चुनाव लगत्तै बीपीसीको २ अर्ब ४ करोडको एफपीओ आउने, प्रतिकित्ता मूल्य ५०१ रुपैयाँ

    1316

    काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले चुनावलगतै थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । प्रति कित्ता ५०१ रुपैयाँ प्रिमियम मूल्यमा ४० लाख ८१ हजार कित्ता एफपीओ ल्याउन लागेको हो ।

    यसअघि बीपीसीले धितोपत्र बोर्डमा प्रतिकित्ता ५१८ रुपैयाँमा एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेकोमा परिमार्जन गरी ५०१ कायम गरिएको हो । पछिल्लो व्यवस्थाअनुसार नयाँ मूल्य प्रस्ताव गरेका बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । उनले बोर्डले स्वीकृति दिने काम अन्तिम चरणमा पुगेकाले चुनाव सकिएलगतै एफपीओ निष्कासन थाल्ने उनले बताए । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ आउने भएको छ ।

    कम्पनीले सेयर निश्कासन(अण्डर राइटर)का लागि लक्ष्मी क्यापिटल र एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।
    गत आर्थिक वर्ष ०७३/०७४ मा बीपीसीले ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । चालु आवको पहिलो त्रैमाशमा बीपीसीको नाफा २३५ प्रतिशतले बढेर ७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

    बीपीसीले साढे ६६ मेगावाटका न्यादी र कावेली ए आयोजना निर्माणमा थप लगानी जुटाउन बीपीसीले प्रिमियम दरमा एफपीओ निश्कासन गर्न लागेको उनले जानकारी दिए । धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गर्न लागेको हो ।

    सहायक कम्पनी कावेली इनर्जी लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेका २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । यी आयोजनामा हालसम्म ९५ करोड ३६ लाख रुपैयाँ लगानी भैसकेको छ । १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गर्न बाँकी छ ।बीपीसीले  कायम रहेको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँबाट बढाएर २ अर्ब २२ करोड पुयाउने तयारी छ ।

    बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ । कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत प्राधिकरणको गरी १३ प्रतिशत, सांग्रिला इनर्जी लिमिटेड र आईकेएन नेपाल एसको ७५ र सर्वसाधारण र कर्मचारीको गरी १२ प्रतिशत स्वामित्व छ ।

    -विकासन्युज