चाकुखोलाको परीक्षण उत्पादन सुरु

    1191

    ११ असोज –  सिन्धुपाल्चोकको चाकुखोलामा निर्माणाधीन चाकुखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । तीन वर्ष अघि निर्माण सुरु भएका आयोजनाको तीन दिनअघिदेखि परीक्षण उत्पादन सुरु भएको हो ।

    Chaku Khola
    Chaku Khola at Arniko Highway

    चाकु खोलामा लासिङ बुद्ध पावर नेपाल प्रालिले मध्यचाकु र तल्लो चाकुको निर्माण गरेका हुन् । १.८ मेगावाटको मध्यचाकुको परीक्षण सुरु भएको छ । अहिले सिभिल निर्माणको परीक्षण भैरहेको छ । केही दिनमा इलेक्ट्रोमेकानिकलको परीक्षण हुने र १० दिनजति प्रसारण लाइनको परीक्षणपछि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।
    आयोजनाको विद्युत २३ किलोमिटर प्रसारण लाइनबाट लामोसाँघुमा रहेको नेपाल विद्युत प्राधिकरणको सव स्टेसनमा जोडिनेछ । आयोजनाको ग्रस हेड ४७ मिटर र पेनस्टक पाइप ४२० मिटर, बालुवा थिग्र्याउने पोखरी ६० मिटर रहेको आयोजना प्रमुख गोपाल न्युरेले जानकारी दिए ।
    दुवै आयोजनामा नबिल बैंकको नेतृत्वमा माछापुच्छ«े बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकले ऋण लगानी गरेका छन् । मध्यचाकुमा २२ करोड ६४ लाख र तल्लो चाकुमा २५ करोड अनुमानित लागत रहेको आयोजना प्रमुख न्युरेले बताए ।
    मध्यचाकुको पावर हाउसबाट निस्केको पानीलाई टेलरेसबाट खोलामा जान नदिई पुनः केही तल अर्को आयोजना निर्माण गरेर तल्लो चाकुबाट विद्युत् उत्पादन हुनेछ । तल्लो चाकुको क्षमता १.७ मेगावाट छ ।
    मध्यचाकुको नेपाल विद्युत् प्राधिकरणसँग २०६६ फागुनमा विद्युत् खरिद सम्झौता गरी २०६७ पुससम्म विद्युत् उत्पादन गर्ने सम्झौता गरे तापनि २०६७ चैतमा मात्र विद्युत विकास विभागबाट विद्युत् उत्पादन अनुमति पाएको थियो । तल्लो चाकुको २०६३ कात्तिकमा सम्झौता गरी २०६५ असोजसम्म विद्युत् उत्पादन गर्ने सम्झौता प्राधिकरणसँग गरे तापनि २०६५ भदौमा मात्र विद्युत विकास विभागले उत्पादन अनुमति दिएको थियो । तल्लो चाकुको सिभिल निर्माणको काम ७० प्रतिशत पूरा भएको उनले बताए । दुवै आयोजना सिन्धुपाल्चोकको मार्मिङ गाविसमा पर्छ ।
    साही खोलामा १.५ मेगावाटको चाकु खोला आयोजनाको पनि शतप्रतिशत क्षमता विस्तार गरेको छ । एलान्स पावर कम्पनीले गरेको काम अन्तिम चरणमा पुगेको छ । चाकु खोलामै अर्को २२.२३ मेगावाटको अपर चाकु ‘ए’ ले समेत विद्युत विकास विभागले उत्पादन अनुमति पाइसकेको छ । शिभाश्री हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको आयोजनालाई विभागले गत फागुनमा उत्पादन अनुमति दिएको हो । नेपाल विद्युत प्राधिकरणसँग दुई वर्षअघि पीपए गरेको आयोजना २०७१ वैशाखसम्म पूरा गर्ने लक्ष्य राखिएको छ ।

    प्रस्तुति: कारोबार