विद्युत् कटौतीले उपभोक्ता आजित

    1675

    इलाम- बर्सेनि करोडौं रुपैयाँको नाफा देखाएर ‘गर्व’ गर्ने नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारणका सामान्य अवरोध नै हटाउन नसक्दा उपभोक्ता भने सास्ती खेप्न बाध्य छन्। लोडसेडिङको तालिका नभएको जिल्लामा झ्याप्प-झ्याप्प बिजुली काटिँदा उद्योग कलकारखानाका मेसिनमा असर परेर आइलाग्ने आर्थिक भार चाहिँ अहिलेसम्म ‘बेहिसाब’ छ।

    चैत–वैशाख हरियो चियाको पहिलो टिपाइ (फस्ट फ्लस) र प्रशोधन हुने सिजन हो। यतिबेलाको चिया वर्षकै सबैभन्दा गुणस्तरीय मानिन्छ। तयारी चिया गुणस्तरीय बनाउन टिपाइदेखि प्रशोधन र प्याकिङसम्म ध्यान दिनुपर्छ। तर, जब हरियोपत्ती उद्योगमा प्रशोधनका लागि पुग्छ, त्यहीबेला पटक–पटक बिजुली कटौती हुन थालेपछि लाखौं रुपैयाँका मेसिनमा खराबी आउने त छँदैछ, चियामा गुणस्तर कायम गर्न प्रत्यक्ष असर पुगिरहेको छ। ठूला उद्योग जेनेरेटर र ‘पावर ब्याकअप’ले पनि चल्न नसक्ने भएकाले विद्युत् नै अपरिहार्य हुने गरेको उद्योगका प्राविधिक बताउँछन्।

    ‘हरियो चिया प्रशोधनमा हालेपछि बिजुली काटियो भने चियापत्तीको गुणस्तर ह्वात्तै घट्छ,’ सूर्याेदय नगरपालिकास्थित रम्फोकमा रहेको माउन्टेन अर्गानिक टी फ्याक्ट्रीका कर्मचारी जीवन गौतमले भने, ‘लाखौं रुपैयाँका मेसिनमा एकैपटक खराबी आउँदा मर्मत खर्च उत्ति नै लाग्छ।’ उनले पटक–पटक विद्युत् कटौती हुँदा चियाको गुणस्तरमै असर पुगिरहेेको बताए। ‘एउटा सानो चिया उद्योगका लागि पावर ब्याकअप किन्नुपर्‍यो भने कम्तीमा पाँच लाख रुपैयाँ लाग्छ,’ उनले भने, ‘विद्युत् कटौतीले पावर ब्याकअप र मेसिनमै असर गरेपछिको खर्च हिसाब नै हुँदैन।’ उनले दिनमा दर्जनौंपटक यसरी बिजुली कटौतीले आजित बनाएको बताए।

    समालबुङस्थित गणेश–हिमाल चिया प्रशोधन प्रालिका कर्मचारी हेमचन्द्र चापागाईंले चिया प्रशोधन गर्दा रोलिङ, ड्रायर, हिटर र सर्टिङ मेसिन चलाउन बिजुली चाहिने बताए। ‘बिजुली नहुँदा चिया प्रशोधनमा साविकभन्दा तेब्बर खर्च हुन्छ,’ उनले भने, ‘भोल्टेज नमिलेर मेसिन खराब हुने, चियाको गुणस्तर बिग्रिने त छँदैछ, जनशक्ति र डिजेलजस्ता ऊर्जा तेब्बर पार्नुपर्छ।’

    सुन्दरपानीस्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईंले पूर्व क्षेत्रका ठूला र साना चार दर्जन चिया उद्योग विद्युत् कटौतीले हैरान भइसकेको बताए। ‘चियाको मुख्य सिजनमा बिजुलीले धोका दिएकै कारण उद्योगहरूको चियाको गुणस्तरमा असर पुगेको छ,’ हिमालयन अर्थाेडक्स चिया उत्पादक संघ (होट्पा)का पूर्वअध्यक्षसमेत रहेका चापागाईंले भने, ‘चलिरहेको मेसिन एक्कासि रोकिँदा मेसिन र घान हालेको चियामा गम्भीर क्षति हुन्छ।’ उनले पटक–पटक यसरी विद्युत् कटौती हुँदा उद्योगका लाखौं रूपैयाँका सामान नष्ट भइरहेको जनाए। बिजुली नियमित गर्न पटक–पटक झक्झक्याउँदा पनि समस्या जस्ताको तस्तै रहेको उनको गुनासो छ।

    स्थानीयस्तरमा सञ्चालित एफएम रेडियो, सरकारी, गैरसरकारी कार्यालय, विद्युतीय उपकरणका माध्यमले सेवा दिन खुलेका पसल र व्यक्तिसमेत साँझ–बिहान, दिउँसो बिजुली कटौती हुने टुंगो नहुँदा वाक्कदिक्क भएको बताउँछन्। रम्फोकस्थित रेडियो पिक्कलका प्राविधिक जय राईले बिजुली कटौती हुँदा कहिलेकाहीं चार दिनसम्म रेडियोको प्रसारण बन्द गर्नुपरेको समेत सुनाए। ‘बिजुलीको भोल्टेज अनियमित आउँदा–जाँदा रेडियोमा अहिलेसम्म लाखौं मूल्यका सामान नष्ट भइसकेका छन्,’ उनले भने, ‘विद्युत् नियमित गराउन प्राधिकरणसँग निकैपटक आग्रह गरे पनि केही लागेन।’

    फिक्कल, तीनघरे र हर्कटे बजारका व्यवसायी मात्र होइन, गाउँ–गाउँमा कम्प्युटर, मोबाइल र अन्य विद्युतीय सामान चलाउन पनि विद्युत् समस्या भइरहेको छ। पञ्चकन्या गाउँका लेखक केदार शर्माले विद्युत् कटौतीले कतिपय महŒवपूर्ण काम गर्नै नपाएको बताए। ‘विद्युत् प्राधिकरण करोडौं नाफामा रमाउँछ तर सेवाग्राहीलाई भने हावा–हुन्डरी आउँदा र पानी पर्दासमेत बिजुली काटेर दुःख दिइरहेको छ,’ उनले भने, ‘उपभोक्ताबाट महसुल लिएपछि उनीहरूलाई सहज सेवा दिनुपर्ने प्राधिकरण लापबाही गरेर हजारौंलाई दुःख दिइरहेको छ।’ उनले आफ्नै जिल्लामा आफूलाई पुगिवरी अरूलाईसमेत बाँड्न पुग्ने विद्युत् उत्पादन भएपनि स्थानीयले भने सधैं विद्युत् अभाव झेलिरहेको गुनासो गरे।

    आयोजना सञ्चालनका हिसाबले ४७.२ मेगावाट विद्युत् अहिले जिल्लाका खोलाहरूबाटै उत्पादन भइरहेको छ। हिउँदमा खोलामा पानी घटेर कम्तीमा एक तिहाई मात्रै उत्पादन हुँदा पनि जिल्लाको मागभन्दा झन्डै दोब्बर हुन्छ। प्राधिकरणको इलाम शाखाका अनुसार मेचीमा सय र इलाममा १० मेगावाट मात्रै विद्युत् खपत हुन्छ। तर, दुई दर्जनभन्दा बढी चिया उद्योेग रहेको जिल्लाको पूर्वी क्षेत्रका उपभोक्ता भने यहीबेला बारम्बारको विद्युत् कटौतीले आजित छन्। कुनै नियमित तालिका र पूर्वसूचनाबिना ५–१० मिनेटदेखि तीन–चार दिनसम्म विद्युत् कटौती हुन थालेपछि २० हजारभन्दा बढी ग्राहक र थप सेवाग्राही समस्यामा परेका हुन्। ‘आफैं विद्युत् उत्पादन गर्ने जिल्लामा विद्युत् अभाव गराउन नपाइने प्रावधान मिचेर प्राधिकरणबाट भइरहेको लापर्बाहीले उपभोक्तालाई निरास बनाएको छ,’ लेखक शर्माले भने।

    जिल्लाको पूर्वी क्षेत्र फिक्कलस्थित सब–स्टेसनबाट विद्युत् वितरण गरिएको छ। यहाँको तीन मेगाभोल्ट एम्पियर (एमभिए) को ट्रान्सफर्मरले माग धान्न नसकेपछि प्राधिकरणले प्रत्येक साँझ साढे ६ देखि साढे ७ बजेसम्म आधा–आधा घन्टा विद्युत् कटौती गरिरहेको जनाएको छ। सब–स्टेसन प्रमुख रंगवीर राईले फिडरमा खराबी आएकाले केही समयदेखि विद्युत् सेवामा असर पुगिरहेको बताए। उनले हावा–हुरी र पानी परेका बेला पनि प्राविधिक गडबढी आउने गरेकाले विद्युत् सञ्चालनमा समस्या हुने गरेको बताए। ‘हावा–हुरी आएका बेला र पानी पर्दा फिडरको डिस पिनमा करेन्ट लिकेज हुन्छ, अनि सर्ट हुन्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा विद्युत् बन्द नगर्दा क्षति बढी हुन्छ।’

    राईले फिडर मर्मत भइरहेको र ठूलो क्षमताको ट्रान्सफर्मर पनि आउनेक्रममा रहेको बताए। ‘अहिले ३ एमभिएले लोड नथामेर पिक आवरमा विद्युत् कटौती गर्नुपरेको छ,’ उनले भने, ‘६ एमभिएको ट्रान्सफर्मर अलि समयपछि आउँदैछ।’ सब–स्टेसनका अनुसार यो क्षेत्रमा विद्युत् जडान भएका २२ चिया उद्योग सञ्चालनमा छन्। प्रत्येक उद्योगमा ५० देखि सय किलो भोल्ट एम्पियर (केभिए) विद्युत् खपत हुने गरेको छ। यही ट्रान्सफर्मरको विद्युत् प्रयोग गर्ने उपभोक्ता २० हजार हाराहारी छन्। फिक्कल, कन्याम, समालबुङ, श्रीअन्तु, कोल्बुङ, पञ्चकन्या, शान्तिपुर, जिर्मले, लक्ष्मीपुर र नामसालिङ गाउँमा यहाँबाट विद्युत् वितरण गरिएको उनले बताए।

    स्रोत:नागरिक