नेपालगंजको विद्युत आपूर्ति सुधार्न कस्सिए वर्षमान र कुलमान

    2420
    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपालगंज क्षेत्रमा भइरहेको विद्युत आपूर्तिको समस्या समाधान गर्न पहल सुरु गरेको छ । प्राधिकरणले विद्युत आपूर्तिलाई सुधार गरी विश्वसनीय बनाउन बाँकेको कोहलपुर सबस्टेसनको स्तरोन्नति सुरु गरेको छ । यसका लागि सबस्टेसनमा ६३ एमभिएको नयाँ ट्रान्सफर्मर जडान गरिने छ । अहिले त्यहाँ ३०÷३० एमभिएका दुईवटा ट्रान्सफर्मर छन् । ६३ एमभिएको नयाँ ट्रान्सफर्मर आएपछि एउटा निकालिने छ । नयाँ ट्रान्सफर्मर जडानपछि सबस्ेटसनको क्षमता ९३ एमभिए पुग्ने र त्यसबाट विद्युत आपूर्तिलाई सहज बनाउने प्राधिकरणले जनाएको छ ।
    ट्रान्सफर्मर खरिदका लागि टेण्डर आहन गरी उत्पादक तथा आपूर्तिकर्ता कम्पनी छनोट भइसकेको छ । कम्पनीले ट्रान्सफर्मरलाई नेपाल ल्याएर जडान गर्न मात्रै बाँकी छ ।
    नेपालगंज क्षेत्रमा विद्युत आपूर्तिमा समस्या रहेको गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले त्यस क्षेत्रमा रहेको विद्युत प्रसारण तथा वितरण प्रणालीलाई स्तरोन्नति गरी समस्या समाधान गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।
    ‘नेपालगंजमा अघोषित लोडसेडिङ भइरहेको भन्ने धेरै गुनासो आएको छ, छिन–छिनमा वत्ति जाने समस्या रहेछ, यस्तो समस्या समाधान गरी उपभोक्तालाई विश्वसनीय सेवा दिनुपर्छ’, नेपालगंजमा मंगलबार आयोजित कार्यक्रममा निर्देशन दिंदै भने ।
    नेपालगंज क्षेत्रमा भारत र नेपालतर्फको ग्रिडबाट विद्युत आपूर्ति गर्नुपर्ने भएकाले स्विचिङको समस्या छ । नेपालगंजमा मात्रै करिव २४ मेगावाट विद्युत माग छ । कोहलपुर क्षेत्रमा करिव १५ मेगावाट विद्युत माग छ । भारतबाट विद्युत आयात गर्दा कमजोर प्रसारण लाइन पूर्वाधार (३३ केभी) र कम भोल्टेजले गर्दा स्तरीय विद्युत आपूति हुन सकिरहेको छैन ।
    यसले विद्युतको प्राविधिक चुहावटलाई पनि बढाएको छ । भारतको मानपाराबाट करिव ११ मोगावाट विद्युत आयात गरी नेपालगंज क्षेत्रमा आपूर्ति हुन्छ ।
    नेपालगंज क्षेत्रमा भारतको मानपारा तथा टनकपुर र  नेपालतर्फको अत्तरियाबाट चमेलिया, लमहीबाट कालीगण्डकी विद्युत केन्द्रबाट विद्युत आपूर्ति गरिन्छ ।
    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोहपुर सबस्टेसनको स्तरोन्नतिपछि नेपालगंज क्षेत्रको विद्युत आपूर्तिमा भइरहेको समस्या समाधान हुने बताए ।
    ‘लोडसेडिङ अन्त्यपछि गुणस्तरीय र विश्वसनीय विद्युत आपूर्तिमा केन्द्रित भएका छौं, नेपालगंज क्षेत्रको विद्युत आपूर्तिको समस्यालाई समाधान गर्न गम्भीर भएर लागिरहेको छौं’,उनले भने,‘सबस्टेसनको स्तरोन्नति गर्ने वितरण प्रणाली सुधार गर्न लगायतका काम समानान्तररुपमा अगाडि बढेकोले समस्या छिट्टै समाधान हुन्छ ।’