कुलेखानी–३ को विद्युत् पुसमा

    1181

    ४ वर्षमा बन्नुपर्नर्े सम्झौता भए पनि ११ वर्ष भइसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

    हेटौंडा — स्वदेशी लगानीमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य पुस १६ सम्म सम्पन्न गर्ने प्राविधिकहरूले बताएका छन् ।

    निर्माण पूरा भइसक्दासम्म पाँच अर्बभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । इलेक्ट्रो मेकानिकलको ठेक्का लिएको कम्पनीको ढिलासुस्तीका कारण कुलेखानी–३ को निर्माण चार वर्षमा सम्पन्न गर्ने सम्झौता भए पनि ११ वर्ष बितिसकेको छ । अझै केही महिना लाग्ने प्राविधिकहरूले बताएका छन् ।

    इलेक्ट्रो मेकानिकलको कार्य ८५ प्रतिशत मात्र सम्पन्न भएको छ । आगामी पुसको आधाआधीमा काम सम्पन्न हुने आयोजनाका एक वरिष्ठ अधिकृतले बताए । ‘इलेक्ट्रो मेकानिकलको अहिले विद्युत्गृहमा उपकरण जोड्ने, टावर बनाउने, गेट बनाउने र केबुल तान्ने काम भइरहेको छ,’ उनले भने । नेपाली, भारतीय र चिनियाँ गरी २५ जनाले काम गरिरहेका छन् । ०६४ चैतदेखि काम सुरु गरिएको उक्त आयोजना ०६८ मा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो ।

    इलेक्ट्रो मेकानिकलको ठेक्का लिएको चीनको जिज्याङ कम्पनीको ढिलाइका कारण कुलेखानी–३ को निर्माण कार्य पछाडि धकेलिएको हो । नेपाल विद्युत् प्राधिकरणले सिभिल वर्कको जिम्मा लिएको ठेकेदार कम्पनी सिनो हाइड्रोलाई चैत १ सम्म म्याद थप गरेको थियो । उसले काम सकेर फर्किसकेको छ ।

    ‘सरकारले चिनियाँ सरकारमार्फत चिनियाँ ठेकेदार कम्पनीका व्यक्तिहरूलाई झिकाएर काममा लगाउनुपर्छ अनि मात्र आगामी पुसमा काम सम्पन्न हुन्छ,’ प्राधिकरणका एक अधिकृतले भने ।

    कुलेखानी ३ को सुरु निर्माण लागत २ अर्ब ४३ करोड अर्थात् प्रतिमेगावाट १७ करोड ३६ लाख रुपैयाँ थियो । अहिले यो लागत बढेर ४ अर्ब ६३ करोड अर्थात् प्रतिमेगावाट ३३ करोड रुपैयाँ पुगेको छ । कुलेखानी तेस्रो १४ मेगावाट जलाशय बनाउन नपर्ने ‘क्यास्केड प्रोजेक्ट’ हो । वार्षिक सरदर ४० दशमलव ६५ गिगावाट आवर विद्युुत् उत्पादन गर्ने क्षमता रहेको छ ।

    १४ मेगावाट विद्युत् उत्पादन हुने कुलेखानी तेस्रो जलविद्युत् आयोजनामा चार अर्बभन्दा बढी खर्च भइसकेको छ । आयोजनाले इलेक्ट्रो मेकानिकलको ठेकेदार कम्पनीलाई छिटोछिटो काम गर्न दबाब दिंदा पनि टेरेको छैन ।

    स्रोत: कान्तिपुर