सामुदायिक विद्युतीय संस्था प्राधिकरणलाई लिइदिन आग्रह

    1181

    लमजुङ : विद्युत् वितरणको जिम्मा पाएको लमजुङस्थित सामुदायिक विद्युत् उपभोक्ता संस्था प्राधिकरणलाई लिइदिन सेवाग्राहीले आग्रह गरेका छन् । उपभोक्ता संस्थाले दिने सेवा चित्तबुझ्दो नभएपछि जिल्लावासीले प्राधिकरणसमक्ष यस्तो आग्रह गरेका हुन् ।

    विद्युत् उपभोक्ता महासंघको सदस्य रहेको लमजुङ विद्युत् उपभोक्ता संस्थासँग जिल्लामा २८ हजार बढी ग्राहक छन् । जुन नेपालमा रहेका अन्य उपभोक्ता संस्थाका ग्राहकभन्दा यससंस्थाको ग्राहक संख्या धेरै हुन् । विशेषगरी ११ केभी लाइन वितरणको जिम्मा लिएको उपभोक्ता संस्थाले वितरण कै काममा कम चासो देखाउँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

    सामान्य वर्षा, हावाहुरी र चट्याङ पर्दा जिल्लाको ११ केभी लाइन पुरै बन्द हुने र लामो समयसम्म विद्युत् आपूर्ति बन्द हुने गरेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा बताउँछन् । उनले उपभोक्ता संस्थाको लापरबाहीका कारण जिल्लामा विस्तारै फस्टाउन थालेका घरेलु तथा साना उद्योगीहरू प्रत्यक्ष मारमा परेको बताए ।

    “जिल्लामा ३३ केभी र १३२ केभी लाइनमा समस्या कम आए पनि ११ केभी लाइनमा बढी विद्युत् ट्रिपिङ भइरहन्छ ।” थापा भन्छन्, “यो समस्या हामी उद्योगी व्यापारीले कहिलेसम्म भोग्ने ?” सदरमुकाम बेंसीसहरसँगै अन्य व्यापारिक केन्द्रका उद्योगी, व्यापारी र सर्वसाधारणहरूले संस्थामा पुगेर विद्युत् आपूर्ति सहज गरिदिन आग्रह गरे पनि सुनुवाइ नभएको लमजुङ उद्योग वाणिज्य संघ बेंसीसहर इकाइका सचिव विपिन श्रेष्ठ बताउँछन् ।

    उनका अनुसार जिल्लास्थित सबै उद्योगी, व्यापारी र सर्वसाधारणले जिल्लामा रहेको उपभोक्ता संस्था खारेज गरी वितरणको जिम्मा नेपाल विद्युत् प्राधिकरणले लिनुपर्ने भन्दै आवाज उठाइरहेका छन् ।

     विद्युत्का कारण सेवाग्राहीलाई छिटो छरितो रूपमा सेवा दिन नपाएको भन्दै जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, नगर तथा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीयवासी सबैले गुनासो गरेको नेविप्रा लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । “उपभोक्ता संस्थाको काम चित्तबुझ्दो नभएको भन्दै सेवाग्राहीहरू दैनिकजसो डेलीगेसन र निवेदन लिएर आउने गर्दछन् ।” न्यौपानेले भने, “सबैले लमजुङ विद्युत् उपभोक्तालाई खारेज गरी प्राधिकरणले सेवा दिनुपर्ने माग गर्ने गरेका छन् ।”

    यता सामुदायिक संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेले भौगोलिक हिसावले लमजुङ निकै जटिल रहेकोले वितरण कार्यमा चुनौती थपिएको बताएका छन् । उनले गाउँ गाउँसम्म ट्रान्सफर्मर, पोल, तार बोकेर पु¥याउनुपर्ने र हावाहुरीले रुख ढाल्दा संरचनामा समस्या आउने गरेको बताए ।

    विद्युतीय सेवा उपभोग गर्ने उपभोक्ता सबैले सामूहिक रूपमा नेपाल विद्युत् प्राधिकरणसमक्ष निवेदन दिएमा सामुदायिक संस्था खारेज गर्न सकिनेछ । यस्तै, नेविप्राको संचालक समितिलाई सामुदायिक संस्था खारेज गरी नयाँ ढंगले उपभोक्तालाई सेवा दिनुपर्छ भन्ने लागेमा, सामुदायिक संस्थाले नेविप्राको हानी नोक्सानी हुने काम गरेमा र वितरण तथा मर्मत संभारको काम गर्न नसकि सामुदायिक संस्था स्वयंले नेविप्रालाई बुझाउन चाहेमा मात्रै प्राधिकरणले खारेज गर्न सक्छ ।

    लमजुङको हकमा भने सामुदायिक संस्थाको कमजोरीपनका कारण आठवटै स्थानीय तहका सेवाग्राहीले आफैं वितरण गर्न पाउनुपर्ने भन्दै वितरण केन्द्रमा निवेदन दिन थालेका छन् ।

    लमजुङ र तनहुँका गरी साविकको ३१ गविसमा विद्युत् वितरण गर्दै आएको लमजुङ विद्युत् उपभोक्ता संस्था देशकै ठूलो र नमुना सामुदायिक संस्था हो । तर यति ठूलो संस्थाले न कार्यालयमा आवश्यक इन्जिनियर, ओभरसियर राख्न सकेको छ न त पर्याप्त स्रोत साधन र प्रविधिमा नै ध्यान दिएको छ । संस्थाले सेवाभन्दा पनि कमाउ धन्दामा लागेको गुनासो स्थानीयले गर्दै आएका छन् ।

    संस्थाको वितरण प्रणालीमा लापरबाही भएपछि उत्तरी र पूर्वी लमजुङमा विद्युत् उत्पादन गरिरहेका जलविद्युत् केन्द्रहरूलाई समेत समस्या पर्ने गरेको छ ।

    स्रोत : कारोबार