सहिद स्मृति जलविद्युत् आयोजना १० वर्षमा १५ प्रतिशत काम

    987

    रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका– १० मा निर्माणाधीन सहिद स्मृति जलविद्युत् आयोजना १० वर्षमा पनि सम्पन्न हुन सकेको छैन । ०६५ सालबाट निर्माण सुरु भएको आयोजनाले अहिलेसम्म करिब १५ प्रतिशत मात्र काम सकाएको छ ।

    रुकुम उज्यालो कार्यक्रमअन्तर्गत निर्माण सुरु भएको आयोजनामा बजेट अभाव हँदा ढिलाइ भएको सहिद स्मृति लघु जलविद्युत् आयोजनाकी निवर्तमान अध्यक्ष राधा रोकाले बताइन् । ‘सम्बन्धित निकायहरूले बजेट नदिँदा प्रभावकारी काम हुन सकेको छैन,’ उनले भनिन्, ‘समुदायबाट पनि आवश्यक सहयोग हुन नसक्दा आयोजना निर्माणमा ढिलाइ भइरहेको छ ।’

    १ करोड लागत अनुमान गरिएको आयोजनामा १० वर्षसम्म साढे १७ लाखजति बजेट खर्च भएको छ । निवर्तमान अध्यक्ष रोकाका अनुसार हालसम्म तत्कालीन जिल्ला विकास समितिबाट १० लाख र गाउँ विकास समितिबाट ७ लाख ३० हजार गरी साढे १७ लाख खर्च भएको हो ।

    तर, खर्चअनुसारको काम भने देखिएको छैन । खनिएको नहर पुरिएर पहिलेकै अवस्थामा पुगेको छ भने एउटा मेसिन खरिद गरिएको भनिएको छ । आयोजना निर्माणअन्तर्गत अरू देखिने कुनै काम नभएको स्थानीयको भनाइ छ ।

    नगरबाट ५० लाख विनियोजन
    आर्थिक अभावमा आयोजनाको काम रोकिएपछि नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ । ९४ किलोवाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना सम्पन्न भएमा चौरजहारी नगरपालिका वडा नं. १०, ११ र १३ का एक हजार दुई सयभन्दा बढी घरधुरी लाभान्वित हुने बताइएको छ । समितिकी अध्यक्ष राधा रोका चौरजहारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएपछि वीरेन्द्र रोकाको अध्यक्षतामा नयाँ समिति गठन गरिएको छ ।

    स्रोत:नयाँपत्रीका