सात सय ६२ मेगावाटको जलाशययुक्त तमोरबाट डेढ सय घर विस्थापित हुने

    1168

    पाँचथर: सात सय ६२ मेगावाट क्षमताको तमोर जलशाययुक्त जलविद्युत् परियोजनाका कारण तमोर नदी किनारका करिब डेढ सय घर परिवार विस्थापित हुने भएका छन् ।

    पिनासीघाट, माझीटार, नक्कलेघाट, लुबुघाट क्षेत्रमा बसोबास गर्दै आएका माझी र केही तामाङ घर परिवार प्रभावित हुने देखिएको छ । परियोजनाको लागि नदीमा बाँध निर्माण गरिएपछि ती बस्तीहरु डुबानमा पर्नेछन् ।

    यससँगै तल्लो हेवा जलविद्युत् परियोजना र माथिल्लो हेवा जलविद्युत परियोजनाको विद्युत्गह तथा कावेली ए जलविद्युत परियोजना पनि डुबानमा पर्ने छन् ।

    तमोर जलशाययुक्त जलविद्युत परियोजना सरोकार समितिका संयोजक तथा पूर्व सांसद वसन्तकुमार नेम्बाङका अनुसार बाँध निर्माण गरेर पानीको सतह ताप्लेजुङ र पाँचथर सीमा क्षेत्र हुँदै बग्ने काबेली नदीसम्म पुर्याइनेछ ।

    परियोजनाबाट प्रभावित हुनसक्ने घर परिवार, भौतिक संरचना र जलविद्युत् परियोजनाबारे विस्तृत विवरण सर्भेक्षणपछि मात्रै आउने नेम्बाङले बताए । रासस