सिनो हाइड्रोले कालीगण्डकी अपर बनाउने

    1336

    माथिल्लो मस्र्याङ्दी ‘ए’को २५ मेगावाट सोमबारबाट राष्ट्रिय प्रसारणमा जोडिने 

    ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना निर्माण गरेको चिनियाँ कम्पनी सिनो हाइड्रो रिसोर्सेसले ७२ मेगावाटको कालीगण्डकी अपर आयोजना बनाउने भएको छ ।

    नेपालको जलविद्युत् विकासका लागि निरन्तरता दिन अब कालीगण्डकी अपरमा लगानी गर्न लागिएको सिनो हाइड्रोको मातृ कम्पनी पावर चाइना रिसोर्सेसका प्रेसिडेन्ट सङ युमिङले बताए । ‘नेपालको हितका लागि अब मस्र्याङ्दीपछि कालीगण्डकी अपर बनाउन लागेका छौँ,’ उनले आइतबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा भने । आयोजना ९२ प्रतिशत सिनो हाइड्रो र ८ प्रतिशत नेपाली लगानीकर्ताको लगानीमा निर्माण गर्न लागिएको हो ।

    सरकारले आयोजनामा करिब २२ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत गरिसकेको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)को वार्ता चलिरहेको आयोजनाले जनाएको छ । आयोजनाले उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स)का लागि ०७० फागुनमा विद्युत् विकास विभागमा निवेदन दिएको थियो ।

    जग्गाप्राप्ति मुख्य समस्या

    जलविद्युत् आयोजना निर्माणका लागि जग्गाप्राप्ति मुख्य समस्या रहेको प्रेसिडेन्ट सङ युमिङले अनुभव सुनाए । ‘जग्गाप्राप्ति र कामदारका लागि भिसा लिन ज्यादै कठिन रहेछ,’ उनले भने, ‘निर्माणमा स्थानीयको सहयोग भने पाएका छौँ ।’ भूकम्प र नाकाबन्दीका कारण माथिल्लो मस्र्याङ्दी एको निर्माणमा १० महिना ढिलाइ भएको र लागत ८ प्रतिशत वृद्धि भएको उनले बताए । ‘समय, लागत, सुरक्षा र गुणस्तरीय नियन्त्रण कम्पनीका प्राथमिकता हुन्,’ उनले भने, ‘यसले गर्दा नै आयोजना छिटो निर्माण गर्न सफल भयौँ ।’ प्रेसिडेन्टले यस्तो बताइरहँदा सिनो हाइड्रोले ठेक्का लिएको १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना भने अलपत्र पारिरहेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीको ठेकेदार पनि सिनो हाइड्रो नै हो ।

    २५ मेगावाट विद्युत् उत्पादन सुरु

    सिनो हाइड्रो आफैँले प्रवद्र्धन गरेको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाको २५ मेगावाट विद्युत् सोमबार व्यापारिक रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । कम्पनीले ४५ महिनामा ५० मेगावाटको आयोजना निर्माण गरेको हो । आयोजनामा सिनो हाइड्रोको ९० प्रतिशत र नेपाली लगानीकर्ताको १० प्रतिशत लगानीमा निर्माण भएको हो । चिनियाँ एक्जिम बैंकबाट ऋण लिएर आयोजनाको निर्माण गरिएको हो ।

    स्रोत :नयाँ पत्रिका