विद्युत व्यापार, अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि नेपाल–भारतबीच आज सहसचिवस्तरीय बैठक बस्दै

    1184

    काठमाडौं । विद्युत व्यापार, अन्तरदेशीय प्रसारणलाइन निर्माणलगायत पूर्ववर्ती सम्झौता कार्यन्वयनका लागि नेपाल–भारतबीच सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूह(जेडब्ल्युजी) बैठक बस्ने भएको छ ।

    जेडब्ल्युजी बैठकमा नेपालको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र भारतको केन्द्रीय विद्युत नियमन आयोगको अध्यक्ष आर के बर्माले नेतृत्व गर्ने भएका छन् । बैठकमा दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता (पीटीए) कार्यन्वयन, ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारणलाइनलाई २२० र ४०० केभीमा चार्ज गर्ने, बुटबल गोरखपुर ४ सय केभी अन्तरदेशिय प्रसारणलाइन निर्माणका लागि काम सुरु गर्ने विषयमा छलफल हुने सहसचिव  घिमिरेले बताए ।

    बैठकमा नेपालको बुटबलदेखि भारतको गोरखपुरसम्म प्रसारणलाइन निर्माणका लागि भएको अध्ययन प्रतिवेदनका विषयमा छलफल हुने उनले जानकारी दिए । प्रतिवेदन छलफलपश्चात यस विषयमा निर्णय हुने छ । बैठकमा भारतको अनुदानमा निर्माण पूरा हुन लागेको परवानीपुर– रक्सौल र कटैया–कुसाह १३२ केभी प्रसारणलाइनबाट बिजुली आयातको विषयमा थप छलफल हुने भएको छ । कटैया–कुसाहबाट ५० र परवानीपुर–रक्सौलबाट ५० मेगावट थप बिजुली आयात गर्ने विषयमा पनि थप छलफल हुन लागेको हो । कटैया–कुसाहाको काम सकिएको छ भने रक्सौल–परवानीपुरको काम अन्तिम चरणमा पुगेको छ ।

    यस्तै बैठकमा पञ्चेश्वर बहुउद्धेशिय परियोजनाबाट उत्पादन हुने बिजुलीको विषयमा पनि छलफल हुने उनले जानकारी दिए । संयुक्त प्राविधिक टोलीले यसअघि तयार पारेको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ ।

    यस्तै अरुण तेस्रो जलविद्युत आयोजना र माथिल्लो कर्णाली आयोजनाको बिजुली निकासीका लागि आवश्यक प्रसारणलाइन बनाउनको विषयमा छलफल हुने घिमिरेले जानकारी दिए ।

    दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक बसेर सबै विषयमा गरेको सहमतिलाई भोली बस्ने संयुक्त सचिवस्तरीय स्थायी समिति बैठकले अनुमोदन गर्नेछ ।

    स्रोत:बाह्रखरी