मुख्य अजेन्डा पञ्चेश्वर र पश्चिम सेती

    1322

    धनगढी- प्रदेश नम्बर ७ का सबै निर्वाचन क्षेत्रका उम्मेदवारले पञ्चेश्वर जलविद्युत् परियोजना र पश्चिम सेती जलविद्युत् परियोजना निर्माणलाई प्रमुख चुनावी अजेन्डा बनाएका छन् । यी दुई परियोजना निर्माण भएमा प्रदेश नम्बर ७ को आर्थिक उन्नति, समृद्धि र मुहार फेरिने विश्वास उम्मेदवारहरूको छ ।

    यहाँका मतदाताको चाहना पनि करिब डेढ दशकदेखि बन्न नसकेका यी आयोजना छिट्टै सञ्चालनमा आउन सकून् भन्ने छ । ‘गरिबी र बेरोजगारी यस क्षेत्रको मुख्य समस्या हुन्,’ बझाङ तलकोटका बासिन्दा तथा नेपाल बार एसोसिएसनका पूर्वकेन्द्रीय उपाध्यक्ष रणबहादुर सिंह भन्छन्, ‘यहाँ अहिले पनि गाँस, बास र कपास पाउन नसक्ने बासिन्दा छन् ।’
    जनताका समस्या पूरा हुन जलविद्युत् आयोजना सञ्चालन हुनुपर्ने उनको धारणा छ । ‘गरिबी र बेरोजगारी अन्त्य गरेर समृद्धि र विकासका लागि पश्चिम सेती आयोजना र पञ्चेश्वर जलविद्युत् आयोजना यस क्षेत्रका मुख्य अजेन्डा हुन्,’ उनले भने, ‘त्यत्तिकै बगिरहेका नदीको पानी सदुपयोग गरेर जलविद्युत् आयोजना निर्माण गरेमा यहाँको मुहार फेरिनेछ ।’
    बझाङ–बाजुराका विकट र दुर्गम बस्तीमा भोकमरी समस्या रहेको उनी बताउँछन् । ‘बझाङको विकट बस्ती धुलीकाँडा, बाजुराका बिछ्या, रुगिनालगायतमा अहिले पनि भोकमरी छ,’ उनले भने ।
    चीनसँग जोड्ने ताक्लाकोट नाका खोल्नुपर्ने माग यहाँका मतदाताको छ । ‘यो नाका खुलेमा भोकमरीको समस्या रहेको धुलीकाडामा सडक पुग्नेछ,’ उनले भने । सबै क्षेत्रबाट उत्तरी नाका खोल्ने भनिए पनि प्रदेश नम्बर ७ को एक नाका पनि उल्लेख नगरेर राज्यले यस क्षेत्रलाई अन्याय गरेको उनको भनाइ छ ।
    गरिबी र बेरोजगारीका कारण पहाडि परेका यहाँका हजारांै युवा भारतका विभिन्न सहरमा सस्तो श्रममा मजदुरी गरिरहेका छन् । चुनावका बेला गाउँमा युवा नभएर महिला र वृद्धवृद्धा मात्र छन् । गाउँमा स्वास्थ्य, शिक्षालगायतका विभिन्न समस्या छन् ।
    ‘जलविद्युत आयोजना मात्र सञ्चालनमा भएमा दुःख, अभाव र समस्या समाधान हुनेछन्,’ डडेल्धुरा ४ सिरोडका रतन साउद भन्छन् । दुई दशकदेखि बन्ने हल्ला चलाइएको ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती परियोजना अहिलेसम्म नबन्दा डडेल्धुरा, डोटी, बझाङ र बैतडी जिल्लाका करिब ४ हजार परिवार विकासबाट वञ्चित रहेको उनी बताउँछन् ।
    ‘४ जिल्लासँग प्रत्यक्ष रुपमा जोडिएको पश्चिम सेती आयोजना हाम्रो प्रमुख अजेन्डा हो’, उनले भने, ‘यो आयोजना बनेमा यस क्षेत्रको जीवनस्तर निकै माथि उठ्नेछ ।’
    यस क्षेत्रका मतदाताले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि यही अजेन्डा अघि राखेका छन् । पश्चिम सेती आयोजना निर्माण गर्न सुरुमा स्मेक कम्पनीले सर्भेलगायतका काम थालेको थियो । स्मेक कम्पनीले हात झिकेपछि चिनियाँ कम्पनी गर्जेजले पश्चिम सेती आयोजना बनाउन जिम्मा लिएको छ । तर कामले गति लिन नसकेको स्थानीयको गुनासो छ ।
    बैतडी पाटन नगरपालिका ७ का जनकराज पाण्डेय आफूहरूको प्रमुख माग ६ हजार ४ सय ८० मेगावाट क्षमताको पञ्चेश्वर जलविद्युत् आयोजना निर्माण गर्नुपर्ने रहेको बताउँछन् । ‘यहाँको विकासका लागि मुख्य अजेन्डा पञ्चेश्वर परियोजना हो,’ उनले भने । पञ्चेश्वर परियोजनाले प्रदेश ७ मात्र होइन देशकै मुहार बदलिने उनको भनाइ छ ।
    यसैगरी पर्यटन, शिक्षा, स्वास्थ्य पनि यहाँका अन्य अजेन्डा हुन् । पर्यटन प्रवद्र्धनले पनि याहाँको आर्थिक उन्नति हुने उनी बताउँछन् । नेपाल र भारतको सीमा नदी महाकालीमा बन्ने पञ्चेश्वर परियोजना अझै अघि बढ्न सकेको छैन । ‘हामी जनताको मुख्य माग पञ्चेश्वर परियोजना बनाइनुपर्छ भन्ने हो,’ पञ्चेश्वर गाउँपालिका–२ का मोहनबहादुर चन्दले भने, ‘चुनावका बेला मेरो पार्टी सरकारमा गएमा यो आयोजना बन्छ भनेर आश्वासन दिन कुनै उम्मेदवारले छोडेका छैनन् ।’
    ऐश्वर्य बहुमुखी क्याम्पस कैलालीका प्रमुख धर्मदेव भट्ट प्रदेश नम्बर ७ का जनताको अपेक्षा पश्चिम सेती परियोजना र पञ्चेश्वर परियोजना सञ्चालनमा आऊन् भन्ने रहेको बताउँछन् । ‘जलविद्युत् आयोजना सञ्चालन होस् भन्ने प्रदेश ७ का सबै जनताको अपेक्षा छ,’ उनले भने ।
    किसानलाई विभिन्न साधनस्रोतको अभावलगायतका कृषिसँग जोडिएका समस्या, औद्योगिक क्षेत्र, मेडिकल कलेज सञ्चालन, व्यवस्थित सडक, खानेपानी यहाँका अन्य मुद्दा रहेको उनी बताउँछन् । विद्युत् महसुल सहज रूपमा तिर्न सक्नेगरी वडामा काउन्टर हुनुपर्ने, नदीनालामा भएका अतिक्रमण हटाएर व्यवस्थित बनाइनुपर्ने उनको भनाइ छ ।
    यसैगरी नदी कटान नियन्त्रण, गौरीफन्टा नाकाको स्तरोन्नति, विमानस्थलको स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइनुपर्ने पनि यहाँका माग छन् । गौरीफन्टा नाका अन्तर्राष्ट्रिय बनाइनुपर्ने र नदीकटानबाट  घरखेत बगिइरहेकाले नियन्त्रण हुनुपर्ने माग  धनगढी ३ का परशु चौधरीको छ । कैलालीमा मोहना नदी, कान्द्रा नदी, दोदा नदी लगायतले किसानको खेतीयोज्य जमिन कटान गरेको छ ।
    धनगढी दिपायल फास्ट ट्र्याक निर्माण पनि यहाँका मतदाताको अजेन्डा रहेको छ । अहिले १ सय ९२ किलोमिटर यात्रा गरेर पुगिने दिपायलमा यो सडक बनेमा ९२ किलोमिटरमै पुगिनेछ ।
    सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. मुकुन्दप्रसाद कलौनी प्रदेश नम्बर ७ मा पञ्चेश्वर जलविद्युत् परियोजना, पश्चिम सेती परियोजना, विश्वविद्यालय, मेडिकल कलेज, सुविधासम्पन्न अस्पताल, औद्योगिक क्षेत्र, कृषि, पर्यटन मुख्य अजेन्डा भएको बताए । चुनावका बेला मतदाताका चाहना र मागलाई सबै दलका उम्मेदवारले अजेन्डा बनाउने र चुनाव जितेर गएपछि नफर्कने उनको भनाइ छ । ‘राजनीतिक दलका नेता सत्तामुखी भएर मतदातासमक्ष बोलेका वाचा पूरा गर्दैनन्’, उनले भने, ‘पञ्चेश्वर, पश्चिम सेती, मेडिकल कलेजलगायतका मुख्य अजेन्डा प्रत्येक निर्वाचनमा चर्चा पाउँछन, तर काम हुँदैन ।’
    प्रदेश नम्बर ७ मा सुदूरपश्चिम विश्वविद्यालय स्थापना भए पनि संरचना निर्माण, पदाधिकारी नियुक्त, गुणस्तरीयताका हिसाबले अधुरो छ । मेडिकल कलेज, अस्पताल, विद्युत्, सडक, खानेपानीलगायतका जनताका माग पूरा हुन नसकेको उनी बताउँछन् ।
    प्रदेश नम्बर ७ मा निर्वाचनमा रहेका सबै दलका उम्मेदवारले यहाँका मतदाताले चाहना राखेका मागलाई नै मुख्य अजेन्डा बनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री पत्नी आरजु, एमालेका उपाध्यक्ष भीम रावल, माओवादीका नेता लेखराज भट्टलगायतले यी मुख्य अजेन्डा मतदातासमक्ष उठाएका छन् ।

     

    स्रोत : नागरिक