बूढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथको ट्र्याक यसै वर्ष खन्ने तयारी

    1179

    १३ कात्तिक, गोरखा । गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ ।

    आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजनाअन्तर्गत १०० किलोमिटर सडक निर्माण प्रक्रिया शुरु गर्न लागिएको जानकारी दिए ।

    आयोजनाको वरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिसकेको आयोजना प्रमुख कार्कीले बताए । उनले आउँदो पुसदेखि सडक निर्माणका लागि ठेक्का प्रक्रिया शुरु हुने जानकारी दिए ।

    ‘डीपीआर तयार भइसकेको छ, केही प्रक्रिया मिलाउन बाँकी रहेकाले ढिलाइ भएको हो, आउँदो पुसदेखि ठेक्का प्रक्रिया शुरु हुन्छ’, उनले भने ।

    प्रमुख कार्कीले गोरखातर्फ घ्याल्चोकको सिउरेनीटारबाट बोर्लाङको महादेवटारसम्मको १०० किलोमिटर सडकको डीपीआर बनाइएको जानकारी दिए । त्यस्तै धादिङतर्फ पनि चालु आवमा १०० किलोमिटर सडकको ट्र्याक खोल्ने तयारी रहेको उनले बताए ।

    उनका अनुसार अब गोरखातर्फ ६० र धादिङतर्फ २५ किमी सडकको डीपीआर बनाउन बाँकी छ । सडक निर्माणका लागि यो आर्थिक वर्ष सरकारले रु १२ करोड छुट्याएको छ । दुवै जिल्लामा रु ६/६ करोड खर्चेर ट्र्याक निर्माण अघि बढाउन लागिएको हो । बूढीगण्डकी आयोजनाको जलाशय करीब ५४ किमी फराकिलो हुनेछ । आयोजनाले चक्रपथ वरपर ३०० किलोमटिर रिङरोड बनाउने गरी डिपिआर तयार पारेको छ । रासस