माथिल्लो तामाकोसी जलविद्युत् आयोजना -कर्मचारी व्यवस्थापनमा लापरवाही

    2472

    माथिल्लो तामाकोसी आयोजनामा प्रमुखसहितका उच्च कर्मचारीहरूको पद रिक्त हुँदा व्यवस्थापनको काम प्रभावित भएको छ ।
    आयोजना प्रमुख र महाशाखा प्रमुख नहुँदा आधा दर्जन विभागहरू निमित्तले काम चलाएका छन् । प्रमुख मृगेन्द्रबहादुर श्रेष्ठलाई अनिवार्य अवकाश दिएपछि आयोजना निमित्तबाट सञ्चालन हुदैआएको छ  । उनको ठाउँमा विद्युत् प्राधिकरणले सुनिल ढुङ्गेललाई नियुक्त गरे पनि आयोजनाको सञ्चालक समितिले नमानेपछि ढुङ्गेललाई समेत २ महिनापछि प्राधिकरणले फिर्ता बोलाई आयोजनाकै अर्का एक कनिष्ट विज्ञान श्रेष्ठलाई निमित्त प्रमुखको जिम्मेवारी दिएकोे छ ।
    आयोजना प्रमुख ११ औँ तहको निर्देशक हुनुपर्ने नियम भए पनि हाल इलेक्ट्रोमेकानिकल महाशाखामा कार्यरत १० औँ तहका श्रेष्ठलाई कार्यकारी प्रमुख जिम्मेवारी सम्हाल्दै आएका छन् । लामो समयसम्म समेत प्रमुख नियुक्त नगरिँदा आयोजनाका काममा बाधा उत्पन्न भएको छ ।
    यस्तै आयोजनाको सिभिल निर्माण महाशाखाका प्रमुखको पदसमेत रिक्त छ । महाशाखाका १० औँ तहका तत्कालीन प्रमुख मधुसूदनप्रताप मल्ललाई सरुवा गरी विद्युत् प्राधिकरणले कुलेखानी तेस्रोको प्रमुख बनाएर पठाएपछि उनको जिम्मेवारी समेत उनीभन्दा कनिष्ट कर्मचारीले सम्हाल्दै आएका छन् । उनको स्थानमा ८ औँ तहका कर्मचारीलाई जिम्मेवारी दिइएको छ ।
    आयोजनाको प्रशासन महाशाखाका प्रमुखको पदसमेत रिक्त हुँदा प्रशासकीय काममा अवरोध उत्पन्न हुन थालेको छ । प्रशासन प्रमुख उपनिर्देशक अनुप पौडेलको स्थानमा कर्मचारी नपठाएपछि आयोजनाका एक प्राविधिक अधिकारीलाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । “ राष्ट्रिय गौरवको आयोजनाको प्रशासन महाशाखा प्रमुख प्राविधिक छन् भन्दा जति हास्यास्पद के हुन्छ ?” आयोजनाका एक कर्मचारीले कारोवारसंग भने ।
    सर्भे विभाग प्रमुख जगदीशप्रसाद यादवको ठाउँमा समेत कर्मचारी नपठाइँदा सर्भेलगायतका काम प्रभावित भएको छ । सरुवा भएर गएका वातावरण प्रमुख मिलन दहालको ठाउँमा प्राधिकरणले १० औँ तहका तेजबहादुर बिसीलाई एक वर्षको करारनामा गरी पठाए पनि उनी फिर्ता भएका छन् । वातावरण प्रमुख नहुँदा आयोजनाको सामाजिक तथा वातावरणीय काम प्रभावित भएको छ । आयोजनाको स्थानीय स्तरका समस्या मिलाउने र सामाजिक तथा वातावरण विकासका काम यही विभागको जिम्मेवारीमा पर्छ । प्राधिकरणले विनियमविपरीत उनलाई पठाएपछि आयोजनाको कम्पनीले उनलाई अहिलेसम्म तलब भत्ता खुवाएको छैन् । आठ र नौ तहको दरबन्दी रहेको लेखा शाखामा समेत छैठौं र सातौ तहकालाई लेखा प्रमुख र कम्पनी सचिव बनाएर काम चलाइएको छ ।
    प्राधिकरणको लापरवाहीका कारण कर्मचारी व्यवस्थापनमा समस्या देखिएको आयोजनाभित्रकै अधिकारीहरू बताउँछन् । “बढुवा भएर गएका कर्मचारीलाई पदस्थापना भेदभाव हुने गरेकाले यो समस्या आएको हो,” एक अधिकारीले भने, “आयोजनामा लामो समयदेखि खटेका कर्मचारी बढुवा हुनेबित्तिकै कसैलाई आयोजनाभित्रै पदस्थापन गरिएको छ भने सोर्स–फोर्स नभएकालाई अन्यत्र पठाइएकाले कर्मचारी व्यवस्थापनमा समस्या आएको हो ।”
    प्राधिकरणको कर्मचारी प्रशासन विनियमावलीको सरुवासम्बन्धी प्रावधान अनुसार बढुवा सरुवा भई जाने ८औँ तहभन्दा माथिका कर्मचारीलाई आयोजनाको कम्पनीले माग गरेमा प्राधिकरणको सञ्चालक समितिको निर्णयबाट स्वीकृत लिई पुनः खटाउन सकिने व्यवस्था छ, तर आयोजनामा त्यसरी बढुवा भई पदस्थापन गर्दा कर्मचारीहरूबीच भेदभाव गरिएको उच्च अधिकारी नै बताउँछन् ।  पछिल्लो समय बढुवा भई पदस्थापना गर्दा प्राधिकरणले सरुवा गरेका आयोजनाका सहायक प्रबन्धक पूर्णगोपाल शाक्य, ईन्जिनियर सुवासराज गिरी, सहायक प्रबन्धक भरतप्रसाद मैनालीलाई अन्यत्र पठाए पनि उनीहरूभन्दा केही अघि नियम लागू भएलगत्तै बढुवा भएका दिनेशजंग राणा र शरदभक्त मानन्धरलाई आयोजनामै पदस्थापन गरिएको छ । उनीहरू तीनै जना आयोजनाका उच्च कर्मचारी हुन् ।

    प्रस्तुति: कारोबार