तीन वर्षमा १२ सय मेगावाट विद्युत्

    1148

    काठमाडौं : आउँदो तीन वर्षभित्र मुलुकमा १ हजार २ सय मेगावाट विद्युत् थपिने भएको छ । विद्युत् उत्पादन सुरु भएको १ सय ६ वर्षमा ९ सय मेगावाट मात्र उत्पादन भएकोमा आगामी तीन वर्षभित्र यो परिमाणमा थप विद्युत् उत्पादन हुने भएको हो ।

    नेपाल विद्युत् प्राधिकरणको ३२ औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वर्ष माथिल्लो तामाकोसी, निजी क्षेत्र तथा सौर्य ऊर्जामार्फत ६ सय मेगावाट उत्पादन थप हुने तथा आउँदो २ देखि ३ वर्षभित्र निर्माणाधीन जलविद्युत् तथा प्रसारणलाइन आयोजनाहरू सम्पन्न गरी प्रणालीमा थप १ हजार २ सय मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिए ।

    वार्षिकोत्सवमा घिसिङले विद्युत्को दीर्घकालीन माग सम्बोधन गर्न सबैखाले आयोजना अघि बढाइने बताए । उनका अनुसार दूधकोसी, तमोर, उत्तरगंगा, आँधीखोलाजस्ता जलाशयुक्त आयोजनाहरूका साथै माथिल्लो अरुण र तामाकोसी–५जस्ता पिकिङ रन अफ रिभर (आरओआर) एवं २ सय १० मेगावाटको चैनपुर सेती, ६० मेगावाटको मोदी लगायतका जलविद्युत् आयोजनाहरू विभिन्न सहायक कम्पनीहरूमार्फत अघि बढाउनेगरी अघि बढेका छन् ।

    उत्पादित विद्युत् तोकिएको लोड सेन्टरमा पु-याउन एवं आयात–निर्यात प्रयोजनका लागि पूर्वपश्चिम तथा उत्तर–दक्षिण ४०० के.भी. प्रसारणलाइन निर्माण गर्न आवश्यक भएको उल्लेख गर्दै घिसिङले ४०० के.भीको न्यू बुटवल–गोरखपुर तथा गल्छी–केरुङ क्रसबोर्डर प्रसारणलाइन आगामी ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको जानकारी दिए ।

    प्राधिकरणका अनुसार, हालसम्म निजी क्षेत्रका विभिन्न २ सय १३ वटा जलविद्युत् प्रवद्र्धकसँग ३ हजार ३ सय ९५ मेगावाटबराबर विद्युत् खरिद सम्झौता (पीपीए) भएकोमा ४ सय ४१ मेगावाट उत्पादन भइसकेको र २ हजार ९ सय ३३ मेगावाट बराबरका १ सय ५१ आयोजना निर्माणाधीन छन् ।

    अघिल्लो आवको विद्युत् बिक्री तथा अन्य आम्दानीबाट ३५ अर्ब ७ करोड ३५ लाख कूल आम्दानी भएकोमा ०७३-७४ मा उक्त आयमा वृद्धि भई ५० अर्ब २२ करोड ९४ लाख पुगेको प्राधिकरणले जनाएको छ ।  अघिल्लो वर्षको तुलनामा यो आम्दानी  ४३.२१ प्रतिशतले बढी हो ।०७२-७३ मा भारतबाट १७७७.६८ गिगावाट आवर ऊर्जा आयात गरिएकोमा०७३-७४ मा २२.३५ प्रतिशतले वृद्धि भइ २१७५.०४ गिगावाट आवर ऊर्जा आयात भएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणको विद्युत् खरिदसमेतको कल सञ्चालन खर्च ०७२/७३ मा ३६ अर्ब ८ करोड ७५ लाखको तुलनामा २६.२८ प्रतिशतले वृद्धि भइ ०७३/७४ मा ४५ अर्ब ५७ करोड २० लाख पुगेको छ । ०७२/७३ मा  ८ अर्ब ८९ करोड घाटा रहेकोमा घटेर आर्थिक वर्ष २०७३÷७४ मा ९७ करोड ८९ लाखमा झरेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

    २९ लाख ७० हजार ग्राहक रहेकोमा वृद्धि भइ ०७३÷७४ मा सामुदायिक तथा थोक ग्राहकसमेत गरी ३२ लाख ६० हजार  पुगेको उल्लेख गर्दै कुल विद्युत् बिक्री आयमा गार्हस्थ्य र औद्योगिक ग्राहकको योगदान क्रमशः ४१.८५ प्रतिशत र ३५.६१ प्रतिशत रहेको छ भने अन्य वर्गका ग्राहकको योगदान २२.५४ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ०७३/७४ मा प्राधिकरणले २ अर्ब ४० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ ।

    प्राधिकरणले आगामी हिउँदको विद्युत् संकट कम गर्न भारतबाट करिब ५ सय मेगावाटसम्म विद्युत् आयात गर्ने लक्ष्य राखेको उल्लेख गर्दै अन्तरदेशीय प्रसारण लाइनबाट १ सय ४५ मेगावाट, कुशाहा–कटैयाबाट १ सय २५ मेगावाटका साथै हालै सम्पन्न रक्सोल–परवानीपुर र कुशाहा–कटैयाँबाट ५०/५० मेगावाट र टनकपुरबाट ३५ मेगावाट आयात गर्ने योजना रहेको जनाएको छ ।

    वार्षिकोत्सवमा बोल्दै ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले हिउँदमा लोडसेडिङ हुन नदिने गरी योजना बनाएर अघि बढेको उल्लेख गर्दै विद्युत् उत्पादन वृद्धिलाई केन्द्रित गरेर मन्त्रालय अघि बढेको बताए । प्राधिकरणभित्रको गलत प्रवृत्ति अन्त्यका लागि आफू सक्रिय हुने उनको भनाइ थियो । ऊर्जासचिव अनुपकुमार उपाध्यायले विद्युत् उत्पादनमा आत्मनिर्भर हुने गरी दीर्घकालीन समस्या समाधान गर्न केन्द्रित हुनुपर्ने बताए ।

    कार्यक्रममा विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशकद्वय सुनिल ढुंगेल र शान्तिलक्ष्मी शाक्य, विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनका अध्यक्ष जर्नादन भट्टराई लगायतले विद्युत् प्राधिकरणबारे चर्चा गरेका थिए ।

    स्रोत:कारोबार