तल्लो खारे खोला आयोजनाको निर्माण कार्य जेठभित्रै सुरु हुने

    2164
    Lower Khareदोलखा जिल्लामा बन्न लागेको तल्लो खारेखोला जलविद्युत आयोजनाको निर्माण कार्य जेठभित्रै सुरु हुने भएको छ। सिईडिबी हाइड्रो फण्डअन्तर्गतको युनिभर्सल पावर कम्पनीले आयोजना निर्माण गर्न लागेको हो। ११ मेगावाट क्षमताको सो आयोजना २०७६ साल असारभित्र सम्पन्न हुने कम्पनीले जनाएको छ।
    प्राविधिक रुपमा सबैजसो काम सकिएको र निर्माण कार्य जेठभित्रै थालिने कम्पनीका फण्ड म्यानेजमेन्ट प्रमुख श्याम खड्काले जानकारी दिए। असोज महिनादेखि पुरा चरणमा काम सुरु हुने उनको भनाई छ। आयोजनामा २ अर्ब ४ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ। जसमा संस्थापकको ७० र साधारणको ३० प्रतिशत हिस्सा रहनेछ।
    कुल लागतमध्ये सिभिल निर्माण कार्यमा २९. ५५ प्रतिशत, विद्युतीय यान्त्रिक उपकरणतर्फ १६. ४ प्रतिशत, पेनस्टक पाइप र जलविद्युत यान्त्रिक कार्यमा २५. २२ प्रतिशत लागत लाग्ने अनुमान छ। बाँकी लागत प्रशारण तथा स्वीच यार्ड, इन्जिनियरिङ तथा व्यवस्थापन आदिमा लाग्ने बताइएको छ।
    आयोजनाबाट विद्युत उत्पादन भएपछि वार्षिक ६. २७ करोड युनिट विद्युत विक्री हुने युनिभर्सल पावरले जनाएको छ।
    आयोजना निर्माण तथा संचालनका लागि कम्पनीले सरकारबाट सबै अनुमति र स्वीकृति पाएको छ। कम्पनीको अधिकृत तथा जारी पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ। २०७१ साल पुस २३ गते कम्पनीले विद्युत विकास विभागबाट उत्पादनको अनुमति लिएको थियो।
    कम्पनीको वित्तीय व्यवस्थापनका लागि बैंक अफ काठमाण्डुको अगुवाईमा कुमारी बैंक, लक्ष्मी बैंक, जनता बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, कैलाश विकास बैंकसँग २०७० असार १६ गते सम्झौता भएको थियो।  वित्तीय परिसूचकमा ५० प्रतिशत हिस्सा ऋण र ५० प्रतिशत सेयर रहने खड्काले बताए।
    अग्राधिकार सेयरमा लगानी खुला
    सर्वसाधारणले यो आयोजनाको प्रिफरेन्स अर्थात अग्राधिकार सेयरमा लगानी गर्न सक्छन्। जेठ महिनाभरि सर्वसाधारणले सेयरमा लगानी गर्न सक्ने फण्ड म्यानेजमेन्ट प्रमुख खड्काले बताए।
    यो सेयरका लागि प्रतिकित्ता १ सय रुपैयाँको अंकितमा सर्वसाधारणले लगानी गर्न सक्ने छन्। कम्तीमा १ लाख रुपैयाँ लगानी गर्न सक्ने खड्काले बताए। उनका अनुसार अग्राधिकार सेयरमा लगानीकर्ताले वार्षिक १९ प्रतिशत प्रतिफल पाउने छन्।
    आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको ६ महिनाभित्र सो अग्राधिकार सेयर संस्थापक साधारण सेयरमा परिणत हुने छ।  संस्थापक साधारण सेयरमा परिणत हुनुअघि लगानीको वार्षिक ७. ५ प्रतिशतले हुन आउने प्रतिबद्धता शुल्क सेयर लाभांशको रुपमा लगानीकर्तालाई दिइने कम्पनीले जनाएको छ।
    पहिलो पटक कम्पनीले अग्राधिकार सेयर प्रतिबद्धतामा ब्याज रकमको सेयर लाभांशका रुपमा दिन लागेको हो।  त्यस्तै कम्पनीले सर्वसाधारणका लागि पनि ३० करोड रुपैयाँको ३० लाख कित्ता साधारण सेयर निस्कासन गर्ने खड्काले बताए।
    उनका अनुसार अग्राधिकार सेयर संस्थापकमा परिणत गरेपछि बस्ने साधारण सभा बैठकले साधारण सेयर निस्कासनको निर्णय गर्नेछ।
     सिईडिबी हाइड्रो फण्डबाट प्रबद्र्धित ३ वटा आयोजनाहरु संचालनमा रहेका छन्। लमजुङमा ४. ४ मेगावाटको राधी जलविद्युत आयोजना, ४ मेगावाटको खुदी जलविद्युत आयोजना र १ सय ८३ किलोवाटको साङ्गे जलविद्युत आयोजना हाल संचालनमा छन्।
    केही आयोजना निर्माणाधिन अवस्थामा रहेका छन्। १०. ३ मेगावाटको दोर्दी खोला आयोजना, ५ मेगावाटको गाड जलविद्युत आयोजना पनि सिइडिबी हाइड्रो फण्डबाटै निर्माणको चरणमा रहेका छन्।
    स्रोत : सेतो पाटी