जलविद्युत्को जिल्ला बन्दै लमजुङ

    3366

    हिउँदमा लोडसेडिङ बढी हुने भएपछि यसको चर्चा निकै हुने गर्छ । जब वर्षा लाग्छ, लोडसेडिङ कम हुँदै जान्छ र चर्चा पनि सेलाउने गर्छ ।

    सरकारले बर्सेनि ‘लोडसेडिङ एक वर्षभित्रै अन्त्य गरिने’ भनिरहँदा यहाँका आयोजना पनि तीव्र रूपमा अघि बढिरहेका छन् । तोकिएको समयमा निर्माण सम्पन्न भए सरकारको लक्ष्य भेट्टाउन यहाँका निर्माणाधीन आयोजनाले भूमिका खेल्नेछ । यहाँ ६ आयोजना निर्माण भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेका छन् ।

    हाल मस्र्याङ्दी करिडोरअन्तर्गत मस्र्याङ्दी नदीमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना, ङयादीमा ३० मेगावाटको न्यादी आयोजना निर्माणाधीन छ । दोर्दी करिडोरमा ४९ दशमलव ६ मेगावाटको सुपरदोर्दी ‘ख’, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ निर्माणाधीन अवस्थामा छन् ।

    उक्त करिडोरमै १० दशमलव ३ मेगावाटको दोर्दी–१ आयोजना विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएर निर्माणको क्रममा छ । मिदिम करिडोरमा ३ मेगावाटको मिदिमखोला (करापु) आयोजना निर्माण भइरहेको छ । यी आयोजना ३ वर्षभित्र सक्ने योजना प्रवद्र्धक कम्पनीहरूले बनाएका छन् । तोकिएको समयमा निर्माण सकिए ३ वर्षभित्र करिब १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ । यहाँ निर्माण भएका र निर्माणाधीन आयोजना सबै पानीको बहावमा आधारित (रन अफ रिभर) प्रणालीका हुन् । गाउँगाउँमा ३० वटा बढी लघु जलविद्युत् सञ्चालनमा छन् । यसबाट पाँच हजार बढी घरपरिवार लाभान्वित छन् ।

    ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ का लागि सिनोहाइड्रो–सगरमाथा पावर कम्पनीले १६ अर्ब लगानी गर्दै छ । यसमा सिनोहाइड्रोको ९० र सगरमाथाको १० प्रतिशत लगानी छ । दसैंअगावै यसको विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । आयोजनाले २० किमि लामो एक सय ३२ केभीएको प्रसारण लाइन पनि निर्माण गरिरहेको छ ।

    मस्र्याङ्दी करिडोरको ङादीखोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी आयोजनामा न्यादी हाइड्रोपावर कम्पनीले ४ अर्ब ४० करोड लगानी गर्दैछ । यसमा बुटवल पावर कम्पनी (बीपीसी) को बहुमत सेयर छ । ०७६ भित्रै सम्पन्न गरिने यस आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा विभिन्न बैंकले लगानी गरेका छन् ।

    राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न खुदीसम्म १५ वटा स्टिल टावर राखेर १३२ केभीएको प्रसारण लाइन निर्माण गरिने भएको छ । निर्माणकार्य सुरु गरिसकेको प्रवद्र्धक कम्पनी अहिले ठेकेदार छनोटमा जुटेको छ । मस्र्याङ्दी करिडोरमा मात्रै जलविद्युत्का लागि १९ अर्ब ४० करोड लगानी हुँदैछ ।

    धेरै आयोजना निर्माण भइरहेको दोर्दी करिडोरमा चारवटा आयोजना सम्पन्न भएमात्रै एक सय १२ मेगावाट विद्युत् उत्पादन हुनेछ । यही असारमै मात्र निर्माण सुरु भएको ४९ दशमलव ६ मेगावाटको सुपरदोर्दी ‘ख’ आयोजना २०७६ असोजभित्र निर्माण सकेर विद्युत् उत्पादन गर्ने कार्यतालिका छ । ठेकेदार नियुक्तिपछि हिउँददेखि पूर्ण क्षमतामा काम अघि बढ्ने छ । आयोजनाका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीका अनुसार उक्त आयोजना आठ अर्ब २९ करोडको लागतमा निर्माण हुन लागेको हो ।

    उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न कीर्तिपुरबेसीसम्म पाँच किलोमिटर लामो एक सय ३२ केभीएको प्रसारण लाइन निर्माण गरिने भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गर्ने उक्त आयोजनाका लागि नबिल बैंकको नेतृत्वमा ९ वटा बैंकले ७० प्रतिशत लगानी गर्नेछन् । बाँकी ३० प्रतिशत अर्थात २ अर्ब ४९ करोड सञ्चालकहरूको इक्विटी सेयर रहनेछ । यसमा सुपरदोर्दी इन्भेस्टमेन्ट कम्पनीले जिल्लाका बासिन्दाका तर्फबाट २४ करोड रुपैयाँ लगानी गर्नेछ । गत वर्षदेखि सुरु भएको २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना २०७४ असारभित्र सक्ने लक्ष्य लिइएको छ ।

    आयोजना स्रोतका अनुसार भूकम्प र नाकाबन्दीले यसको निर्माण अवधि ६ महिना लम्बिन सक्ने अवस्था छ । हिमालयन पावर पार्टनर प्रालिले निर्माण गरिरहेको उक्त आयोजनामा गैरआवासीय नेपालीद्वारा स्थापित एनआरएन इन्भेस्टमेन्ट लिमिटेडको ५१ र आईएमई गु्रपको ४९ प्रतिशत संस्थापक लगानी रहनेछ । उक्त आयोजनामा ४ अर्ब २३ करोड ३५ लाख रुपैयाँ लगानी हुने आयोजनाका सञ्चालक गुरुप्रसाद ढकालले बताए । आयोजनामा ७५ प्रतिशत बैंक कर्जा र २५ प्रतिशत प्रवद्र्धकको स्वपुँजी लगानी रहनेछ ।

    लिबर्टी इनर्जी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजना ३ अर्ब ९६ करोड रुपैयाँ लगानीमा निर्माण हुँदै छ । आयोजनाका सञ्चालक राजेन्द्र वस्तीका अनुसार ७० प्रतिशत ऋण र ३० प्रतिशत नेपालकै उद्यमीहरूको लगानी रहने छ । पीपीए अनुसार अबको असोजभित्र विद्युत् उत्पादन गरिसक्नुपर्ने आयोजनाले पछिल्लो समय ०७४ को अन्त्यमा आयोजना सक्ने कार्यतालिका बनाएको छ । यसमा नेपाल इन्भेस्टमेन्ट बैंकको नेतृत्वमा ९ वटा बैंकले ऋण लगानी गर्नेछन् ।

    जिल्लास्थित मोडेल इन्भेस्टमेन्ट कम्पनीमा आबद्ध रहेर स्थानीयले ६ करोड लगानी गरेको छ । दोर्दी–१ आयोजना १ अर्ब ८० करोड रुपैयाँमा निर्माण हुँदै छ । यसलाई लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) ले निर्माण गर्नेछ । दोर्दी करिडोरमा मात्रै १८ अर्ब २८ करोड ३५ लाख रुपैयाँ लगानी हुँदै छ । मिदिम करिडोरमा निर्माणाधीन ३ मेगावाटको मिदिमखोला (करापु) आयोजनाले अबको एक वर्षभित्र निर्माण सक्ने लक्ष्य लिएको छ । उक्त आयोजना ५५ करोड रुपैयाँको लागतमा निर्माण गरिन लागेको हो ।

    जिल्लामा अहिले निर्माणाधीन अवस्थाका जलविद्युत्मा मात्रै ३८ अर्ब २३ करोड ३५ लाख रुपैयाँ लगानी भइरहेको छ । आयोजना सम्पन्न हुने मितिसम्म लगानी अझ बढ्ने देखिन्छ । मस्र्याङ्दी करिडोरमा ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ भारतसँग पीडीएको तयारीमा छ । यसको डीपीआर भइसकेको छ । भारतको ग्रान्धी मल्लिकार्जुना राव (जीएमआर) इनर्जी लिमिटेडको ८२ र नेपालका बृन्दमान प्रधानाङ्गको १८ प्रतिशत लगानीमा हिमताल हाइड्रोपावर प्रालिले निर्माण गर्ने भनिएको उक्त आयोजनाको लागत ८४ अर्ब ९६ करोड रुपैयाँ छ । मस्र्याङ्दी नदीमै ५० मेगावाटको मस्र्याङ्दी बेसी आयोजनाको सर्भे भइरहेको छ । मस्र्याङ्दी, दोर्दी र मिदिम करिडोरमा अन्य आयोजनाको सर्भे भइरहेको छ । केही जेनेरेसन लाइसेन्स कुरेर बसेका छन् ।

    ‘जलविद्युत् बन्नु जिल्लाको लागि सुनौलो अवसर हो । यतिका जलविद्युत् सम्पन्न भएमात्रै जिल्लामा बर्सेनि करोडौं विद्युत् रोयल्टी भित्रिन्छ’ स्थानीय विकास अधिकारी शेखर पौड्यालले भने, ‘विकासका लागि यो एउटा आधार बन्न सक्छ ।’

    जिल्लाका राजनीतिक दलका नेतृत्वले लगानीमैत्री वातावरण बनाउन बन्द हडताल नगर्ने लिखित प्रतिबद्धता जनाइसकेको उनले बताए । उनका अनुसार जिल्लाले १० वर्षमा एक हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य अघि सारिसकिएको छ । सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य यसअघि नै प्रस्तुत गरेको थियो । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले लगानीमैत्री वातावरण बताउन जलविद्युत् निर्माणक्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गरिएको बताए । ‘सुरक्षा दिन प्रशासन प्रतिबद्ध छ,’ उनले भने ।

    स्रोत : कान्तिपुर