विद्युत् प्राधिकरणको कुशल व्यवस्थापन, ४१० मेगावाट अपुग हुँदा पनि लोडसेडिङमुक्त राख्न सफल

    2227

    काठमाडौं । विद्युत आपुर्तिमा कुशल व्यवस्थापन गरेका कारण प्रणालीमा ४१० मेगावाट बिजुली कम हुँदा पनि काठमाडौंसहित केही शहरहरुलाई लोडसेडिङमुक्त कायम राखेको छ ।

    अघिल्ला वर्ष प्रणालीमा यही हाराहारीमा बिजुली आपूर्ति कम हुँदा मुलकभर दैनिक ५ घण्टा बढी लोडसेडिङ हुने गरेको थियो । गत असार, साउन र भदौमा दैनिक ७ घण्टासम्म लोडसेडिङ भएको थियो ।

    सुख्खायाम हुँदा पनि गत तिहारदेखि काठमाडौं उपत्यका लोडसेडिङमुक्त छ । यस्तै उपत्यका बाहिर बढीमा दैनिक २ घण्टा मात्र लोडसेडिङ भएको विद्युत प्राधिकरणले जनाएको छ । निरन्तर  बिजुली आपूर्ति भएपछि बिजुलीको माग पनि घटेको विद्युत प्राधिकरणले जनाएको छ ।  निरन्तर बिजुली आपूर्ति हुन थालेपछि माग घटेको प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठ बताउँछन् । निरन्तर बिजुली अपूर्ति भएपछि इन्भर्टरका लागि ब्याट्रि चार्ज हुन छाडेको छ ।

    विद्युत प्राधिकरणका अनुसार बिजुलीको माग साँझ र बिहान गरी १ हजार २८६ मेगावाट छ  । दैनिक २ घण्टा पिक आवरमा यो परिमाणमा बिजुली माग हुने गरेको छ । अन्य समयमा भने माग कम छ ।

    भारतबाट समेत गरी ८७६ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । यसमध्ये भारतबाट मात्र २७७ मेगावाट आपूर्ति भएको विद्युत प्राधिकरणले जनाएको छ । तिहारदेखि उपत्यकामा लोडसेडिङ भएको छैन भने बाहिर नगन्य मात्रामा लोडसेडिङ भइरहेको छ ।
    नदीमा जलस्तर घटेको भन्दै अघिल्ला वर्ष विद्युत प्राधिरकणले लोडसेडिङ बढाउने गरेको थियो । यो वर्ष लोडसेडिङको तालिका ननिकाल्ने तयारीमा विद्युत् प्राधिकरण छ ।

    यसैबीच सरकारले साँझ र बिहान बढी बिजुली खपत हुने उपकरण प्रयोग नगर्न अनुरोध गरेको छ । बिहान ५ बजेदेखि ८ बजेसम्म तथा बेलुका साढै ५ देखि राती साढे ८ बजेसम्म विद्युत बढी खपत गर्ने उपकरण प्रयोग नगर्न भनेको छ ।
    विद्युत प्राधिकरणका अनुसार हाल विद्युतको माग १ हजार २८६ मेगावाट तथा आपूर्ति भारतबाट समेत गरी ८७६ मेगावाट छ । जसअनुसार विद्युत प्राधिकरणका आयोजनाबाट ३६७, स्वतन्त्र ऊर्जा उत्पादकबाट २३२ र भारतबाट २७७ मेगावाट बिजुली आयात भएको छ ।

    Source: Baahrakhari