जलविद्युतको डिजाइनमै त्रुटि

    1235

    फाल्गुन २, २०७३- जापान सहयोग नियोगको अनुदान सहयोगमा झन्डै ८५ करोडको लागतमा मर्मत कार्य गरिएको बझाङको डोगडीस्थित सुर्मा देवी साना जलविद्युत् आयोजनाको डिजाइनै नै त्रुटि रहेको भेटिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले गरेको अनुगमनका क्रममा यस्तो त्रुटि पत्ता लागेको हो । विद्युत् नहरको इन्टेक निर्माण गर्दा भौगोलिक अवस्थाको अध्ययन नगरी ठूलो खर्चमा मर्मत भएको विद्युत् चार महिना नपुग्दै काम नलाग्ने भएको निष्कर्ष प्राविधिक टोलीले निकालेको छ ।

    ‘खोलाको छेउमा निमार्ण गर्नुपर्ने इन्टेक खोलाको बीचमा बनाइएको छ,’ स्थलगत अनुगमनमा आएका नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका इन्जिनियर मदनराज भट्टले भने ‘ठूलो पानी पर्‍यो भने दुईचार घण्टामै सेडिमेन्ट्स (ढुंगामुडा र काठपात) भरिएर इन्टेक सफा गर्नुपर्ने हुन्छ । इन्जिनियरिङ डिजाइनमै ठूलो त्रुटि रहेको छ ।

    धेरै सेडिमेन्ट्स आउने ठाउँमा यस्तो संरचना उपयुक्त हुँदैन,’ गलत ठाउँमा बनाइएका कारण निर्माण सम्पन्न भएको चार महिनामै इन्टेकको मुनितिरको भाग (एप्रोन) भत्किसकेको उनले बताए ।
    यो आयोजनाको स्रोत रहेको बाहुली गाड र जेउडेगाड खोला जिल्लाकै सबैभन्दा बढी बाढी आउने खोला हुन् । ठूलाठूला ढुंगामुडासमेत बगाउने यो खोलाले गत साउनमा सदरमुकाम जोड्ने झोलुंगे पुल र छवटा घर पसलसमेत बगाएको थियो । विद्युत्गृहमा पानी आपूर्ति गर्ने मुख्य अंग (इन्टेक) नै गलत ठाउँमा बनाइएका कारण यो आयोजनाले अर्को बर्खाबाट विद्युत् उत्पादन गर्न समस्या हुने प्राविधिकहरूले बताएका छन् ।

    यस्तै विद्युत्को खपतअनुसार पानीको बहाव व्यवस्थापन गर्ने संयन्त्र जडान गर्नुपर्नेमा यसो नगरिएको प्राविधिक टोलीले बताएको छ । ‘विद्युत्को खपत कम हुँदा पानीलाई पोखरीमा नै थुन्ने र खपत बढी हुँदा छोड्ने खालको स्वचालित संयन्त्र जोड्नुपर्नेमा त्यसो गरिएको छैन,’ टोलीका सदस्य तथा विद्युत् प्राधिकरणको बैतडी विद्युत् वितरण केन्द्रका प्रमुख राजेन्द्र देवले भने ‘यसको साटो बढी उत्पादन भएको विद्युत्लाई हिटरमार्फत विर्सजन गर्ने प्रणाली राखिएको रहेछ । यसो गर्दा खपत नभएको बिजुली त्यसै खेर जान्छ ।’

    टालटुले काम
    झन्डै पाँच मेगावाट विद्युत् उत्पादन हुने खर्चमा मर्मत गरिएको यो विद्युत् निमार्णको गुणस्तर पनि ठीक नभएको बुझिएको छ । निर्माण सम्पन्न भएको २ महिना जति दैनिक ८ घण्टा लोडसेडिङ हुने गरेको यहाँको विद्युत् अहिले दैनिक २२ घण्टासम्म लोडसेडिङ हुने गरेको छ । विद्युत् अनियमित हुँदा यहाँको सरकारी कार्यालयको काम, बन्दव्यापार र उद्योग व्यवसायमा नराम्ररी प्रभावित भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणसँग सो विद्युत् भाडामा लिएर चलाइरहेको निजी कम्पनी सुर्मादेवी विद्युत् प्रालिले पानीको बहाव घटेका कारण लोडसेडिङ बढेको बताएको छ । निर्माण सम्पन्न भएको चार महिना नबित्दै दर्जनौं ठाउँमा नहर चुहिन थालेपछि पानीको मात्रामा कमी भएको सुर्मादेवी विद्युत् प्रालिका सहायक प्रबन्धक नवराज जाग्रीले बताए । उनले भने, ‘मुहानबाट आएको आधा पानी चुहिएर सकिन्छ । आधा मात्र पानीले दैनिक एक सय किलोवाट विद्युत् पनि उत्पादन गर्न सक्दैन,’ जापानकै ठेकेदार कम्पनी मारुसिनसिताकाले मर्मत गरेको उक्त विद्युत्को धेरै ठाउँमा टालटुले काम भएको सुर्मादेवी विद्युत् प्रालि स्रोतले बताएको छ । यस्तै विद्युतको पानी निकास गर्ने नहर (टेलरेस) समेत कम्पनीले मर्मत नगरी त्यसै छोडिएको, नहरको भिरालोपन (स्लोप) नमिल्दा छिटोछिटो बालुवा भरिएर पानीको मात्रा घट्ने गरेको स्रोतले बताएको छ ।

    जापानकै अर्को कम्पनी निप्पोनकोईले जडान गरेको इलेक्ट्रोमेकानिकल पार्टमा सबै मेसिनहरू नयाँ थप्नुपर्नेमा केही पुराना मेसिनलाई नै रंगरोगन गरेर जडान गरिएको स्रोतको भनाइ छ । विद्युत् खुला र बन्द गर्ने प्यानलबोर्डमा समेत स्विचहरू जोड्नुपर्नेमा खुला तार छोडिएको, प्यानलबोर्डको स्पेयर पार्टहरूको व्यवस्था नगरेको, विद्युत्गृहमा विद्युत् आपूर्ति बन्द हुँदा उज्यालोको वैकल्पिक व्यवस्था नगरिएको, विद्युत् गृह सञ्चालन गर्ने मेसिन स्वचालित र हातले चलाउन मिल्ने हुनुपर्नेमा त्यसो नभएको स्रोतको भनाइ छ ।

    स्थानीय आन्दोलित
    नेपाल विद्युत् प्राधिकरण आफैंले मर्मत गर्दा लाग्ने खर्चभन्दा झन्डै ७० गुणा बढी खर्चेर मर्मत गरिएको विद्युत् काम नलाग्ने भएपछि यसमा अनियमितता भएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । उद्योग वाणिज्य संघ बझाङका पूर्वअध्यक्ष ओमजंङबहादुर सिंहको अगुवाइमा जिल्ला प्रशासन कार्यलयमा अनियमितताको छानबिन गर्नका लागि ज्ञापन पत्रसमेत बुझाएका छन् ।

    मर्मतका नाममा ठूलो खर्च गरेर मन्त्रालयदेखि जिल्लासम्म पार्टीका नेता कार्यकर्ता र विद्युत् प्राधिकरणका कर्मचारीहरूलाई पैसा वितरण गरेको स्थानीयको आरोप छ । आयोजना मर्मतका लागि जापान सरकारले दिएको करोडौं रुपैयाँ घोटाला गरेको र गुणस्तरहीन काम गरेकाले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धानमा समेत उजुरी गरेको संर्घष समितिका अगुवा ओमजंगबहादुर सिंहले बताए । तुरुन्तै छानबिन गरेर विद्युतको समस्या नसल्टाए आन्दोलन अझ चर्काउने स्थानीयले बताएका छन् ।

    स्रोत:कान्तिपुर