माथिल्लो कर्णालीको मुआब्जा साउनदेखि

    1183

    सुर्खेत । माथिल्लो कर्णालीको प्रवर्द्धक जीएमआरले आगामी साउनदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड (एनआईबीएल) सुर्खेत शाखाले आयोजनास्थल दैलेखको डाबमा एक्सटेन्शन काउण्टर सञ्चालनमा ल्याएको छ ।

    बैङ्कका शाखा प्रबन्धक कृष्णराज जोशीले जीएमआरले चुनावलगत्तै मुआब्जा वितरणको तयारी गरेकाले अत्याधुनिक प्रविधिसहितको एक्सटेन्शन काउण्टर स्थापना गरिएको बताए । जीएमआरले नोभेम्बर तेस्रो साता प्रभावित क्षेत्रका जग्गाधनीसँग अप्रिलसम्म अधिग्रहण गरिसक्ने सम्झौता गरेको थियो । आयोजनाले ४८ हेक्टर निजी जग्गा अधिग्रहण गर्दै छ । प्रतिरोपनी रू. ८ लाख ९५ हजारका दरले मुआब्जा वितरण गर्दै छ । पुनःस्थापना तथा पुनर्वाससम्बन्धी कार्ययोजनाका अनुसार कुल ४ सय २६ घरधुरीलाई मुआब्जा दिनुपर्ने छ ।

    वन तथा भूसंरक्षण मन्त्रालयले ९ सय मेगावाट क्षमताको आयोजनाको प्रवद्र्धक जीएमआर अपर कर्णाली हाइड्रोपावरलाई आयोजनाले प्रयोग गर्ने वनक्षेत्रको जग्गा सट्टा भर्ना गर्न शर्त अघि सारेको छ । रासस