सुके मुहान, रित्तिँदै कुलेखानी

    2379
    कुलेखानी (मकवानपुर): मुलुकको विद्युत् ब्याक अपका रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय रित्तिँदै गएको छ । मानवनिर्मित इन्द्रसरोवर तालमा बिहीबार दिउँसोसम्म १८ मिटर पानी प्रयोग गर्न सकिने अवस्थामा रहेको कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख बद्री फुयालले बताए ।
    ‘जल सतहबाट एक हजार पाँच सय तीन मिटर पानी रहेको छ’, उनले भने, ‘एक हजार चार सय ८५ मिटरमुनिको पानी प्रयोग गर्न सकिँदैन ।’ अघिल्लो वर्ष यस अवधिमा जलाशयमा पानीको सहत एक हजार पाँच सय १० मिटर रहेको थियो ।
    ‘भारप्रेषण केन्द्रको निर्देशनअनुसार मात्र आवश्यक पर्दा चलाउँछौं’, आयोजना प्रमुख फुयालले भने, ‘पूर्ण क्षमतामा चौबीसै घन्टा विद्युत्गृह सञ्चालन गर्ने हो भने करिब १५ दिनलाई मात्र नियमित विद्युत् उत्पादन गर्नसक्ने पानी रहेको छ ।’ बर्सात् सुरु हुनेबित्तिकै अन्य ठूला विद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढ्ने भएकाले त्यसपछि इन्द्रसरोवरमा पानी संकलनको मात्र काम हुने उनले बताए ।
    ‘जालाधार क्षेत्रमा यस वर्ष पानी नपर्दा जलाशय रित्तिँदै गएको हो’, फुयालले भने, ‘यही अवस्था रहिरहे देशमा थप लोडसेडिङ बढ्न सक्छ ।’
    इन्द्रसरोवर जलाशयमा एक हजार पाँच सय ३० मिटरसम्म पानी अटाउन सक्ने क्षमता छ । अघिल्लो वर्ष जलाशय भरिए पनि यस वर्ष जम्मा एक हजार पाँच सय २७ मिटरमात्र पानी भरिएको थियो ।
    भूकम्पले मुहान सुक्दै
    भूकम्पका कारण इन्द्रसरोवरका दुईवटा साना मुहान सुकेको इन्द्रसरोवर मत्स्य व्यवसायी संघका अध्यक्ष जमानसिं वाइबाले बताए । ‘बज्रबाराहीबाट आउने सानो खोला र चित्लाङ हुँदै आउने बिसंखेल खोलामा पानी देखिँदैन’, उनले भने, ‘अन्य मुहानबाट पनि अघिल्ला वर्षहरूमाभन्दा आधामात्र पानी आइरहेको छ ।’
    जलाशयमा पालुङ खोला, चित्लाङ खोला, चल्खु खोला, ठाडो खोलालगायत आधा दर्जन मुहानबाट पानी जम्मा हुने गरेको छ ।
    ‘भूकम्पका कारण मुहान सुक्दै गएको समयमा लामो खरेडी पर्दा माछापालनमा समेत समस्या पर्दै गएको छ’, उनले भने, ‘कुलेखानी जलाधार क्षेत्रको संरक्षणमा सबै मिलेर नलाग्ने हो भने कुलेखानी जलविद्युत् आयोजनाकै भविष्य संकटमा पर्न सक्छ ।’
    कुलेखानी पहिलो र दोस्रोबाट गरी हाल ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ भने १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो निर्माणाधीन छ ।
    रोयल्टी जलाधार संरक्षणमा खर्च भएन
    विद्युत् प्राधिकरणले कुलेखानी सञ्चालनबापत मकवानपुरलाई उपलब्ध गराउँदै आएको रोयल्टी कुलेखानी जलाधार क्षेत्रको विकासमा खर्च हुनसकेको छैन । प्रत्येक वर्ष कुलेखानी प्रभावित पाँच गाविस र एक नगरपालिकामा पठाइने रोयल्टी रकम जलाधार क्षेत्र विनाशको काममा प्रयोग भइरहेको स्थानीय सरोकारवालाहरूले बताएका छन् ।
    प्रत्येक वर्ष विनियोजित हुने रकममध्ये दस प्रतिशत पनि जलाधार क्षेत्रको संरक्षणमा खर्च नहुने बज्रबाराहीका इन्द्रबहादुर श्रेष्ठले बताए । ‘धेरैजसो पैसा सडक निर्माणमै खर्च भइरहेको छ’, उनले भने, ‘जलाधार क्षेत्रको संरक्षणका लागि आएको पैसा विनाशमा खर्च हुनु गलत कार्य हो ।’
    चालू आर्थिक वर्ष २०७२÷७३ मा प्राधिकरणले मकवानपुरलाई उपलब्ध गराएको तीन करोड सात लाख रुपैयाँमध्ये ७५ लाख रुपैयाँ कुलेखानी प्रभावित क्षेत्रमा पठाइएको जिविसका शाखा अधिकृत किरण थापाले बताए । मार्खु गाविसका सचिव विश्वराज लामाले जलाधार क्षेत्रको संरक्षणका लागि एकीकृत कार्यक्रम आवश्यक रहेको बताए ।
    संरक्षित क्षेत्र घोषणा गर्ने तयारी
    जिल्ला भूसंरक्षण कार्यालय मकवानपुरले कुलेखानी जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न पहल थालेको छ । कार्यालय प्रमुख पुष्पराम थापाका अनुसार संरक्षित क्षेत्र घोषणाका लागि स्थानीयबासीसँग अन्तरक्रिया भइरहेको छ । ‘संरक्षित क्षेत्र घोषणका लागि हामी प्रारम्भिक चरणको तयारीमा छौं’, उनले भने, ‘स्थानीयबासी र सरोकारवालाहरूको साथ रहे छिट्टै यो अभियान सफल हुन्छ ।’
    त्यसका लागि जथाभाबी सडक खन्ने, मुहानवरिपरि ढुंगा र बालुवा निकाल्ने काम बन्द गर्नुपर्ने थापाले बताए । सरकारले भू तथा जलाधार ऐन २०३९ अनुसार संरक्षित क्षेत्र घोषणा गर्न सक्छ । संरक्षित क्षेत्र घोषणा भएपछि सरकारले वार्षिक रूपमा जलाधार क्षेत्र संरक्षणका लागि बजेट छुट्ट्याउनुपर्ने थापाले बताए ।
    स्रोत : अन्नपूर्ण पोस्ट