रावा खोला हाइड्रोपावरको प्रारम्भिक वातावरणीय परीक्षण सम्पन्न

    2584

    सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालनको तयारी गरिएको खोटाङको रावा खोला हाइड्रोपावरको प्रारम्भिक वातावरणीय परीक्षण कार्य (आईईई) सम्पन्न भएको छ । जिल्लाकै ठूलो ६.५ मेगावाटको सो आयोजना दूधकोसी पावर कम्पनी प्रालिले निर्माणकोे तयारी गरिएकोे  छ । परीक्षणमा निर्माण स्थल र त्यस क्षेत्रको भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरण र अन्तरसम्बन्धमा पर्न सक्ने प्रभावलाई समेटेर प्रतिवेदन मस्यौदा तयार पारेको कम्पनीले जनाएको छ । सो रिपोर्ट ऊर्जा मन्त्रालयमा पेस गरिने र ऊर्जाले स्वीकृत गरेपछि हाइड्रोपावरको अन्य बाँकी काम थालिने दूधकोसी पावर कम्पनीका प्रबन्ध निर्देशक प्रेम लामाले बताए । उनले भने, “ऊर्जाबाट स्वीकृति आएपछि छिट्टै अन्य काम थाल्ने छौं ।”
    जिल्लाको हौचुर र जालपा गाविसबीचबाट बग्ने रावा खोलाको पानी हौचुरको भैंसेबाट खसाएर ६.५ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । मंगलबारेमा बाँध बनाएर २ हजार ३ सय ३१ मिटर लामो कुलोबाट पानी खसाउने तयारी भएको दूधकोसी पावर कम्पनीले जनाएको छ । हाइड्रोपावरको बाँकी काम सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा जिल्ला विकास समिति खोटाङले सुरू गर्ने कार्यालयका योजना अधिकृत हरि गुरागाईंले बताए ।
    यसै आर्थिक वर्षभित्र काम सुरु गर्ने भनिएको हाइड्रोपावरको हाल पावर खरिद सम्झौता (पीपीए) गर्ने प्रक्रिया पनि सुरु गरिएको छ । पा“च वर्षभित्र खोटाङलाई लोडसेडिङ मुक्त बनाउने घोषणा गरेको जिल्ला विकास समितिले प्रेम लामाको दूधकोसी हाइड्रोपावर कम्पनीको स्वामित्वमा रहेको रावा खोला हाइड्रोपावरलाई पीपीपी मोडलमा बँदलेर सञ्चालन गर्ने प्रक्रिया थालेको हो ।
    खोलाहरु आफ्नो नाममा दर्ता गर्ने र काम नगरी खोला ओगट्ने प्रवृत्ति बढिरहेका बेला खोटाङको १८ औं जिल्ला परिषद्ले २०६३ सालमा लामाको नाममा दर्ता भएको ७ मेगावाटको रावा खोला हाइड्रोपावरलाई पीपीपी मोडलमा सञ्चालन गर्नकालागि प्रक्रिया अघि बढाएको हो । साढे चार मेगावाट विद्युत्ले धान्न सक्ने अवस्था रहेको खोटाङमा यस्ता ठूला हाइड्रोपावर निर्माणको चर्चाले जिल्लावासीमा नयाँ उत्साह थपिएको छ । अर्कातर्फ करिब ४४ हजार घरधुरी रहेको जिल्लालाई लोडसेडिङ मुक्त बनाउने र विद्युत्मा आत्मनिर्भर बनाउने जिविसको आवधिक योजनाले पनि त्यतिबेला साकाररूप पाउनेछ ।
    १८ करोडको लागतमा दुई वर्षभित्र निर्माण कार्य सकिने अनुमान गरिएको रावा खोला हाइड्रोपावरका लागि विभिन्न बैंक तथा वित्तीय कम्पनीहरुले लगानी गर्नेछन् । अर्थात्, ७० प्रतिशत बैंकको लोन र ३० प्रतिशत स्थानीय लगानीकर्ताहरुको लगानी हुनेछ । खोटाङ विद्युत् विकास सार्वजनिक कम्पनी लिमिटेडले लामाको दूधकोसी हाइड्रोपावर कम्पनीको स्वामित्वमा रहेको रावा खोला हाइड्रोपावरको स्वामित्व लिएपछि रावा खोला हाइड्रोपावरलाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन प्रक्रिया थालिएको थियो । लिमिटेडको स्थापना गरिएसँगै चार वर्षअघिदेखि लामाको कम्पनीले सञ्चालन गर्दै आएको हाइड्रोपावर खोटाङ विद्युत् विकास सार्वजनिक कम्पनी लिमिटेडले सञ्चालनको प्रक्रिया थालेको छ । हाइड्रोपावर सञ्चालन गर्दा लागेको खर्च र पावर खरिद सम्झौता (पीपीए) गर्दा कम्पनीलाई लागेको शुल्क बराबरको ३ करोड ६० लाख रुपैयाँलाई विद्युत् विकास सार्वजनिक कम्पनी लिमिटेडकै सेयरका रूपमा कायम गर्ने सम्झौता छ । योजना सुरु भएको तीन वर्षपछि पूरा हुने ७ मेगावाट क्षमताको रावा खोला हाइड्रोपावर आयोजानाले खोटाङबाहेक छिमेकी जिल्ला ओखलढुंगा, उदयपुर, भोजपुर, सोलुखुम्बुलगायतका जिल्लामा विद्युत् खपत गर्न सकिनेछ । करिब १ अर्बको लगानीमा हाइड्रोपावरको काम सम्पन्न हुने विद्युत् विकास सार्वजनिक कम्पनी लिमिटेडले जनाएको छ ।

    प्रस्तुति: कारोबार राष्ट्रिय