तामाकोसी–बाह्रबिसे प्रसारण लाइनको टावर निर्माण कार्य सुरु

1906

दोलखा-तामाकोसी–बाह्रबिसे ४ सय केभी प्रसारण लाइनको टावर निर्माण कार्य सुरु भएको छ । पुरानो ठेक्काबाट काम नभएर ठेक्का रद्द भएपछि नयाँ ठेक्का लागेको एक वर्षपछि टावर निर्माणको काम सुरु भएको हो ।
प्रसारण लाइनको १२ नं. टावरको मेलुङ गाउँपालिका–१ पवटीको तामाकोसी किनारनजिकको शुक्रबारबाट निर्माण सुरु भएको छ । निर्माण व्यवसायीले मालुखोलादेखि ३ किलोमिटर सडक ट्रयाक सफा गरेपछि टावर निर्माणस्थल पुगेर जग निर्माणको काम सुरु भएको हो । टावर निर्माणको मेलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी र पूर्वजिविस दोलखाका उपसभापति शिवप्रसाद भण्डारीले शिलान्यास गरी जग निर्माणको काम सुरु गरे । तामाकोसी नदी र आसपासको विद्युत् काठमाडौंसम्म पु-याउन तामकोसी–काठमाडौं ४०० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत २ प्याकेजका काम भइरहेको छ । आयोजनाको पहिलो खण्डको तामाकोसी (रामेछापको फुलासीदेखि सिन्धुपाल्चोकको बाह्रबिसे) सम्मको नयाँ ठेक्का भारतीय कम्पनी केईसी इन्टरनेसनल लिमिटेडले पाएको छ । कम्पनीले करिब ४४ किलोमिटर प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनका लागि एक करोड ७३ लाख १७ हजार अमेरिकी डलर र ७१ करोड ७७ लाख ९७ हजार (करबाहेक) रुपैयाँमा ठेक्का पाएको आयोजना प्रमुख रमण शर्माले जानकारी दिए ।
आयोजना र प्रसारण लाइनको जिम्मा पाएको कम्पनी केइसीले संयुक्त रूपमा सर्भे र डिजाइनपछि टावरको जग निर्माण थालेको हो । स्थानीय निर्माण व्यवसायी कार्की एण्ड सन प्रालिका सञ्चालक विदुर कार्कीले दसैं अघिसम्म १२ नं. टावरको काम पूरा हुने बताए । १२ नं. टावरको जग खन्ने काम पूरा हुनासाथ १३ नं. टावरसम्म पुग्ने प्रवेशमार्ग निर्माण गर्ने उनले बताए । यी दुवै टावर भ्याकुरेदेवी वन क्षेत्रमा पर्छ । निजी जग्गा प्राप्तिमा केही ढिला भएको कारण सार्वजनिक वन क्षेत्रबाट टावर निर्माणको काम थालेको आयोजनाका इन्जिनियर गजेन्द्र यादवले बताए ।
यसभन्दा अघि आयोजनाको भीमेश्वर नगरपालिका वडा नं. ५ मा २६ नं. र ३६ नं. टावरको जग हालिसकेको छ । माता मनशोभा कन्ट्रक्सन प्रालिका सञ्चालक प्रकाश खड्काले २ वटा टावरको जग हालेर ढलानको काम पूरा भएकाले अब तेस्रो टावरको काम सुरु हुने बताए । २ वटामा अब ट्रस्ट हालेर टावर उठाउन योग्य भएको उनले बताए । पहाडी क्षेत्रमा भौगोलिक अवस्थाअनुसार एउटा टावर ४० मिटरदेखि ६० मिटरसम्मको हुन्छ ।
यो प्रसारणलाइन नेपालका पहाडी क्षेत्रमा बन्न लागेको सबैभन्दा ठूला टावर हुन् । इन्जिनियर यादवका अनुसार पहिलो प्योकजमा रामेछापको फुँलासीदेखि बाह्रबिसेसम्म ११४ वटा टावर उठाउनु पर्छ । त्यसमध्ये रामेछापमा २ वटा, दोलखामा ८५ वटा र सिन्धुपाल्चोकमा २७ वटा पर्छ । यसमध्ये दोलखामा १८ वटा र सिन्धुपाल्चोकमा १३ वटा टावर वन क्षेत्रमा पर्छ ।
कम्पनीले टावरको डिजाइन र उत्पादन गरेर स्टप्स र कन्डक्टरको ढुवानीसमेत गरिरहेको छ । सन् २०१९ मे २० मा भएको सम्झौताअनुसार ८१५ अर्थात् १२ अक्टोबर २०२१ मा पूरा गर्नुपर्छ । केईसीका प्रतिनिधि अमित पुनियाले अब सबैतिर टावर निर्माणले गति लिने र समयमा काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । आयोजना नेपाल सरकार र एसियाली विकास बैकको सहुलियतपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो ।
बाह्रबिसे–काठमाडौं (लप्सीफेदी) खण्डको ठेक्का भने लार्सन एण्ड टर्वो (एलएण्टी)ले पाएको छ । यो खण्डमा १२३ टावर भए तापनि मन्डनदेउपुर र नगरकोट क्षेत्रमा स्थानीयको रुट सार्नुपर्ने मागका कारण ५० वटाको मात्र जग हाल्ने काम पूरा भएको छ । यो ठेक्काको म्याद पूरा भएकाले एक वर्ष म्याद थप भई ३० मार्च २०२१ सम्म समय तोकिएको छ । यसको लागत सवा २ अर्ब रुपैंयाँ छ ।
लप्सीफेदी–दुवाकोटमा भने १३२ केभीको सर्भे मात्र भएको छ । आयोजनाको लप्सीफेदीदेखि–चाँगुनारायणको ४ किमि १३२ केभीको डबल सर्किट र चाँगुनारायणदेखि दुवाकोटसम्मको १० किलोमिटरको मल्टि सर्किट लाइन निर्माण गर्ने लक्ष्य छ । तर त्यस क्षेत्रमा सर्भे गर्न पनि प्रहरी परिचालन गर्नु परेकाले टावर निर्माण गर्न असहज अवस्था रहेको आयोजनाले जनाएको छ । टावर बनाउन नसक्ने ठाउँमा केबल लाइन विकल्प भए तापनि केबल टावरभन्दा दशौं गुणा महँगो पर्ने आयोजना प्रमुख शर्माले बताए । यो प्रसारणलाइन पूर्वको विद्युत् काठमाडौं उपत्याका ल्याउने महत्वपूर्ण लाइनको रूपमा विकास गर्न लागेको हो ।
सिन्धुपाल्चोको बाह्रबिसेमा २२०-१३२ केभी सबस्टेसन निर्माण गर्नुपर्छ । प्राधिकरण र ठेकेदारबीच सबस्टेसन निर्माणका लागि २५ डिसेम्बर २०१७ मा ८७ लाख ९३ हजार डलर र ३१ करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २४ फेब्रुअरी २०२० मा सक्ने गरी ठेक्का सम्झौता भए पनि कम पूरा नभएपछि म्याद थप भएको छ । रामेछापको फुसालस्मा न्यू खिम्ती सबस्टेसन भने माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आफैंले निर्माण गरिरहेको छ ।

 

स्रोत : कारोबार