युनाइटेड मोदी–२ निर्माण अन्योलमा

    938

    पर्वत । युनाइटेड हाइड्रोपावर कम्पनीले १ वर्षअघि निर्माण शुरू गर्ने तयारी गरेको साढे १० मेगावाटको युनाइटेड मोदी–२ अन्योलमा परेको छ । कम्पनीले नयाँ आयोजना निर्माणका लागि लगानी जुटाउन गत २०७३ असोजमा स्थानीयलाई १० करोड र सर्वसाधारणलाई १२ करोड रुपैयाँको शेयर विक्री गरेको थियो ।

    आयोजनाका सञ्चालक उपेन्द्र गौतमका अनुसार आयोजनाको लगानी अनुमानभन्दा धेरै बढ्ने भएकोले तत्कालका लागि निर्माण शुरू गर्ने अवस्था छैन । ‘यो विषयमा म बोल्न सक्ने स्थितिमा छैन । किनकि लागत महँगो भएको छ,’ गौतमले भने, ‘चाइनिज कम्पनीले ईपीएस प्रविधिबाट निर्माणको कुरा भएको हो, विस्तृत अध्ययन हुन बाँकी छ ।’

    गतवर्ष चाइनिज कन्सल्टेन्सीसँगको छलफलमा प्रतिमेगावाट साढे १७ करोडमा आयोजना बनाउन सकिने सहमति भएको थियो । कम्पनीले पछिल्लो समय निकालेको खर्च इष्टिमेटअनुसार २२ करोडभन्दा बढी पुग्नसक्ने देखिएपछि तत्कालका लागि आयोजना रोकिएको हो । आयोजना रोकिने भएपछि १० करोड लगानी गरेका पर्वतवासी निराश छन् । फलेवास–४ का देव शर्मा लम्सालले जुन प्रयोजनका लागि पैसा उठाइएको हो, त्यो काम हुनुपर्ने बताए । उनले रू. ५२ लाख लगानी गरेका छन् । कम्पनीले शेयर आह्वान गर्दा प्रचार गरेअनुसारको काम नभए दबाब दिने मनस्थितिमा स्थानीय छन् ।

    कम्पनीले नयाँ आयोजना निर्माण नभए पनि सर्वसाधारणको लगानी खेर नजाने बताएको छ । ‘कम्पनीको साधारण शेयर सूचीकृत भइसकेको छ, प्रमोटर र स्थानीयको सूचीकृत हुने प्रक्रियामा छ,’ गौतमले भने, ‘नयाँ हाइड्रो नबन्दा पनि सर्वसाधारणको लगानी खेर जाँदैन ।’ स्थानीय र सर्वसाधारणबाट सङ्कलन भएको २२ करोड रकम युनाइटेड मोदी जलविद्युत् आयोजना निर्माणमा लागेको बैङ्कको ऋण तिर्ने मनस्थितिमा कम्पनी छ । कम्पनीले यसअघि २०६९ मा मोदीखोलामै १० मेगावाटको युनाइटेड मोदी–१ निर्माण सम्पन्न गरिसकेको छ ।

    कम्पनीले ०७३ मङ्सिरदेखि मोदीखोलामा साढे १० मेगावाटको ‘युनाइटेड मोदी–२’ आयोजना निर्माण थाल्ने बताएको थियो । दोस्रो आयोजना शुरू गर्नै लाग्दा बैङ्कमा ऋणको ब्याज, सामान तथा अधिग्रहण गर्ने जग्गाको मूल्यसमेत बढेपछि समस्या परेको हो । ‘पहिलो आयोजनामा ९ प्रतिशतमा लिएको ऋण अहिले १३ प्रतिशत पुगेको छ,’ गौतमले भने, ‘अधिग्रहण गर्नुपर्ने जग्गाको मूल्य स्थानीयले अचाक्ली बढाए ।’ सर्वसाधारणबाट लिएको रकम कता लगानी गर्ने भन्नेमा कम्पनी अझै अन्योलमा छ ।

    स्रोत:अभियान