डेढ वर्षभित्र माथिल्लो तामाकोसी कठिन

    2256

    आयोजनाको परामर्शदाता कम्पनीले यही गतिमा काम भए निर्माण सक्न अझै ३ वर्ष लाग्ने बताएको छ

    सचेन गौतम लामाबगर(दोलखा), ४ पुस ।

    स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम तीव्र भएमा मात्रै डेढ वर्षभित्र सकिने देखिएको छ । स्थलगत निरीक्षणका लागि पुगेका ऊर्जामन्त्री जनार्दन शर्मासमक्ष परामर्शदाता नरकन्सल्ट एएस लाहमेर इन्टरनेसनल जेभीका आयोजना प्रमुख जर्ज हेजलले निर्माण सक्न अझै ३ वर्ष लाग्ने जानकारी गराए । ‘अहिलेकै गतिका काम भए आयोजना सकिने वास्तविक समय तालिका तीन वर्षको हुन्छ,’ उनले भने, ‘तर, त्यसभन्दाअघि सक्ने प्रयास गरिरहेका छौँ ।’

    मन्त्री शर्मा ऊर्जासचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली लिएर स्थलगत निरीक्षणमा पुगेका थिए । गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना भूकम्प, भारतीय नाकाबन्दीलगायतका कारणले प्रभावित भएको थियो । आयोजनाको निर्माण असार ०७५ भित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने प्रक्षेपण गरिएको छ ।

    हाइड्रोमेकानिकलमा मुख्य समस्या बाँध, मुहान (इन्टेक), बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर)मा गेट, पेन स्टक पाइपलगायतको डिजाइन, परीक्षण र कमिसनिङको ठेकेदारका कारण निर्माण प्रभावित हुने देखिएको छ । यसको ठेकेदार भारतीय कम्पनी टेक्स्म्याको रेल एन्ड इन्जिनियरिङले बाटो कमजोर भएको कारण देखाउ“दै पेन स्टक पाइप, गेटलगायतका उपकरण ल्याएको छैन । कतिपय सामान वीरगन्ज भन्सारमा अलपत्र परेका छन् ।

    बाँध क्षेत्रमा काम पनि अझै सुरु गरेको छैन । अहिले उपलब्ध भएका उपकरण प्रयोग गरी काम गर्न दबाब दिइरहेको आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले बताए । आयोजनाले धेरै तौल भएका उपकरण आयोजना स्थलसम्म पुर्‍याउनका लागि सिन्धुपाल्चोकको सुनकोसी नदीमा वैकल्पिक पुल बनाइरहेको छ । हाइड्रोमेकानिकलको काम ०७५ को चैतको दोस्रो हप्ता (मार्च २०१९) भित्र मात्रै सकिने ठेकेदार कम्पनीका एस मण्डलले बताए । ‘यसको विस्तृत तालिका बुझाइसकेका छौँ,’ उनले भने । यसअघि यो काम पुस ०७४ भित्र सक्ने लक्ष्य राखिएको थियो ।

    ७६ मेगावाट ०७५ मंसिरमा

    मुख्य मेसिन र उपकरण डिजाइन, परीक्षण र कमिसनिङको जिम्मेवारी पाएको अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रो जिएमबिएचले पहिलो युनिट ०७५ को मंसिर दोस्रो हप्ता तयार हुने बताएको छ । ४ सय ५६ मेगावाटको आयोजनामा ६ वटा युनिट छन् । प्रत्येकबाट ७६/७६ मेगावाट विद्युत् उत्पादन हुन्छ । कम्पनीले टर्वाइन, जेनेरेटर, ट्रान्सफर्मर, स्विचगियर, भल्ब, गभर्नर र सोसँग सम्बन्धित उपकरणको डिजाइन, जडान, परीक्षण र कमिसनिङको काम गर्छ ।

    ०७५ को असारभित्रै सक्ने प्रयासमा छौँ

    बाँध, मुख्य सुरुङ, भूमिगत विद्युत् गृहलगायतको काम गरिरहेको ठेकेदार कम्पनीले ०७५ असारभित्रै निर्माण सक्ने प्रयास गरिरहेको बताएको छ । अग्रिम भुक्तानीलगायतमा सहयोग भएमा तोकिएको समयमा काम सक्ने प्रयास गर्ने ठेकेदार सिनो हाइड्रो कर्पोरेसनका आयोजना प्रमुख लेईले बताए ।  पहिरोले क्षति पुर्‍याएको विद्युत् गृह गांगरदेखि बाँधस्थल लामाबगरसम्मको सडक खुलेको छ । काभ्रेभीरनजिकै करिब ३ सय ६० मिटर सुरुङ बनाएपछि लामाबगरसम्म सडक खुलेको हो । ठेकेदारले बाँधको बाँकी रहेको काम सुरु गर्ने तयारी गरिरहेको छ ।

    मुख्य सुरुङ खन्न भने अझै केही दिन लाग्ने देखिएको छ । सुरुङभित्र करिब तीन किलोमिटर पानी जमेको छ । अहिले एउटा मात्रै मोटर राखी पानी फालिएको छ । यही गतिका काम भए पानी फाल्न तीन महिना लाग्ने ठेकेदारले बताएको छ । त्यसपछि मात्रै मुख्य सुरुङ खन्न सुरु हुनेछ । मोटर थप गरेर तत्काल पानी फाल्न निर्देशन दिइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । विद्युत् गृह निर्माण तीव्र रूपमा भइरहेको छ ।

    डेढ वर्षअघि नै सक्नुपर्छः ऊर्जामन्त्री आयोजना,

    परामर्शदाता र अन्य ठेकेदार कम्पनीबीच छलफल गर्दा निर्माण सकिने समयतालिका फरक–फरक प¥यो । सञ्चारमाध्यमदेखि सर्वसाधारण डेढ वर्षभित्र आयोजना निर्माण सकिनेमा आशावादी भएर बसेका छन् । तर, परामर्शदाताबाट आयोजना सक्न तीन वर्ष लाग्ने कुरा आएको छ । यदि यस्तै हो भने डेढ वर्षभित्र निर्माण सक्ने भनेर या त गलत प्रचार गरियो या विवरण लुकाइयो, वास्तविकता के हो ? सबै तामाकोसी भन्दै हिँडिरहेका छौँ । यदि निर्माणमा ढिलाइ भएमा यसले मुलुक नै डुबाउनेछ ।

    आयोजनालाई डेढ वर्षभन्दा अघि सक्ने गरी सबै पक्ष बसेर आयोजनाको तालिकालाई अन्तिम रूप दिएर तीन दिनभित्र बुझाउनुहोस् । जसरी भए पनि आयोजना डेढ वर्षभित्रै निर्माण सम्पन्न हुनुपर्छ । निर्माणका क्रममा आउने समस्या समाधान गर्न सरकार तयार छ । वातावरणीय व्यवस्थापन तथा प्रभाव न्यूनीकरण तथा सामुदायिक सुधार/विकास कार्यक्रममा भएको खर्चको विवरण पेस गर्नुहोस् । जनताको आर्थिक तथा सामाजिकस्तरमा ल्याउने कार्यक्रममा मात्रै खर्च गर्नुहोस् ।

    स्रोत:नयाँपत्रीका