जलविद्युत् प्रवर्द्धकलाई टर्बाइनकै चिन्ता

    1194

    बनेपा- प्रविधिको हिसाबले संसारमै जलविद्युत् उत्पादन प्रविधिलाई उत्तम मानिए पनि नेपाली प्रवर्द्धकहरुलाई सधैंभरि ‘टर्बाइन’को समस्याले पिरोल्ने गरेको छ।

    ‘हाइड्रो टेक्नालोजी यति धेरै स्ट्रङ छ कि अन्यमा यत्तिको छैन। सुरुबाटै हाइड्रोको टेक्नोलोजी बलियो भएर आयो,’ नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले भने, ‘यसका दाँजोमा मोबाइल र कम्प्युटरमा कति धेरै बदलावहरु आइसकेको छ। त्यसैले गड् गिफ्टेड रिभर्स टेक्नोलोजी हाइड्रो नै हो।’

    काठमाडौं विश्वविद्यालय (केयू)ले हालै आयोजना गरेको नेपालमा हाइड्रो–टर्बाइन विकासका लागि सरोकारवालाहरुको कार्यशालामा उनले भने, ‘पर्याप्त पानी भएको वर्षातमा समेत शतप्रतिशत विद्युत् उत्पादन हुन सकेको छैन, किनकी नेपालका नदीमा बगेर आउने बालुवा तथा मसिना ढुंगाहरुले टर्बाइनमा क्षति पुगिरहेको छ,’ प्रधानले थपे।

    जलविद्युत् उत्पादनमा अग्रणी रहेको नर्वेमा ४० वर्षमा पहिलोपटक टर्बाइन खोलेको दृष्टान्त दिँदै प्रधानले थपे, ‘हामीकहाँ एउटा वर्षा सुरु हुँदा र अन्त्य हुँदाको अवस्थामा टर्बाइनमा ठूलो परिवर्तन आइसकेको हुन्छ। कालीगण्डकी, मोदी, मादीजस्ता योजनामा ४० दिनमा दुई प्रतिशत उत्पादन डाउन भइसकेको पाएका छौं,’ उनले थपे।

    अवसर र सम्भावनायुक्त जलविद्युत् उत्पादनमा जति पनि समस्या छन् ती मध्ये प्रमुख समस्या टर्बाइनमै रहेको प्रधानको भनाइ छ। ‘नेपालमा प्रयोग भएका सबै टर्बाइनहरु युरोप, नर्वे र क्यानेडियन नदीमा आधारित छन्। ती सबै नेपालका नदीमा मिल्दैनन्,’ उनले भने, ‘किनकी यहाँका नदीमा बालुवा र मसिना ढुंगा बगेर आउने समस्या छ। यसले टर्बानको क्षमतालाई ह्रास गरिरहेको छ।’

    २० मेघावाट क्षमताको मोदीमा गरिएको एक अध्ययनले प्रतिसेकेन्ड २८ हजार लिटर पानी फिल्टर गर्दा बालुवाका कणदेखि ०.२ मिलिमिटरका ढुंगा प्रशस्तै जम्मा भएको प्रधानले बताए। ‘झन अहिले त जलवायु परिवर्तनले समेत खोलाको अवस्थालाई फेरिदियो। यसले समेत टर्बाइनको आयुलाई छोट्याइरहेको छ,’ उनले भने।

    स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का उपाध्यक्ष कुमार पाण्डे पनि हाल प्रयोगमा आइरहेका फ्रान्सिस टर्बाइनहरुको आयु ३० देखि ५० वर्षसम्म भनिए तापनि नेपालका खोलाहरुको अवस्थाका कारण यसको क्षमतामा क्रमशः ह्रास आइरहेको बताउँछन्। ‘टर्बाइन एक पटकमात्र निर्माण हुन्छ। तर यसको मर्मत सम्भार नियमित जरुरी हुन्छ,’ पाण्डेले भने, ‘त्यसका लागि उद्योग र एकेडेमिया एक भएर जान सकेमा प्रवर्द्धकहरुको ठूलो समस्या समाधान हुने थियो।’

    केयुमा रहेको टर्बाइन टेस्टिङ ल्याबलाई नेपालको जलविद्युत् विकासको उत्कृष्ट केन्द्र (सेन्टर अफ एक्सलेन्स) बनाउने प्रस्तावमा उनको सुझाव थियो, ‘अनुसन्धान र विकासमा सरकारले नै सहयोग गर्नुपर्ने हो। यसका लागि सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले टर्बाइनको क्षमता (इफिसिएन्सी) जाँच गर्दै भेरिफाई गर्नका लागि टर्बाइन टेस्टिङ गर्ने नीति बनाउनु पर्छ। नयाँ आउने योजनाको पनि तेस्रो पक्ष टेस्ट केयुमा गर्न सकिन्छ,’ पाण्डेले थपे।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा प्राधिकरण र निजी क्षेत्रबाट जलविद्युत्का नयाँ–नयाँ योजना बन्ने क्रममा रहेकाले टर्बाइन उत्पादन उद्योगको भविष्य रहेको बताए। ‘नयाँ टर्बाइन बनाउनेमा हामीले ठूला देशका उत्पादकसँग प्रतिस्पर्धा गर्न अल्लि गाह्रो होला। तर, टेस्टिङ, रिपेयर एण्ड मेन्टिनेन्समा राम्रो व्यापार गर्न सक्छौं। यसका लागि उद्योग, प्रवर्द्धक र विश्वविद्यालयवीच सहकार्य गर्न सकिन्छ’, घिसिङले सुझाए।

    नेपालको जलविद्युत् विकासक्रमलाई मद्दत गर्नका लागि २० वर्षअघिबाट केयुमा टर्बाइन टेस्टिङ ल्याब स्थापना भएर हालसम्म टेस्टिङ र मर्मतको काम हुँदै आएको भएपनि टर्बाइनको उत्पादन गर्न सम्भव भएको केयुका रजिष्ट्रार प्राध्यापक भोला थापाको भनाइ छ।

    ‘दुई मेघावाटको फ्रान्सिस टर्बाइन बनाउन सम्भव भइसकेको छ। ५ मेघावाटलाई युनिटहरुमा बनाएर सक्छौं। यसैले पनि विद्युत् प्राधिकरणसँग पिपिए गरिसकेका योजनाहरुको आवश्यकताको ६० प्रतिशत टर्बाइन यहीँ केयुमा बनाउन सक्ने क्षमता विकास गरेका छौं। नेपालकै नदीमा आधारित भएर बनाइने टर्बाइनमा आयातितमा झैं उत्पादनमा ह्रास आउने सम्भावना रहँदैन,’ थापाले दाबी गरे।

    स्रोत: नागरिक