पूर्वप्रहरीले जलविद्युत आयोजनामा लगानी गर्दै

    1017

    नवलपरासीका पूर्वप्रहरीले जलविद्युत् उत्पादनका लागि लगानी गर्ने भएका छन् । नवलपरासीको परासी र कावासोतीमा गरी दुई स्थानमा भएको नेपाल पूर्वप्रहरी सङ्गठन, नवलपरासीको भेलाले जलविद्युत्मा लगानी गर्ने निर्णय गरेको हो ।

    नेपाल पूर्वप्रहरी सङ्गठनका केन्द्रीय सदस्य अमृता सिग्देलका अनुसार नवलपरासीमा मात्रै करीब ३ हजार पूर्वप्रहरी छन् । तीमध्ये परासी क्षेत्रका २ सय र कावासोती क्षेत्रका १ सय जनाले विद्युत्मा लगानीका लागि शेयर आवेदन दिएका छन् । त्यसैगरी बाँकीलाई पनि सम्पर्कमा ल्याएर लगानी गराउने निर्णय भएको नेपाल पूर्वप्रहरी सङ्गठन, नवलपरासीका अध्यक्ष शम्भु उपाध्यायले जानकारी दिए ।

    केन्द्रीय सदस्य सिग्देलका अनुसार बहालवाला प्रहरी र पूर्वप्रहरीलाई प्रतिव्यक्ति कम्तीमा ५ हजारदेखि १५ हजार रुपैयाँसम्मको लगानी गर्न पाउने गरी शेयर खुला गरिएको हो । नेपाल प्रहरीको अनुरोधमा देशभरका बहालवाला र पूर्वप्रहरीबाट शेयर लगानी गर्ने गरी देशभर जिल्ला जिल्लामा भेला गरिएको छ । नेपाल जलविद्युत् तथा विकास कम्पनीले उत्पादन गर्न लागेको ४९ मेगावाट क्षमताको विद्युत् परियोजनामा उनीहरूले प्रहरी कल्याण कोषमार्फत १ अर्ब १४ करोड रुपैयाँ लगानी गर्न खोजेका हुन् ।

    नेपाल सरकारको ५१ प्रतिशत शेयर हुने गरी ८ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण हुने परियोजनामा ७० प्रतिशत (५ अर्ब ९६ करोड रुपैयाँ) लगानीकर्ताबाट र शेयरबाट ३० प्रतिशत (२ अर्ब ५४ करोड) लगानी हुनेछ । शेयरको ४५ प्रतिशत (१ अर्ब १४ करोड) प्रहरी कल्याण कोषबाट लगानी गर्ने लक्ष्य रहेको इलाका प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले जानकारी दिए ।

    स्रोत: अभियान