दोर्दी करिडोरमा २२ अर्ब लगानी

    1234

    जलविद्युत्मा लगानीमैत्री वातावरण बनेसँगै पूर्वी लमजुङको दोर्दीखोला करिडोरमा जलविद्युत् निर्माणले तीव्रता पाउन थालेको छ । हालसम्म निर्माणको चरणमा रहेका र निर्माण भइसकेका आयोजनाहरूले यस करिडोरमा झन्डै २२ अर्ब लगानी गरिसकेका छन् ।

    दोर्दी करिडोरका चारवटा आयोजना र दोर्दी नजिकैको छ्याङ्दी खोलामा निर्माण सम्पन्न भइसकेको २ मेगावाट क्षमताको छ्याङ्दी खोला जलविद्युत् आयोजनाले हालसम्म यो करिडोरमा २२ अर्ब लगानी गरेको छ । यी ५ आयोजनासँग १ सय २० मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ ।

    ४ अर्ब रुपैयाँ लगानी हुने २५ मेगावाटको लिबर्टी इनर्जी कम्पनी लिले ०६९ मा पिपिए सम्पन्न गरेको थियो । अहिले आयोजनाको काम ५० प्रतिशत सकिएको निर्देशक राजेन्द्र वस्तीले बताए । आयोजना ०७५ मंसिरमा सक्ने लक्ष्यका साथ सुरु भएको आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा ९ बैंकले लगानी गरेका छन् । ग्रस हेड ३ सय २५ मिटर रहेको आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर निष्कासन गर्ने तयारी गरेको वस्तीले बताए ।

    त्यस्तै ८ अर्ब २९ करोडको स्वदेशी लगानीमा निर्माणको तयारीमा रहेको ५४ मेगावाटको सुपर दोर्दी–ख जलविद्युत् आयोजनाले पूर्वाधार निर्माण, सडक र विद्युतीकरणको काम गरिसकेको छ । ०७७ असारसम्म काम सक्ने लक्ष्यका साथ सुरु भएको आयोजना निर्माण चरणमा प्रवेश गरेको प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमले बताए । ०७१ सालमा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको सो आयोजनामा नेबिल बैंकको अगुवाइमा नौवटा बैंकहरूले लगानी गरेका छन् । पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रस हेड ६ सय ४० मिटर रहनेछ । वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने बताइएको छ ।

    २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएन) को ३६, स्थानीय सर्वसाधारणको ३० प्रतिशत र आइएमई गुप्रको ३४ प्रतिशत लगानी छ । ०६९ सालमा विद्युत् खरिद सम्झौता पिपिए भएको सो आयोजना ०७५ चैतसम्म सक्ने लक्ष्य रहेको आयोजनाका प्रवद्र्धक गुरुप्रसाद ढकालले बताए । जिल्लावासीलाई १० प्रतिशत र अन्यलाई २० प्रतिशत पब्लिक सेयर जारी गरिसकेको आयोजना ४ अर्ब २३ करोड लगानीमा निर्माण हुन लागेको हो ।

    यस्तै लमजुङ विद्युत् विकास कम्पनीले निर्माण गर्न लागेको १२ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजना पनि निर्माणको तयारीमा जुटेको छ । झन्डै २ अर्ब ३९ करोडको लागतमा निर्माण गरिने सो आयोजना ०७६ माघमा सक्ने लक्ष्य छ । आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा ९ बैंकसँग ऋण सम्झौता भइसकेको अध्यक्ष अनिलकुमार रुङटाले बताए । यस्तै दुई मेगावाट क्षमताको छ्याङ्दीले तोकेको समयमा काम सम्पन्न गरिसकेको छ । आफैँ ट्रान्समिसनलाइन बनाएर राष्ट्रिय प्रसारणलाइनमा जोडिसकेको सो आयोजनाले फेरि छ्याङ्दी खोलामा ४ मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजना बनाउने लक्ष्य लिएको छ ।

    ‘सडक, ट्रान्समिसनलाइन र सुरक्षाको समस्या’

    पूर्वी लमजुङको ढोडेनीको विकट क्षेत्र ताँजेमा पिपुल हाइड्रोपावरको प्रवद्र्धनमा बन्न लागेको ५४ मेगावाटको दोर्दी जलविद्युत् आयोजना ‘ख’मा पुग्न ठूलै जोखिम मोल्नुपर्छ । भिरको बाटोमा स–साना घुम्तीलाई पार गर्न ठूला मालबाहक साधनलाई निकै समस्या भएको लिबर्टी इनर्जी पावर कम्पनीका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । दोर्दी खोलामा एक वर्षमा सक्ने गरी निर्माण थालिएको पुल ७ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।

    पुल र गतिलो सडक नहुँदा निर्माणको चरणमा रहेका आयोजनाले सास्ती खेप्दै आएको उनले बताए । जलविद्युत्मा महत्वाकांक्षी लक्ष्यका साथ लागिपरेको सरकारले आफ्ना लक्ष्य र योजनालाई व्यवहारत कार्यान्वयन गर्न नसकेको पिपुल हाइड्रोपावरका प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतम बताउँछन् । उनी भन्छन्, ‘सरकारले नीतिमा मात्र ल्याएको छ, तर शान्ति सुरक्षाको बलियो प्रत्याभूत छैन, अहिलेसम्म ट्रान्समिसन लाइन बन्न सकेको छैन ।’ दोर्दी खोला जलविद्युत् आयोजनाका प्रवद्र्धक गुरुप्रसाद ढकाल पनि जलविद्युत् आयोजनाको प्रमुख समस्या ट्रान्समिसन लाइन नै भएको बताउँछन् ।

    विकासको आधार 

    लमजुङमा गरिएको सम्भाव्यता अध्ययनले स्थानीय  खोलाबाट २ हजार ५ सयदेखि ३ हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्ने क्षमता रहेको देखाएको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिँदा लमजुङले १० वर्षमा १ हजार विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको थियो । त्यसैलाई मध्यनजर गर्दै स्थानीय राजनीति दलहरू एकजुट हुँदै जलविद्युत्मा अवरोध नगर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । लक्ष्य पूरा भएमा जिल्लालाई एक वर्षमा १ अर्ब रोयल्टी प्राप्त हुने जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे बताउँछन् । लगानीमैत्री वातावरण भएमा १० वर्षमा १ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने मोडल इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष एवं नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल बताउँछन् ।

    स्रोत:नयाँपत्रीका