गुरुप्रसाद न्यौपाने आर्थिक संकटमा, लगानी जुटाउन नसकेपछि त्रिशुली–गल्छी जलविद्युतको क्षमता घटाए

    1865

    काठमाडौं । लगानी जुटाउन नसकेपछि सिद्धकाली पावर लिमिटेडले त्रिशुली–गल्छी जलविद्युत आयोजनाको क्षमता घटाउन लागेको छ । आयोजनाको जडित क्षमता ७५ मेगावाटबाट घटाएर २२ मेगावाटमा सीमिति गर्न कम्पनीले विद्युत विकास विभागमा निवेदन दिएको छ ।

    विभागले क्षमता घटाउनको कारण पेश गर्न सिद्धकालीलाइ भनेको महानिर्देशक नवीनराज सिंहले बताए । उनले आउदो साता आयोजनाको क्षमता घटाउनको कारणसहित प्रस्तुतीकरण गर्ने जानकारी दिए । सिद्धकालीका अध्यक्षमा गुरुप्रसाद न्यौपाने हुन् । उनको अगुवाइमा आयोजनाको काम अघि बढेको हो ।

    आयोजनाको भौगर्भिक अवस्था कमजोर, सुरुङमा जोखिम बढेको र हेड कम भएका कारण आयोजना आर्थिक रुपमा संभाव्य नदेखिएको र आयोजनामा लगानी गर्न चाहेका बैंक तथा वित्तीय संस्था पछि हटेपछि क्षमता घटाउन लागेको हो ।

    यसअघि लक्ष्मी बैंकको अगुवाइमा आयोजनामा लगानी गर्ने सहमति भएको थियो । पछिल्लो समयमा न्यौपानेले लगानीकर्ताको विश्वास गुमाउदै गएका छन् । बैंकले पनि उनलाई विश्वास गर्न छाडेका छन् ।

    यसअघि डलर अर्बपति विनोदकुमार चौधरीले आयोजनामा लगानी गर्ने भनेकोमा उनी पछि हटेपछि आयोजना अन्यौलमा परेको छ । कम्पनीका अध्यक्ष न्यौपाने अहिले लगानीकर्ता खोज्दै हिडेका छन् । पीपीए भइसकेको र सरकारले विद्युत उत्पादन लाइसेृन्स दिइसकेको अवस्थामा कम्पनीले आयोजना बनाउनलाई लगानी जुटाउन सकेको छैन् । उनले आयोजना बनाउन सर्वसाधारणबाट करोडौ रुपैयाँ उठाइसकेका छन् ।

    योजनाअनुसार आयोजनाको निर्माण सुरु हुनुपर्नेमा लगानी जुटाउन नसकेपछि अन्यौलमा परेको छ । आयोजना नबन्ने संभावना बढेर गएको छ ।सिद्धकालीको अध्यक्ष गुरु न्यौपाने छन् । यस्तै सञ्चालकमा बुहारी पुजा दाहाल र छोरा छन् ।

    सरकारले सिद्धकालीलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । नेपाल विद्युत प्राधिकरण र सिद्धकालीबीच आयोजनाबाट उत्पादन हुने बिजुली खरिदविक्रि सम्झौता (पीपीए) भइसकेको छ । जसअनुसार हिउँदको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादको ८ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ ।

    आयोजनाको ८० प्रतिशत स्वामित्व अपि पावर लिमिटेडको छ । अपिले सुदुरपश्चिममा साढे ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । अपीले यही आयोजना बनाउ हकप्रद सेयर निष्कासनको तयारी थालेको थियो ।२ अर्ब ५ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको छैन् ।

    विस्तृत आयोजना प्रतिवेदनअनुसार त्रिशुली–गल्छी बनाउन १४ अर्ब ४० करोड रुपैयाँ लाग्ने छ । ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत प्रवद्र्धकको स्वपुंजी लगानी हुने छ । बैंकबाट ९ अर्ब ८३ करोड रुपैयाँ लगानी हुने छ । जसअनुसार सेयर लगानी ४ अर्ब ३२ करोड रुपैयाँ हुने छ । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ७२ लाख रुपैयाँ लाग्ने देखाएको छ ।

    धादिङ र नुवाकोट जिल्लाको त्रिशुलीमा निर्माण हुने आयोजनाबाट वार्षिक ४६ करोड ८१ लाख ८५ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । आयोजना राजधानीबाट ६३ किलोमिटर टाढा छ । काम सुरु गरेको ४२ महिनामा आयोजाको काम सम्पन्न हुने छ ।

    आयोजनाको बाँध नुवाकोटको रातमाटे र विद्युतगृह धादिङको कल्लेरी गाविस स्थित हाँडीखोलाटारमा हुने छ । सुरुङको लम्बाई ८ किलोमिटर छ । आयोजनाबाट उत्पादन हुने बिजुली २२० केभी प्रसारणलाइनबाट राजधानीमा ल्याइने छ ।

    त्रिशुली–गल्छीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भारतको डिजाइन ग्रुप कन्सल्टेन्टमार्फत भएको हो । कम्पनीले आयोजना प्रभावित धादिङ र नुवाकोटका बासिन्दालाई १० प्रतिशत आर्थत ४२ करोड १४ लाख रुपैयाँको सेयर छुट्टाइएको छ । यस्तै सर्वसाधारणलाई १५ प्रतिशत छुट्टाइएको छ ।

    • विकासन्युज