प्रसारण लाइन नहुँदा ५० मेगावाट बिजुली खेर, लगानीकर्तालाई अर्बौ नोक्सान

1942

भदाै १७, २०७७ काठमाडौं

नेपाल विद्युत् प्राधिकरणले समयमै प्रसारण लाइन नबनाउँदा निजी क्षेत्रबाट सञ्चालनमा रहेका विभिन्न आयोजनाको ५० मेगावाट बिजुली खेर गइरहेको छ ।

प्रसारण लाइनको क्षमता सानो र वर्षादका कारण पूर्ण क्षमतामा बिजुली उत्पादन भएपछि प्रसार हुन नसक्दा बिजुली खेर गइरहेको हो ।

निजी लगानीको २३.५ मेगावाटको माथिल्लो सोलु जलविद्युत् आयोजनाको १७ मेगावाट बिजुली खेर गएको छ । २०७६ चैतमा सम्पन्न भएको आयोजनाको बिजुली खेर गएको आयोजना प्रवद्र्धक अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले जनाएको छ ।

अपर सोलुका अनुसार ६ महिनादेखि सोलुको बिजुली प्रसारण लाइनको ढिलाईले खेर गएको छ । आयोजनाको साढे ५ मेगावाट बिजुली ३३ केभीको लाइनबाट वैकल्पिक रुपमा ग्रीडमा जोडिएको छ ।

माथिल्लो सोलुसहित निजीक्षेत्रबाट प्रवद्र्धन भएका साना जलविद्युत् आयोजनाको ५० मेगावाट बिजुली खरे गएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का उपाध्यक्ष आशिष गर्गले बताए ।

उनले बिजुली खेर गएका ठाउँका जलविद्युत् आयोजनामा प्रसारण लाइन छिटो बनाउन ताकेता गरेपनि अहिलेसम्म नबनेको जानकारी दिए ।

‘प्रसारण लाइनको समस्याले निजी क्षेत्राट बिजुली उत्पादन भएको ६८० मेगावाटका आयोजनामध्ये झन्डै ५० मेगावाट बिजुली खेर गइरहेको छ’ उनले क्यापिटल नेपालसंग भने, ‘हामीले विद्यु्त् प्राधिकरणलाई अनुरोध पनि गरेका छौं, प्रसारण लाइन छिटो बनाइदिन भनेर ।’

प्रसारण लाइन बनेका ठाउँमा पनि क्षमता बढाइदिन र स्तरोन्नती गर्न जोड दिइएको बताए । अहिले, १३२/३३ केभीएको सवस्टेशन र सिँगटीदेखि लामो साँघुसम्मको १३२ केभी प्रसारण लाइन बनेको छ । तर, लाइनको क्षमता अभिवृद्धि तथा स्तरोन्नती नगरिँदा लोड धान्न सकेको छैन ।

दोलखा र रामेछापका विभिन्न आयोजनाहरुबाट उत्पादित २०.४३ मेगावाटमध्ये १४ मेगावाट मात्रै ग्रीडमा जोडिएको छ । बाँकी करिव ६ मेगावाट बिजुली खेर गइरहेको छ ।

यता, बर्षौदेखि सिप्रिङखोला जलविद्युत आयोजना बिजुली पनि खेर गएको छ । आयोजनाको जडित क्षमता १० मेगावाट भएपनि प्रसारण लाइनको अभावले ४.८५ मेगावाट मात्रै मुस्किलले ग्रीडमा जोडिएको छ । बाँकी ५.१५ मेगावाट खेर गएको छ ।

खानीखोला जलविद्युत आयोजनाको ६.४ मेगावाट विद्युत् प्रसारण लाइनले नधान्दा पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । विगत ३ वर्षदेखि यो आयोजनाको ३० प्रतिशत बिजुली ग्रीडमा जोडिएको छ भने ७० प्रतिशत (४.४८ मेगावाट) विद्युत खेर गइरहेको छ ।

पूर्वी कोसी करिडोरमा विभिन्न ४ ओटा जलविद्युत् आयोजनाको क्षमता २६ मेगावाट छ । तर, प्रसारण लाइनको नबनाइदा १६ मेगावाट मात्र ग्रीडमा जोडिएको छ । त्यो क्षेत्रमा १० मेगावाट बिजुली खेर गइरहेको छ ।

त्यस्तै, म्याग्दीको थापाखोला जलविद्युत् आयोजनाको १३ मेगावाटमध्ये ८ मेगावाट मात्र ग्रीडमा जोडिएको छ । त्यहाँ पनि ५ मेगावाट बिजुली खेर गइरहेको प्रवद्र्धकको भनाई छ ।

लमजुङमा उदीपुरदेखि मनाङ जोड्ने लाइन स्तरोन्ती तथा नयाँ नबन्दा निर्माणधीन अपर साङ्गे जलविद्युत आयोजनाको २.४ मेगावाट खेर जाने स्थितिमा छ । आयोजना निर्माणको अन्तिम चरणमा रहेपनि प्रसारण लाइन नहुँदा विद्युत उत्पादन भएकै दिनदेखि खेर जाने अवस्था छ ।

ललितपुरको टुंगुनखोलाबाट उत्पादित २.४ र खानीखोलाको ४ मेगावाटमध्ये १.४ मेगावाट मात्र प्रयोगमा आएको छ । अर्थात त्यहाँ ५ मेगावाट विद्युत खेर गएको छ ।

यता, ८२ मेगावाटको तल्लो सोलु पनि निर्माणको अन्तिम चरणमा छ । ८२ मेगावाटको उक्त आयोजना आउँदो चैतसम्म सम्पन्न हुने लक्ष्य छ । तर, प्रसारण लाइन निर्माणको काम सुस्त हुँदा बिजुली खेर जाने चिन्ता प्रवद्र्धकलाई छ । त्यहाँ, ९० किलोमिटरको १३२ केभी प्रसारण लाइन बनाउनुपर्छ ।

प्रसारण लाइनमा भएको सुस्तताले निर्माणको अन्तिम चरणका जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई बिजुली खेर जाने बढी पिरलो छ । वर्षेनी निजी जलविद्युत उत्पादकले बिजुली खेर जाँदा अर्बौ रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको छ ।

प्रसारण समस्या निजीक्षेत्रका साना जलविद्युत् आयोजनामा बढी देखिने गरेको ऊर्जा उद्यमी सूर्य अधिकारी बताउँछन् । अधिकाँश साना जलविद्युत् आयोजना ११÷३३ केभी प्रसारण लाइनमा जोडिएका छन् । दशकअघि बनाइएको प्रसारण लाइनको क्षमता अभिवृद्धि हुन नसक्दा अहिले विद्युत खेर जाने अवस्था आएको अधिकारी बताउँछन् ।

अहिले पनि निजीक्षेत्रको कतिपय आयोजनाको बिजुली प्रसारण लाइनकै समस्याले खेर गएको उनको भनाइ छ । आगामी दिनमा पनि बिजुली खेर जाने सम्भावना बढी रहेको उनको तर्क छ ।

यता, प्राधिकरणले भने प्रसारण लाइन निर्माण, स्तरोन्नती र सुधारका काम तीव्र रुपमा भइरहेको बताएको छ । अधिकांश जलविद्युत् आयोजनामा प्रसारण लाइन निर्माण भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । जग्गा, वन, स्थानीयको अवरोध लगायतका कारणले केही स्थानमा समस्या देखिए पनि प्रसारण लाइनको काम भइरहेको उनको दावी छ ।

 

Capitalnepal