चमेलियाको अवरुद्ध काम अझै सुरु भएन

    1093

    संसद्को सार्वजनिक लेखा समितिले तत्कालै निर्माण प्रक्रिया सुरु गर्न निर्देशन दिएको ५ महिना बितिसक्दा पनि चमेलिया जलविद्युत् आयोजनाको काम सुरु भएको छैन ।

    गत पुस १२ मा समितिले आयोजनाको काम तत्कालै अगाडि बढाउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो । काम कहिलेबाट सुरु हुन्छ भन्नेबारे आयोजना प्रमुख राजेन्द्र मानन्धरले केही जानकारी दिन नसक्ने बताए ।

    उनले विद्युत् प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकबाट काम सञ्चालनको निर्णय हुनुपर्ने बताए । ‘बोर्डलाई जानकारी गराएका छौं,’ उनले भने, ‘बोर्डको निर्णयपछि काम सुरु हुने हो । तर, बोर्डबाट कुनै आदेश आएको छैन ।’ विद्युत् प्राधिकरण बोर्डले यस विषयमा चासो राखेको नदेखिएको आयोजनाका प्राविधिकहरू बताउँछन् ।

    खुम्चिएको सुरुङमध्ये ६ सय ११ मिटर निर्माण भइसकेको छ । बाँकी २ सय ३२ मिटर सुरुङ तत्काल मर्मतसम्भार गर्न लेखा समितिले प्राधिकरणलाई निर्देशन दिएको थियो । प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको र विद्युत् गृहलगायत अन्य काम अन्तिम चरणमा पुगे पनि आयोजनाको सुरुङको मुख्य काम नै अगाडि नबढ्दा समस्या भएको हो ।

    निर्माण कम्पनीले सम्झौताअनुसार विद्युत् प्राधिकरणले समयमा भुक्तानी नगरेको भन्दै ०७१ जेठदेखि अनिश्चित कालका लागि सुरुङको निर्माण कार्य रोकेको थियो । लेखा समितिले ०७१ असार ६ मा नयाँ काम (भेरिएसन) मा भ्रष्टाचार भएको भन्दै भुक्तानीमा रोक लगाएको हो ।

    भुक्तानी नपाएसम्म सिभिल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले काम सुचारु गर्न ढिलाइ गरेको हो । सरकारले पनि समयमा उक्त भुक्तानी नदिएका कारण काम हुन नसकेको आयोजनाका अधिकारीहरू बताउँछन् ।

    स्रोत : कान्तिपुर