प्राधिकरणले काट्यो चोरीका ४ हजार ५८ लाइन, चुहावट नियन्त्रणबाट १ करोड १५ लाख असुली

    1320

    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले प्रत्यक्ष हुकिङ र मिटरमार्फत बिजुली चोरी गर्ने ४ हजार ५८ को लाइन काटेको छ । प्राधिकरणले सञ्चालन गरेको चुहावट नियन्त्रण विशेष अभियानअन्तर्गत ३८ सय ४९ हुकिङ र २०९ वटा मिटरमार्फत चुहावट गर्नेको लाइन काटेको हो ।

    हाल रहेको २५.७८ प्रतिशत बिजुली चुहावटलाई ३.५ प्रतिशत घटाउने उद्देश्यसहित प्राधिकरणले चुहावट नियन्त्रण विशेष अभियान सञ्चालन गरेको छ ।

    प्राधिकरणले आफ्ना वितरण केन्द्रमार्फत अघि बढाएको विशेष अभियानअन्तर्गत हुकिङ र मिटरमार्फत चुहावट गर्नेबाट मात्र १ करोड १५ लाख ८० हजार असुल गरेको प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयले जनाएको छ ।

    प्रत्यक्ष हुकिङ गरेको आरोपमा प्राधिकरणले ४२२ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही सुरु गरेको छ । ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले चुहावट विशेष अभियान सबै वितरण केन्द्रमा सञ्चालन भएको र प्रभावकारी रूपमा अघि बढेको बताए ।

    प्राधिकरणका अनुसार, प्रत्यक्ष हुकिङ चुहावटबाट ५८ लाख ५८ हजार, मिटरमार्फत ४८ लाख ७७ हजार तथा क्षमताभन्दा बढी सञ्चालन गर्नेबाट ८ लाख ४४ हजार असुल गरिएको छ । चुहावटबाट सञ्चालन भएका टिभी, मोटरलगायतका ५४३ उपकरण जफत गरेको प्राधिकरणले जनाएको छ ।

    Source: Karobardaily