वाग्मतीबाट फागुनमा २२ मेगावाट बिजुली

    1399

    हेटौंडा — भीमफेदी गाउँपालिका ८ इपापञ्चकन्याको वाग्मती दोभानमा निर्माणाधीन विद्युत् आयोजनाले आगामी फागुन महिनाको पहिलो सातासम्ममा विद्युत् उत्पादन गर्ने भएको छ ।

    मंसिर महिनामा नै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भए पनि पेनेस्टक पाइप जोड्न ढिलाइ भएकाले विद्युत् उत्पादन तीन महिनापछि धकेलिएको हो । ६ सय मिटरमध्ये पेनेस्टक पाइप जडान गर्न ७० मिटर मात्र बाँकी छ ।

    ‘वर्षायामका कारणले गर्दा केही समय निर्माणको काम रोकिएको थियो,’ आयोजनाका आवासीय इन्जिनियर रत्न बोम्जनले भने, ‘पेनेस्टकको केही काम जोखिमपूर्ण स्थानमा रहेकाले काम गर्न ढिलाइ भएको छ । सिभिल वर्क र इलेक्ट्रो मेकानिकलको गरेर ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । विद्युत् गृहभित्र उपकरणहरू जडान गर्ने काम पनि अन्तिम चरणमा पुगिसकेको छ । मुख्य सुरुङ २ हजार ४ सय २४ मिटर लामो रहेको छ ।

    नेपाल विद्युत् प्राधिकरण र सरकारको लगानीमा मकवानपुरको भैंसेमा कुलेखानी ३ विद्युत् आयोजना सुरु गरेको ११ वर्ष बित्न लागिसक्दा पनि सम्पन्न हुन सकेको छैन । कुलेखानी ३ को परीक्षण उत्पादन पुसको अन्तिमसम्ममा गर्ने लक्ष्यका साथ काम भइरहेको छ । निर्माण कार्य सम्पन्न हुँदा पनि १४ मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ ।

    सिइच्वाङ हेइच्वाङ चाइनिज कम्पनीको सहयोगमा मान्डु हाइड्रो पावर कम्पनीले चार अर्बको लगानीमा वाग्मती साना जलविद्युत् आयोजना निर्माणकार्य २०७२ जेठबाट सुरु गरेको हो ।

    वाग्मतीको बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२.४ क्युसेक पानी बग्ने गर्छ । वाग्मतीमा निर्माण गरिएको बाँधबाट पावर हाउस (विद्युत् गृह) २ हजार ४ सय २४ मिटरको दूरीमा छ । मुख्य सुरुङ अर्थात् टनेलको चौडाइ ३.७ र उचाइ ३.८ डाइमिटर रहेको छ । वाग्मती र कोगटेको पानी थुनेर सुरुङतर्फ लैजान बाँध निर्माणगरिएको हो ।

    उक्त आयोजनाको सिभिल वर्कको निर्माणकार्य सुरुङ खन्ने, बाँध निर्माण गर्ने र पावर हाउसको सिभिल वर्कको कार्य पनि नेपाली कम्पनी साउथ एसियन इन्फा इस्टक्चर प्रालिले गरेको हो । नेपाली प्राविधिक र नेपाली मजदुरहरूबाट आयोजनाको सुरुङ खन्ने, बाँध निर्माण, पेनेस्टक पाइप जडान गर्ने स्थल निर्माण गर्ने कार्य गरेको निर्माण कम्पनीका इन्जिनियर महेन्द्र अधिकारीले बताए ।

    ‘दुई वटा रोटर रहने उक्त पावर हाउसमा अधिकांश उपकरणहरू जडान भइसकेका छन् । उक्त आयोजनाको ६ सय मिटर लामो पेनेस्टक पाइप रहनेछ । ‘स्थानीयबासीसमेत रहेका भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामालगायत जनप्रतिनिधिहरूको सहयोग भएकाले निर्माण कार्यलाई गति दिन सहज भएको छ,’ आवासीय इन्जिनियर बोम्जनले भने, ‘यो विद्युत् आयोजना नेपालको नमुना आयोजना बनाउन चाहिरहेका छौं ।’

    तोकिएको समयमा नै विद्युत् उत्पादन गरेर प्राधिकरणलाई बिक्री गर्नेछौं । मान्डु हाइड्रो पावर कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसा र हिउँदमा ८ रुपैयाँ ४०पैसामा बिक्री गर्ने सम्झौता गरेको छ ।

    आयोजनाको इलेक्ट्रो मेकानिकलको काम चाइनिज कम्पनीले गरिरहेको छ । उक्त आयोजनाले विद्युत् उत्पादन गरेर कुलेखानी प्रथमको सबस्टेसन धोर्सिङको राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना रहेको छ । उक्त आयोजनाको पावर हाउसवाट कुलेखानी प्रथमकोसबस्टेसन साढे १३ किलोमिटरको दूरीमा रहेको छ ।
    प्रताप विष्ट
    स्रोत:कान्तिपुर