विद्युत लाइनका कारण फेरी भत्किंदैछ काठमाडौंको सडक

    1485
    काठमाडौं÷ काठमाडौं उपत्यकाको सडक फेरी भत्किने भएको छ । अहिले मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकमा खानेपानीको पाइप बिछ्याउँदा सडक भत्काइरहेको छ । जसका कारण पानी पर्दा सडक हिलो हुने र घाम लाग्दा धुलो उडेर हिंड्न नसक्ने अवस्था छ । राजधानीबासीले यस्तो समस्या एक वर्षभन्दा अघिबाट व्यहोरिरहेका छन् ।
    अब मेलम्चीले हैन,नेपाल विद्युत प्राधिकरणले सडक भत्काउँदै छ । काठमाडौं उपत्यकाभित्र महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्रका ११ केभी र ४०० भोल्टका विद्युतीय संरचनालाई भूमिगत गर्न सडक भत्काउन लागिएको हो । विद्युत संरचनालाई भूमिगत बनाउँदा रत्नपार्क र महाराजगञ्ज क्षेत्रका सडक भत्काउनु पर्ने प्राधिकरणले जनाएको छ । एसियाली विकास बैकको ऋण तथा अनुदानमा विद्युत प्रसारण वितरण कार्यदक्षता अभिबृद्धि आयोजना अन्तर्गत वितरण तारलाई भूमिगत गर्न लागिएको हो ।
    ऊर्जा मन्त्रालयले विद्युत तारलाई भूमिगत गर्ने लगायत क्षमता बृद्धिका कामलाई समन्वयात्मक ढंगले अगाडि बढाउन ऊर्जा सचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ । समितिमा प्रधानमन्त्री कार्यालय, योजना आयोग, गृह, अर्थ, भौतिक पूर्वाधार, सहरी विकास। सूचना तथा सञ्चार, खानेपानी तथा सरसफाई, स्थानीय विकास मन्त्रालय र प्राधिकरण लगायतका निकायका प्रतिनिधि छन् ।
    समितिको मंगलबारको बैठक वितरण प्रणाली सुदृढीकरण तथा विद्युतीइ संरचना भूमिगत गर्ने लगायतका काम सफल र प्रभावकारीरुपमा कार्यान्वयन गर्ने निर्णय भएको ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता सागरराज गौतमले जानकारी दिए । ‘विद्युतीय वितरण प्रणाली भूमिगत गर्न सडक खन्ने, काम सकिएपछि सडक मर्मत तथा पीच सम्बन्धित आयोजनाले सडकको प्रचलित मापदण्ड बमोजिम गराउने र यी कामको प्राविधिक समन्वयको लागि सम्बन्धित निकाय रहने गरि उपसमिति गठन गर्ने निर्णय गरिएको छ’,उनले भने ।