तिहारमा राजधानी लोडसेडिङमुक्त

    1652

    तिहारमा राजधानीमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणले ‘उत्कृष्ट’ व्यवस्थापन गरेका कारण छिनछिनमा बत्ती जाने समस्या आएन

    काठमाडौं, १८ कात्तिक
    तिहारको तेस्रो दिन ऊर्जासचिव एवं नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्यायले फेसबुकमा स्टाटस लेखे ‘हिजो र आजको विद्युत् लोड व्यवस्थित गर्न सफल प्राधिकरणका राष्ट्र सेवकलाई बधाई ।’ यस वर्षको तिहार त्यसमा पनि मुख्य गरी लक्ष्मी पूजाको साँझ काठमाडौं उपत्यकाबासीले बत्ती गएको अनुभव नै गर्न पाएनन् ।

    विगतमा छिनछिनमा बत्ती गएर उपभोक्ता हैरानीमा पर्थे । यस वर्ष त्यस्तो समस्या नै व्यहोर्नुपरेन । काठमाडौं उपत्यका वितरण केन्द्रका नो लाइटमा उपभोक्ताको गुनासो यस वर्ष शून्यप्रायः रहेको प्राधिकरणले जनाएको छ ।

    कारण थियो प्राधिकरणले यस वर्ष विद्युत् आपूर्तिमा गरेको कुशल व्यवस्थापन । सबैभन्दा बढी माग हुने लक्ष्मीपूजाको साँझ प्राधिकरणले आफ्ना र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत् गृह पूर्ण क्षमतामा चलाउन लगायो । तिहारमा उद्योग कलकारखाना बन्द भएकाले पनि प्राधिकरणले विद्युत् व्यवस्थापनमा सहज भएको थियो ।

    लक्ष्मीपूजाका दिन साँझमा १ हजार ४ सय ४४ मेगावाट विद्युत् माग थियो । आन्तरिक उत्पादन र भारतबाट आयात भएको गरी प्रणालीमा ९६० मेगावाट मात्रै आपूर्ति भएको थियो । त्यो हुँदा पनि काठमाडौं उपत्यकामा लोडसेडिङ नगरी आपूर्ति व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

    लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकामा विद्युत् माग करिब ३ सय १५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ । यो माग करिब २ घन्टाको मात्रै हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन आफैँ भार प्रेषण केन्द्रमा बसेर प्रणालीको अनुगमन गरेका थिए ।

    उत्पादन र वितरण प्रणालीमा विशेष ध्यान दिइएकाले उपत्यकमा यस वर्ष तिहारमा बत्ती नगएको घिसिङले बताए । ‘हाम्रा र निजी क्षेत्रका विद्युत् गृह पूर्ण क्षमतामा चलायौँ, वितरण प्रणाली सुदृढीकरण गरिएकाले ट्रान्सफर्मरलगायतमा समस्या आएन’, उनले भने, ‘विद्युत् आपूर्ति गत वर्षकै हाराहारीमा थियो, तर यसको दक्षतापूर्ण व्यवस्थापन गरी काठमाडौं उपत्यकामा बत्ती जान नदिन सफल भयौँ ।’ नो लाइटमा उपभोक्ताले गरेको गुनासो तत्कालै सम्बोधन गरिएको घिसिङले बताए । नो लाइटको फोन नै नउठ्ने र बल्लबल्ल उठे पनि कुनै सुनुवाइ नहुने प्रवृत्ति छ । यसबाट उपभोक्ताले हैरानी पाइरहेको अवस्था छ ।

    प्राधिकरणले लक्ष्मीपूजाको दिन हेटौँडामा रहेको १० मेगावाटको डिजेल प्लान्ट करिब ३ घन्टा चलाएको थियो । ६० मेगावाटको कुलेखानी पहिलो र ३० मेगावाटको कुलेखानी दोस्रो पनि चलाएको थियो । नेपालको सञ्चित इन्धन मानिएको कुलेखानीको जलाशय प्राधिकरणले विद्युत् बढी माग हुने समय (पिक)मा मात्रै चलाउने गरेको छ । तिहारका लागि मात्रै भारतबाट थप २५ मेगावाट विद्युत् आयातसमेत गरिएको थियो ।

    ढल्केबरमा सबस्टेसन निर्माण अझै चुनौतीपूर्ण
    यस वर्षको हिउँदमा भारतबाट थप विद्युत् आयातका लागि धनुषाको ढल्केबरमा सबस्टेसन निर्माण चुनौतीपूर्ण देखिएको छ । गत ४ भदौमा निर्माणस्थलको स्थलगत निरीक्षण गरी ऊर्जामन्त्री जनार्दन शर्माले १६ पुस (३१ डिसेम्बर २०१६) भित्र सबस्टेसन निर्माण सक्ने लिखित प्रतिबद्धता आयोजना प्रमुख र ठेकेदारलाई गराएका थिए ।

    काम गर्न अझै धेरै रहेकाले तोकिएको समयमा काम सक्न अझै चुनौतीपूर्ण रहेको बुधबार आयोजनाको स्थलगत निरीक्षणमा गएका कार्यकारी निर्देशक घिसिङले बताए । ‘कुनै पनि हालतमा प्रतिबद्धता जनाइएको समयमा काम सक्नुपर्छ भनेर आयोजना र ठेकेदारलाई निर्देशन दिएको छु,’ उनले भने । सबस्टेसन निर्माणमा अहिले करिब २ सय कामदार परिचालित छन् । हिउ“दको लोडसेडिङ कम गर्न ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत थप विद्युत् आयात गर्न २२०-१३२ केभीको सबस्टेसन बनाउन लागिएको हो ।

    सबस्टेसन बनेपछि अहिले आयात भइरहेको ८० मेगावाटसहित प्रसारण लाइनबाट २३० मेगावाट विद्युत् आयातका लागि नेपाल र भारतबीच सहमति भइसकेको छ । यसअघि पनि सबस्टेसन बनाउन नसकेपछि प्राधिकरणले २२०-१३२ केभीको ट्रान्सफर्मर भाडामा लिएर मुजफ्फपुर बिन्दुमा राखी ८० मेगावाट विद्युत् आयात गरिरहेको छ । ढल्केबरमा सबस्टेसन बने प्राधिकरणले मुजफ्फरपुरमा ट्रान्सफर्मर राख्नुपर्दैन । थप विद्युत् आयात पनि गर्न सकिन्छ । ठेक्का सम्झौताअनुसार आयोजनाको काम गत १६ असारमै सकिनुपर्ने थियो ।

    राजधानीलाई लोडसेडिङमुक्त बनाउने तयारी
    प्राधिकरणले काठमाडौं उपत्यकालाई तिहारमा मात्रै नभएर अरूबेला पनि लोडसेडिङमुक्त बनाउने तयारी गरेको छ । लोडसेडिङमुक्त बनाउन प्रणालीको अध्ययन गर्न प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ । ‘पहिलो चरणमा राजधानीलाई लोडसेडिङमुक्त बनाउन चाहन्छौँ, यो काम गर्न गाह्रो पनि छैन,’ घिसिङले भने, ‘यसको प्राविधिक पक्ष अध्ययन गर्न समिति गठन भइसकेको छ, समितिले दिने सुझाबका आधारमा उपयुक्त निर्णय गरिनेछ ।’

    समग्र मुलकलाई लोडसेडिङमुक्त गरी ऊर्जामा आत्मनिर्भर बन्ने गरी काम भइरहेको उनले बताए । आन्तरिक उत्पादनले नपुगेपछि प्राधिकरणले भारतबाट विद्युत् आयात गरिरहेको छ । अर्थात् लोडसेडिङलाई कम गर्न भारतबाट विद्युत् आयात अनिवार्य छ । एक वर्षभित्रमा सुक्खायाममा लोडसेडिङ अधारभूत रूपमा र वर्षायामको लोडसेडिङ पूरै अन्त्य गर्न भारतबाट ५ सय ८० मेगावाट आयात गर्ने सरकारी योजना छ ।

    • नयाँ पत्रिका