हावाबाट बिजुली माघमा

    2926

    पुस २२, २०७३- स्पेनी लगानीकर्ताले जोमसोममा हावाबाट बिजुली निकाल्न प्रयास थालेसँगै कागबेनीमा पनि यस्तै योजना आउने भएको छ । एभरेस्ट बिन इनर्जी, दक्षिण अफ्रिकाको एभरेडी क्यास्ट्रोल र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको लगानीमा नयाँ योजना ल्याउन लागिएको हो । कागबेनीमा २०४१ सालमै सरकारले हावाबाट बिजुली निकालेर प्रयोग गरिसकेको छ ।

    जोमसोमको काम अन्तिम चरणमा पुगेको छ । स्पेनबाट अत्याधुनिक मेसिन ल्याएर जडान भइरहेको छ । कागबेनीमा उत्पादन गरिने बिजुली पहिलो चरणमा एक मेगावाटको हुनेछ । यसमा मुख्य लगानी दक्षिण अफ्रिकाको एभरेडी क्यास्ट्रोलले गर्ने केन्द्रले जनाएको छ ।

    यता जोमसोममा सरकारसँगको समन्वयमा जेठदेखि बिजुली निकाल्न प्रयास थालिएको हो । असारमा परीक्षण उत्पादनका लागि जडान गरिएको पंखा र मेसिन उपयुक्त नदेखिएकाले अत्याधुनिक मेसिन झिकाउँदा उत्पादनमा ढिलाइ भएको लगानीकर्ताले बताए । नयाँ मेसिनको प्रयोग युरोपमा सफल भइसकेकाले यो प्रविधि दीर्घकालीन रूपमै हावाबाट बिजुली निकाल्न उपयोगी हुने स्पेनिस लगानीकर्ता राफेल भेनस पिचको दाबी छ । माघसम्ममा बिजुली निस्कने उनले बताए । ‘अहिले अत्यधिक चिसो र हिउँ परेकाले काम रोकिएको छ, तापक्रम बढ्नेबित्तिकै काम सकेर बिजुली बाल्नेछौं,’ पिचले भने ।

    कागबेनी आयोजनामा दक्षिण अफ्रिकाभरि चल्तीमा ल्याइएका पंखाबाट बिजुली निकाल्ने योजना छ । टोलीले अध्ययनपछि तत्काललाई एक मेगावाट बिजुली निकाल्न सकिने प्रतिवेदन केन्द्रमा बुझाएको छ । यो प्रविधिअन्तर्गत प्रतिसेकेन्ड ७ दशमलव ५ मिटरभन्दा बढी बेगको हावाबाट पनि विद्युत् उत्पादन हुने दाबी छ । यसअघि ठूलो बेगका कारण पंखा भाँच्चिएर बिजुली उत्पादन बन्द भएको थियो । केन्द्रको अध्ययनअनुसार मार्फा, कागबेनी, मुक्तिनाथ र माथिल्लो मुस्ताङका सबै स्थानमा हावाबाट बिजुली निकाल्न सकिने देखिएको छ । राईले मौसमअनुकूल भएपछि फागुनबाट कागबेनीमा दक्षिण अफ्रिकाको प्रविधिअनुसार हावाबाट बिजुली निकाल्ने काम हुने स्थानीयसँगको भेटमा बताएका छन् ।

    जोमसोममा निकाल्न थालिएको बिजुलीमा स्पेनमा बसोबास गर्दै आएका एनआरएनएका पूर्वसल्लाहकार पुष्पराज तिमिल्सेनाको लगानी छ । हावाबाट निस्कने बिजुलीबाट सञ्चालन गरिने अत्याधुनिक मौसम मापन यन्त्रलाई यो टोलीले जोमसोममै पहिलोपटक प्रयोगमा ल्याएको छ । ‘अहिले हिउँ परेकाले सिमेन्टमा मेसिन जडानको काम हुन सकेन । चिसो कम हुनेबित्तिकै काम पुन: सुरु हुने तिमिल्सेनाले बताए । ‘अहिले जडान गर्न लागिएको मेसिन र पंखा निकै आधुनिक छ,’ उनले भने । जोमसोमको हावा जुनसुकै दिशाबाट पनि बहने भएकाले सोहीबमोजिम पंखा जडान गर्न लागिएको तिमिल्सेनाले बताए ।

    स्रोत: कान्तिपुर