सेतीखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

1434

कास्की जिल्लाको पोखरामा निर्माण गर्न लागेको २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कुमारी बैंक लिमिटेडको अगुवाइ तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सह–अगुवाइमा सेतीखोला आयोजनाको वित्तीय व्यवस्थापन भएको हो । आयोजनाका लागि कुमारी बैंक लिमिटेडले २ अर्ब र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले १ अर्ब २५ करोड गरी जम्मा ३ अर्ब २५ करोड रुपैंया ऋण लगानी गर्न लागेका छन् । कुमारी बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक रामचन्द्र खनाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे र परियोजनाको तर्फबाट अनुप आचार्यको उपस्थितिमा बुधबार ऋण सम्झौतामा हस्ताक्षर भएको थियो ।
कार्यक्रममा आचार्यले विद्यमान प्रतिकुल परिस्थितिका बाबजुद परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफू उत्साहित भएको र परियोजना निर्माण कार्य दु्रत गतिमा अघि बढ्ने बताए । कार्यक्रममा कुमारी बैंकका नायब महाप्रबन्धक खनालले कुमारी बैंक लिमिटेडले हालसम्म ४९ वटा विभिन्न परियोजनामा जम्मा २२ अर्ब ८५ करोड बराबरको कर्जा सीमा स्वीकृत गरिसकेको र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका नायब कार्यकारी अधिकृत पाण्डेले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले हालसम्म ७ वटा विभिन्न परियोजनामा जम्मा ८ अर्ब ३५ करोड बराबरको कर्जासीमा स्वीकृत गरिसकेको जानकारी दिएका थिए ।

 

स्रोत : कारोबार