७ हजार मेगावाट क्षमताका आयोजना अध्ययनमा

    1197

    काठमाडौं । आगामी ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको सरकारले पछिल्ला दिनमा ७ हजार १ सय ३६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको अध्ययन तथा अनुसन्धानको कार्यलाई द्रुत रूपमा अगाडि बढाएको छ ।

    जलविद्युत् आयोजना एकदमै प्राविधिक र विशिष्ट विषय भएकाले अध्ययनमा विशेष जोड दिइएको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागका अनुसार कुल ५५ ओटा आयोजनाको हाल अध्ययन तथा अनुसन्धान गरिरहेको छ । ती आयोजनाको क्षमता ७ हजार १ सय ३६ मेगावाट रहेको छ । आयोजना शुरू गर्नुभन्दा पहिले विशिष्ट तवरले अध्ययन गर्नुपर्ने भएकाले विभागले प्राविधिक कामलाई विशेष ध्यान दिएको हो ।

    सरकारको बास्केट फण्डमा रहेका आयोजनालाई नै विशेष ध्यानमा राखेर अध्ययन गरिरहेको छ । विभागले प्राथमिकताका साथ अध्ययन गरिरहेको आयोजनामा ४ सय ४० मेगावाट क्षमताको भेरी एक, अरुण चौथो ३ सय मेगावाट, कर्णाली सात ३ सय ३० मेगावाट, खिम्ती शिवालय २ सय मेगावाट, किमाथाङका अरुण ४ सय ३४ मेगावाटको अध्ययन गरेको छ ।

    यस्तै, तल्लो अरुण ४ सय मेगावाट, नौमुरे जलाशययुक्त आयोजना ४ सय १० मेगावाट, शारदा बबई ९३ मेगावाट, माथिल्लो झिमरुक सय मेगावाट, सुनकोसी दोस्रो १ हजार १ सय १० मेगावाट, सुनकोसी तेस्रो ५ सय ३६ मेगावाट ठूला आयोजनाका रूपमा रहेका छन् । त्यस्तै, अध्ययनका क्रममा ३ मेगावाटदेखि  सय मेगावाटसम्मका आयोजना अधिकांश रहेका छन् ।

    विभागका अनुसार सरकारको बास्केट फण्डमा १ सय ४९ आयोजना अझै रहेका छन् । ती आयोजनाको क्षमता ४ हजार ८ सय मेगावाट रहेको छ । विभागका सूचना अधिकारी बाबुराज अधिकारीका अनुसार धेरैजसो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने केही आयोजनाको इञ्जिनीयरिङ अध्ययन भएको छ ।

    सबै अध्ययन सकेर निर्माणका लागि योग्य बनाउने गरी तयारी गरिएको छ । विभागले गर्ने अध्ययनका आधारमा निर्माण गर्न चाहने प्रवद्र्धकले थप अध्ययन गर्ने गर्छन् । सरकारले पछिल्लो पटक जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादन कम्पनी तथा नेपाल विद्युत् प्राधिकरणमार्फत पनि अध्ययन गराइरहेको छ ।

    पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरणले विभिन्न ८ जलविद्युत् आयोजनाको कम्पनी नै स्थापना गरेर अध्ययन अगाडि बढाएको प्रवक्ता प्रबल अधिकारीले बताए । यस्तै, निजी क्षेत्रका तर्फबाट पनि आयोजनाको अध्ययन तथा निर्माणको कामलाई गति दिइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का अनुसार निजी क्षेत्रले हाल ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको छ भने करिब ५ हजार मेगावाट क्षमताका आयोजना अध्ययनको क्रममा रहेका छन् । रासस