टनकपुरबाट थप ४० मेगावाट बिजुली किन्ने प्राधिकरणको प्रस्ताव

    1387

    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले टनकपुरबाट थप ४० मेगावाट विद्युत् आयात बढाउन भारतसँग प्रस्ताव गर्ने भएको छ । आगामी हिउँदमा हुने ऊर्जा अभावलाई  दृष्टिगत गरी भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) सँग थप ४० मेगावाटको प्रस्ताव गर्ने भएको हो ।

    आगामी शनिबार सीईएका प्रतिनिधिसँगको भेटमा टनकपुरमा थप ५० एमभीएको ट्रान्सफर्मर जडान र बिजुली थपको प्रस्ताव गर्न लागिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

    “टनकपुरबाट थप बिजुलीका लागि प्रस्ताव गरेर प्रारम्भिक छलफल अघि बढेको छ, अब औपचारिक रूपमा सीईएलाई प्रस्ताव गर्दैछौ,” उनले भने ।

    छलफलका लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक राजीव शर्मालगायतको समूहसमेत भारत जान लागेको छ । प्रवक्ता अधिकारीका अनुसार, आगामी मंसिरदेखि आयात गर्ने लक्ष्यसहित प्राधिकरणले प्रस्ताव गर्न लागेको छ । नेपालको तर्फबाट प्रतियुनिट ३.४४ पैसा भारतीय रुपैयाँ अर्थात् नेपाली ५.५० पैसामा किन्ने गरी प्रस्ताव गरिने उनले जानकारी दिए । 

    प्राधिकरणले हाल टनकपुर–महेन्द्रनगर लाइनबाट २५ देखि ४० मेगावाटसम्म विद्युत् आयात गरिरहेको छ । महाकाली सम्झौताअनुसार भारतले नेपाललाई ७ करोड युनिट बिजुली निःशुल्क दिँदै आएको छ । सो निःशुल्क बिजुली हरेक वर्ष नोभेम्बर १ देखि जुलाइको अन्तिमसम्म दिने गरेको छ  ।

    तर त्यसपछि दुई देशबीच विद्युत् आदानप्रदान गर्ने कुनै सम्झौता नभए पनि हाल प्राधिकरणले ४० मेगावाटसम्म विद्युत् आयात गर्दै आएको छ ।

    बिनासम्झौता भारतले बिजुली दिँदै आएकोमा आगामी बुधबार जाने टोलीले भारतीय पावर ट्रेड कम्पनीसँग विद्युत् खरिदबारे सम्झौतासमेत गर्ने प्राधिकरणले जनाएको छ ।

    हाल ५० एमभीएको ट्रान्सफर्मर रहेकोमा थप अर्को ५० एमभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट बिजुली ल्याउने प्राधिकरणको योजना छ । भारतीय पक्ष सहमत भएर यो बिजुली आयात भएमा आगामी हिउँदमा लोडसेडिङ कम गराउन धेरै सहयोग पुग्नेछ ।

    प्राधिकरणका अनुसार, देशभर १ हजार २ सय ७३ मेगावाट विद्युत् माग रहेकोमा भारतबाट आयातीत २ सय ४७ मेगावाट विद्युत्सहित ८ सय ६२ मेगावाट उपलब्ध छ भने ४ सय १० मेगावाट अभाव छ ।

    आगामी हिउँदमा १ हजार ४ सय ७५ मेगावाटसम्मको माग हुने अनुमान गरिएकोमा टनकपुरलगायतका क्षेत्रबाट थप २ सय ५० मेगावाट थप्ने लक्ष्य प्राधिकरणको छ । टनकपुरको अलावा  प्राधिकरणले ढल्केबर सबस्टेसनबाट १ सय ५० र रक्सौल–परवानीपुरबाट ५० मेगावाट थप्ने लक्ष्य राखेको छ ।

    Source: Karobardaily