विद्युत् उत्पादन हुन्छ, वितरण हुँदैन

1288

धनगढी — सुदूरपश्चिम ‘बत्तीमुनिको अँध्यारो’ जस्तै भएको छ । यो क्षेत्रमा प्रदेशलाई पुग्ने बिजुली उत्पादन भए पनि ६० प्रतिशत जनसंख्या भने अझै अँध्यारोमै बस्न बाध्य छ । प्रदेशमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि स्थानीयस्तरमा वितरण नगरिएको हो ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाअन्तर्गत पर्ने चमेलिया जलविद्युत् आयोजनाको पावर हाउस ।

सरकारी लगानीमा चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएपछि राष्ट्रिय प्रसारण लाइनमा ३० मेगावाट विद्युत् आपूर्ति भएको छ । निजी क्षेत्रबाट दार्चुलाको अपि हाइड्रो पावरबाट ८ र हालै सम्पन्न डोटीको कपाडीगाडबाट ३ दशमलव ३ गरी ४१ दशमलव ३ मेगावाट बिजुली उत्पादन सुरु भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

भारतको टनकपुरबाट आयातित ३५ मेगावाट बिजुली आफ्नै भागमा जोडदा सुदूरपश्चिमले आफूलाईपुग्ने जति विद्युत् राष्ट्रिय प्रसारण लाइनलाई दिँदै आएको छ । सुदूरपश्चिममा माग भएको ५८ मेगावाट बिजली मात्रै हो । त्यति उत्पादनले २४ घण्टा नियमित उपयोग गर्दा पनि पुग्छ ।

‘हाल सुदूरपश्चिममा ४० प्रतिशतले मात्रै बिजुलीको सुविधा पाएका छन्,’ विद्युत् प्राधिकरणका क्षेत्रीय प्रमुख सतीश कर्णले भने, ‘४ वर्षभित्र शतप्रतिशतसम्म विद्युत् सेवा प्रदान गर्ने गरी काम भइरहेको छ ।’ जिल्लाका विभिन्न ठाउँका रहेका साना जलविद्युत् आयोजनाबाट हुने १ मेगावाट जति बिजुली थप्दा सुदूरपश्चिमबाट अहिले ४२ दशमलव ३ मेगावाट उत्पादन भइरहेको छ ।

त्यो स्थानीयस्तरमै खपत हुने विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कैलाशखोला अछाममा ०.४, दार्चुलाको डुम्री सार्वजनिक जलविद्युत्बाट ०.३, र बैतडीको सुर्नाया गाडबाट ०.२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यस्तै सार्वजनिक जलविद्युत् आयोजना बझाङ र बाजुराबाट पनि ०.२/०.२ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

क्षेत्रीय कार्यालयका प्रमुख कर्णले सुदूरपश्चिममा निकट भविष्यमै थप ७३ दशमलव ४९ मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिए । बझाङको कालंगागाड जलविद्युत् आयोजनाबाट १५.३, माथिल्लो कालंगागाड आयोजनाबाट ३८.४६, माथिल्लो सानोगाडबाट १०.७ अपर नौगाड दार्चुलाबाट ८ र जिउलीगाडमा एक मेगावाट विद्युत् उत्पादनको चरणमा छ । त्यहाँबाट उत्पादित विद्युत् लैजाने हाइटेन्सन लाइनमुनिका बस्ती र घरमा बिजुली कहिले बल्ला ? त्यसको जानकारी भने प्राधिकरणले दिएको छैन ।

कैलाली र कञ्चनपुरमा मात्रै ८० प्रतिशत घरमा विद्युतीकरण भएको छ । पहाडी जिल्लाका सदरमुकाममा बल्ल राष्ट्रिय प्रसारण लाइन पुग्दै छ । मंगलबार मात्रै दार्चुलामा ३३ केभी राष्ट्रिय प्रसारण लाइनबाट बत्ती पुगेको छ । यसअघि त्यहाँ भारतबाट आयतित बिजुली बल्थ्यो । प्राधिकरणले मासिक २५ लाख तिरेर भारतबाट विद्युत् खरिद गरिरहेको थियो ।

बाजुरा सदरमुकाममा अझै राष्ट्रिय प्रसारणको बिजुली पुगेको छैन । स्थानीय खोलाबाट उत्पादन गरिएको ०.२ मेगावाट क्षमताको सार्वजनिक जलविद्युत् आयोजनाबाट बिजुली पुगेको छ । बझाङ सदरमुकाम चैनपुरमा पनि प्राधिकरणले गएको तिहारमा राष्ट्रिय प्रसारण लाइनबाट बत्ती दिन दिएको थियो । विद्युत् प्राधिकरणको एक तथ्यांकअनुसार ०६८ को जनगणनाअनुसार सुदूरपश्चिममा ५ लाख ८० हजार घरधुरी बसोबास छ ।

त्यसमध्ये गत चैतसम्ममा २ लाख २६ हजार ६१९ घरधुरीमा बत्ती पुगेको छ । प्राधिकरण प्रमुख कर्णले हालसम्म राष्ट्रिय प्रसारण लाइनको पहुँच नपुगेका ६ नगरपालिका र २५ गाउँपालिकामा विद्युत् सेवा विस्तार गर्ने गरी काम भइरहेको बताए । उनकाअनुसार २८ नगरपालिका र २९ गाउँपालिकाको सदरमुकामसम्म राष्ट्रिय प्रसारण लाइन पुगिसकेको छ ।
-कान्तिपुर