लोडसेडिङ घट्यो, इन्धन आयात घटेन

    1634

    काठमाडौंः देशभर लोडसेडिङ घटे पनि पेट्रोलियम पदार्थको आयात भने बढेको छ । मुलुक लोडसेडिङमुक्त भएपछि बर्सेनि १४ देखि १६ अर्बको डिजेल बचत हुने सरकारी दाबी रहे पनि नेपाल आयाल निगमको तथ्यांकले भने आयात झन् बढ्दै गएको देखाएको हो । निगमका प्रवक्ता सीताराम पोखेलले लोडसेडिङमा कमी आए पनि इन्धनको आयात बढ्दै गएको बताए ।

    “तथ्यांकले इन्धन आयात घटेको देखिँदैन, विकासका निर्माणका काममा इन्धन धेरै खपत भएकाले पनि बढेको हुनसक्छ,” उनले भने “भारतमा भन्दा नेपालमा इन्धनको मूल्य सस्तो हुँदा तस्करीबाट बाहिर जाने गरेकाले पनि आयात बढेको हुन सक्छ ।” निगमका अनुसार गत साउनमा ७४ हजार ३ सय किलोलिटर डिजेल आयात भएकोमा फागुनमा बढेर १ लाख १७ हजार किलोलिटर आयात भएको छ ।

    गत साउनमा २८ हजार ५ सय किलोलिटर पेट्रोल आयात भएकोमा फागुनमा आएर ३६ हजार ४ सय किलोलिटर आयात भएको छ । निगमका अनुसार चैतमा १ लाख ४५ हजार किलोलिटर डिजेल आयात भएकोमा वैशाखमा सामान्य घटेर १ लाख २८ हजार किलोलिटर आयात भएको छ ।

    सोही अवधिमा ३६ हजार ६ सय किलोलिटरबाट बढेर पेट्रोल ३८ हजार ७ सय किलोलिटर आयात भएको छ । जेठमा डिजेलको आयात बढेर १ लाख ३६ हजार किलोलिटर पुगेको छ । यस अवधिमा पेट्रोल आयात ३६ हजार किलोलिटर भएको छ । नेपालमा भएको कुल आयातको ७० प्रतिशत उपत्यकामा खपत हुन्छ भने बाँकी उपत्यका बाहिर हुने गरेको छ ।

    गत आर्थिक वर्ष ०७२/७३ मा ११ लाख २१ हजार ५ सय ६० किलोलिटर इन्धन आयात भएकोमा चालु आर्थिक वर्ष २०७३÷२०७४ को आठ महिनामा १० लाख ८१ हजार ७ सय २९ किलोलिटर आयात पुगेको छ ।

    अघिल्लो वर्ष भारतले गरेको नाकाबन्दीको कारणले इन्धन आयात घटेको थियो ।पूर्वसचिव पुरुषोत्तम ओझाले सवारीसाधनको प्रयोग बढ्दै गएकाले इन्धन आयात पनि बढेको बताए । “लोडसेडिङ घट्दा औद्यौगिक प्रयोजनमा खपत हुने डिजेल आयात घट्नुपर्ने देखिन्छ,” उनले भने, “आर्थिक वर्षको अन्तिममा आएर विकास निर्माणको कामले गति लिने भएकाले आयात बढेको देखिन्छ ।”

    नेपालमा मासिक सरदर ७५ देखि ८० हजार किलोलिटर डिजेल माग  छ । त्यस्तै  पेट्रोल मासिक २५ देखि ३० हजार किलोलिटर, हवाई इन्धन १२ देखि १५ हजार किलोलिटर र ग्यास २५ देखि ३० हजार टन माग छ । उपत्यकामा दैनिक चार सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेल खपत हुन्छ ।

    पेट्रोल भन्डारण क्षमता वृद्धि
    नेपाल आयल निगमले काठमाडौंको थानकोटमा पेट्रोलको भन्डारण क्षमता बढाएको छ । १ हजार ८ सय किलोलिटर पेट्रोल भन्डारण क्षमता रहेकोमा यसलाई बढाएर ६ हजार किलोलिटर पु¥याइएको हो ।

    पछिल्लो समय मट्टितेलको प्रयोग हुन छाडेपछि निगमले मट्टितेल राख्ने ट्यांकीलाई प्रतिस्थापन गरेर त्यसमा पेट्रोल भन्डारण गर्न थालेको छ । थानकोटमा डिजेलको भन्डारण क्षमता ८ हजार ४ सय किलोलिटर छ ।

    स्रोत:कारोबार