इवा खोलाको ५६ लाख कित्ता आईपीओ निष्कासन हुँदै, आवेदनको लागि कहाँ जाने?

    2516

    असार २, पाँचथर । पाँचथर र ताप्लेजुङ बासिन्दाका लागि निर्माणाधीन इवा खोला जलविद्युत् आयोजनाको शेयर खुला गरिएको छ । नौ दशमलव नौ मेगावाटको सो आयोजनाबाट प्रभावितका लागि लागत पूँजीको १० प्रतिशत शेयर खुला गरिएको हो  ।

    दश प्रतिशत अर्थात् रू. १ सय  प्रतिकित्ताका दरले ५६ लाख कित्ताबाट हुन आउने रकम रू. पाँच करोड ६० लाख बराबरको शेयर ताप्लेजुङ तथा पाँचथरवासीका लागि खुला गरिएकामा २२ लाख ४० हजार कित्ता साविक थर्पु तथा साव्लाखुवासीका लागि र बाँकी ३३ लाख ६० हजार कित्ता ताप्लेजुङ र पाँचथर जिल्लाका लागि छुट्याइएको छ । फिदिममा रहेका माछापुच्छ्रे, एनआईसी एशिया, एनएमबी, सिभिल बैङ्क तथा पाँचथर थर्पुमा सिभिल बैङ्कमा शेयर फारम भरी रकम जम्मा गर्न सकिने बताइएको छ ।

    ताप्लेजुङमा एनएमबी बैङ्कमा जम्मा गर्न सकिनेछ । विसं २०७४ असार ८ गतेसम्म शेयर विक्री खुला गरिएकामा प्रस्तावित रकम जम्मा हुन नसके असार २३ गतेसम्म जारी राख्ने बताइएको छ । इवा खोला आयोजनाको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको परियोजना निर्देशक कुवेरमणि नेपालले बताए । उक्त आयोजना ताप्लेजुङ तथा पाँचथर जिल्लाको सिमाना भएर बहने इवा खोलाको बायाँ किनारा साविक पाँचथर जिल्लाको थर्पु गाविस तथा ताप्लेजुङ जिल्लाको साब्लाखु गाविसमा पर्छ । आयोजनाले इवाखोलाबाट अधिकतम १२ दशमलव तीन क्यूविक मिटर प्रतिसेकेण्ड पानी उपयोग गरी नौ दशमलव नौ मेगावाट क्षमताको विद्युतशक्ति उत्पादन गर्नेछ ।

    यो आयोजनाबाट उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको अमरपुर सवस्टेशनसम्म पुर्‍याइनेछ । अमरपुर सवस्टेशनबाट राष्ट्रिय ग्रिड प्रणालीमा विद्युत् समाहित हुनेछ । यस आयोजनामा रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २५ प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र बाँकी ५० प्रतिशत सञ्चालक तथा संस्थापक शेयरधनीको लगानी रहने बताइएको छ । यो आयोजनको निर्माण २०७४ माघ मसान्तभित्र सम्पन्न गरिसक्ने परियोजना निर्देशक कुवेरमणिले बताए । रासस