३८ नगरपालिकाले फोहोरबाट ऊर्जा निकाल्न इच्छा जनाएको जनाएको छ। नेपाल सरकार र विश्व बैंकको सहयोगमा यो परियोजना अगाढि बढाउने लागिएको हो। ‘५८ नगरमध्ये ३८ ले इच्छा गरेका छन्,’ पोखरेलले भने, ‘फोहोरबाट विद्युत निकाले केही राहत हुनेछ।’ पाँच सय घरमा फोहोरबाट ऊर्जा निकाल्ने योजनासमेत उनले सुनाए।
    निजी क्षेत्रलाई समेत सौर्य र वायु ऊर्जामा लगानीको वातावरण सिर्जना गर्ने पहल भएको उनले बताए। ‘सौर्य र वायु ऊर्जाबाट बिजुली निकालेर बेच्न पाउने व्यवस्था कायम गर्दै निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ,’ उनले भने। प्युठान, मकवानपुरमा वायु ऊर्जाको अध्ययन भइरहेको जानकारी दिए।
    नेपालमा सञ्चालनमा ल्याइएको बायो ग्यास प्लान्ट बंगालादेश र इन्डोनेसियाले समेत अनुसरण गरेको बताए। नेपाल सरकार नवीकरणीय ऊर्जा क्षेत्र कार्यक्रमअन्तर्गत विभिन्न दातृनिकायको सहयोगमा आगामी पाँच वर्षमा लघुजलविद्युतबाट २५ मेगावाट बिजुली उत्पादन गर्ने,६ लाख घरमा सौर्य विद्युत जान गर्ने, १ लाख ३० हजार घरमा बायो ग्यास प्लान्ट जडान गर्ने लक्ष्य राखेको उनले बताए। ‘आगामी पाँच वर्षलाई विभिन्न दातृनिकायले १ सय ७० मिलियन अमेरिकी डलर सहयोग गर्ने भएका छन्,’ उनले भने, ‘नवीकरणीय ऊर्जामा काम अगाडि बढाए दाताको खाँचो छैन।’ नवीकरणीय ऊर्जाअन्तर्गत लघुजलविद्युत, पेल्ट्रिक सेट, सुधारिएको चुलो, ब्रिकेट, गोबर ग्यास, सुधारिएको पानी घट्ट, घरेलु सौर्य विद्युत प्रणाली, ग्रामीण सौर्य खानेपानी लगायतको क्षेत्रमा सघाउने योजना छ।

    प्रस्तुति:नागरिक