‘देशैभर लोडसेडिङ अन्त्य गर्ने तयारीमा लागेका छौँ’

    2272

    कुलेखानी चलाएका छैनौँ, प्राधिकरणमा समस्या छैन

    काठमाडौंः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले काठमाडौँसँगै बाहिर पनि लोडसेडिङ घटाउँदै जाने योजनासहित काम अघि बढाइएको बताएका छन् ।

    सोमबार रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कारमा कार्यकारी प्रमुख घिसिङ्ले काठमाडौँलाई पूर्णरुपमा लोडसेडिङमुक्त बनाउने काम भइरहेको बताउँदै काठमाडौँ बाहिर पनि सकेसम्म थोरै भन्दा थोरै गर्ने योजना बनाइएको बताए ।

    ‘लोडसेडिङ अन्त्य गर्छु भन्दै हिँड्ने काम होइन’, उनले भने, ‘व्यवस्थापन महत्त्वपूर्ण कुरा हो ।’ उनले व्यवस्थापनमा बढी ध्यान दिँदा तिहारयता काठमाडौँमा लोडसेडिङ नभएको जिकिर गरे ।

    साक्षात्कारमा कार्यकारी प्रमुख घिसिङले लोडसेडिङ कम गर्नेबारेमा आफूले एक्लैले काम नगरेको बताए । ‘कुलमान एक्लैले यो काम गर्‍यो भनेर चर्चा गर्नु न्यायसंगत हुँदैन’, उनले भने, ‘यो सत्य होइन ।’

    उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको चाहना र उर्जामन्त्री जनार्दन शर्माले जारी गरेको ३७ बुँदे कार्यक्रमलाई विशेष फोकस गरेर काम भइरहेको स्पष्ट पारे ।

    उनले लोडसेडिङ कम हुनुमा व्यवस्थापकीय कार्य नै महत्त्वपूर्ण भएको भन्दै आगामी हिउँदमा लोडसेडिङ सकेसम्म कम गर्नको लागि अहिलेदेखि नै काम भइरहेका पनि जानकारी दिए ।

    ‘लाइन सवस्टेशन, ट्रान्समिसनलाई अपग्रेड गर्ने काम भइरहेको छ, आपूर्तिमा पनि हामीले ध्यान दिएका छौँ’, यो दुई महिना लोडसेडिङमुक्त कसरी गर्ने भन्ने योजनामा आफूहरु रहेको उल्लेख गर्दैै घिसिङले थपे, ‘यो दुई महिना हामी सफल भयौँ भने वर्षैभरि लोडसेडिङमुक्त गर्न सक्छौँ ।’

    प्राविधिक समस्याका कारण कुनै क्षेत्रमा केहीबेर बिजुली आपूर्ति हुन नसके पनि तत्काल समस्या समाधान गरिएको उनले दाबी गरे ।

    उपत्यकामा कुनै फिडरमा माग बढी तर आपूर्ति कम, कुनैमा माग कम तर आपूर्ति बढी रहेकाले त्यसको व्यवस्थापन गर्ने काम पनि प्राधिकरणले जारी राखेको उनको भनाई थियो ।

    उनले अहिले काठमाडौँ उपत्याका बाहिर देशैभर बेलुका एक घण्टादेखि डेढ घण्टासम्म मात्रै लोडसेडिङ हुने गरेको बताए । ‘लोडसेडिङ कम होस भन्ने हाम्रो चाहना हो’ उनले अहिले उद्योग तथा कलकारखानाको मागलाई आफूहरुले कटौती गरेको बताउँदै भने, ‘इण्डष्ट्रिजको लागि हामीले साँझ ५ बजे देखि ८ बजेसम्म काटेका छौँ, यो सिफ्ट चेन्ज भन्दा पनि हुन्छ ।’

    हिउँदमा काठमाडौँको लोडसेडिङ के हुन्छ भनेर पनि प्रश्नहरू आइरहेको उल्लेख गर्दै घिसिङले भने, ‘हामीले अहिले कुलेखानी चलाएका छैनौँ, मङ्सिरदेखि वैशाखसम्म ४ घण्टासम्म कुलेखानी चल्न सक्छ, तर हामीलाई जम्मा २ घण्टा चाहिन्छ ।’

    उनले अहिले कुलेखानी रित्याएको भनेर समेत टिप्पणी भएको बताउँदै थपे, ‘कुलेखानी रित्याएका छैनौँ, काठमाडौँ उपत्यका बाहिरपनि लोडसेडिङ बढाएका छैनौँ ।’

    अहिले काठमाडौँलाई मात्रै किन लोडसेडिङमुक्त गर्न खोजिएको भन्दै प्रश्नहरू आएकोमा उनले भने, ‘हाम्रो प्रयास हो, यो तीन चार महिना अवस्था अलिक कठिन छ, सकेसम्म नहुने हाम्रो प्रयास हो ।’

    यद्यपि उनले लोडसेडिङ अन्त्य भयो भनेर घोषणा गर्ने अवस्था अहिले नभएको स्पष्ट पारे । उनले भने, ‘अहिले सकारात्मक सन्देश लोडसेडिङ अन्त्य हुँदैछ भन्ने हो ।’ उनले काठमाडौँ कम चुहावट हुने स्थान भएकोले पनि आफुहरुले यसलाई प्राथमिकतामा राखेको बताए ।

    उनले व्यवस्थापनमा पनि अप्टिकल म्यानेजमेन्ट, सप्लाई म्यानेजमेन्ट, भौतिक पूर्वाधार र अपरेशनमा आफुहरुले विशेष ध्यान दिएको जानकारी दिए ।

    ‘अहिले हामीले माग व्यवस्थामा ध्यान दिएका छौँ’, घिसिङले भने, ‘यति बेला इनभर्टर चलेका छैनन्, डिजेल र जेनेरेटर चलेको छैन, यसले गर्दा आपूर्ति कम हुन्छ ।’

    सरकारको यो योजनामा उपभोक्ताहरुले पनि सहयोग गर्नुपर्ने उनले सुझाव दिए । घिसिङले थपे, ‘क्राइसिस म्यानेजमेन्टको लागि हामीले इनर्जी इफिसेन्सी अनुसार लीड ल्याम्पहरु बाल्नुपर्छ, कम खपत हुने साधनहरूको उपयोगमा पनि हामीले ध्यान दिनुपर्छ ।’ लोडसेडिङ अन्त्य गर्ने मिसनमा उपभोक्ताको व्यवहारले पनि अर्थ राख्ने उनको भनाई थियो ।

    उनले अहिले प्राधिकरणमा कुनै समस्या नभएको समेत जिकिर गरे । घिसिङले थपे, ‘झगडा भयो भनेर प्रचार गरिएको छ, अहिले मजाले काम भइरहेको छ ।’

    उर्जामन्त्रीको कार्यक्रमलाई सफल बनाउन १० हजार कर्मचारीले काम गरिरहेको बताउँदै यो राष्ट्रिय अभियानलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

    Source:Karobardaily