नेपालमा जलविद्युत् उत्पादनको क्षमता कति छ ? जलविद्युत् उत्पादन सुरु भएको सय वर्ष नाघे पनि यसको स्पष्ट जवाफ ऊर्जा मन्त्रालयसँगै आजसम्म छैन । झन्डै ५० वर्षअघि हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधिको थेसिस लेख्ने क्रममा तत्कालीन सीमित स्रोत साधनको उपयोग गरेर पत्ता लगाएको ८३ हजार मेगावाटलाई नै नेपालको क्षमताका रूपमा मानिँदै आएको छ । कुनै आधिकारिक अध्ययन नभए पनि यसमध्ये ४२ हजार मेगावाटलाई व्यावसायिक र प्राविधिक रूपमा उत्पादन भएको क्षमता मानिँदै आएको छ । यही कारण १९६८ सालमा ५ सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजना बनाएर दक्षिण एसियाकै दोस्रो जलविद्युत् आयोजना निर्माण गर्ने मुलुक बनेको नेपालले यसको उत्तर दिन नसकेर शिर निहु¥याउनुपर्ने अवस्था छ । अब भने बल्ल सरकारले नेपालको जलविद्युत् उत्पादन पुनः सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
जल तथा ऊर्जा आयोगमार्फत सिल्ड कन्सर्नलाई परामर्शदाताका रूपमा छनोट गरेर पुनः सम्भाव्यता अध्ययन सुरु गरिएको र २०७४ को असारसम्ममा नेपालको कुल क्षमता कति भन्ने स्पष्ट आइसक्नेछ । ‘अहिले नेपालको जलविद्युत्को क्षमता कति भनेर विदेशीले विभिन्न फोरमहरूमा धेरै प्रश्न गर्ने गरेका छन्, आधिकारिक अध्ययन नभएकाले भन्न सकेका छैनौं,’ आयोगका सहसचिव जिबछ मण्डलले राजधानीसँग भने, ‘वेसिनवाइज रूपमा अध्ययन अघि बढाएका छौं,’ गत अगष्टदेखि सुरु भएको सम्भाव्यता अध्ययनअन्तर्गत परामर्शदाताले प्रारम्भिक रूपमा १ लाख ३० हजार मेगावाटभन्दा बढी क्षमता हुने देखाइसकेको र अन्तिम प्रतिवेदन आएपछि यकिन रूपमा भन्न सकिने उनले जानकारी दिए । नेपालमा हाल ६ हजार नदीनाला रहेको र १० किलोमिटर स्क्वायरको लक्षित क्षेत्रभित्र रहेर गरिने विस्तृत अध्ययनका क्रममा विशेषगरी क्यु ४० मा यसको अध्ययन अघि बढाइएको छ । विशेष गरी कर्णाली, कोसी, गण्डकी र महाकाली वेसिनलाई आधार बनाएर अध्ययन अघि बढेको छ ।
हालसम्म आधुनिक प्रविधि र स्रोत साधनको उपयोग गरेर सरकारले यसबारे विस्तृत अध्ययन गरेको छैन । हरिमानबाहेक ईश्वर ब्रजाचार्यले विद्यावारिधिकै थेसिस गर्ने क्रममा गरेको नेपालको ऊर्जा सम्भाव्यता र यसको उत्पादन तथा विस्तारको प्रतिवेदनमा भने १ लाख ३ हजार ३ सय ४१ मेगावाट उत्पादन हुने उल्लेख छ । उनले अस्ट्रेलियाको भियना युनिभर्सिटी अफ टेक्नोलोजीबाट विद्यावारिधि गरेका थिए ।
भारतका विभिन्न निकायले गरेको अध्ययनले भने नेपालको पानीको अधिकतम उपयोग गर्दा २ लाख मेगावाटसम्म विद्युत् उत्पादन हुन सक्ने देखाइएको छ । पछिल्लो समयका सरकारी निकायबीच समन्वय नहुँदा तथा नदीनालाको छेउमा सडक निर्माणलगायतलाई जोड दिँदा कतिपय ठूला जलविद्युत् आयोजनाको सामाजिक तथा वातावरणीय पक्ष धेरै महँगो पर्ने देखिएको छ । यसतर्फ ध्यान दिइएको छैन, तर अब यस्ता क्षेत्रलाई पनि समेटेर अध्ययन अघि बढाइने आयोगले जनाएको छ । ‘जलविद्युत् क्षमताबारे आधुनिक तरिकाले अध्ययन अघि बढाउने हुनाले यसले नेपालको जलविद्युत्को स्पष्ट चित्र दिन्छ,’ सहसचिव मण्डलले भने ।
छरिएका रहेका अध्ययन अनुसन्धानलाई एकीकृत गरेर पुनः अध्ययन नगरेसम्म यस्ता अध्ययन तथ्यांकहरू मिथ्यांकका रूपमा परिणत हुने हुनाले हालको अध्ययनले जलविद्युत् क्षेत्रको विकासमा धेरै सहज बनाउने अपेक्षा गरिएको छ ।
हरिमान श्रेष्ठ ८३ हजार मेगावाट
ईश्वर बज्राचार्य १ लाख ३ हजार मेगावाट
भारतीय संस्थाको अध्ययन २ लाख मेगावाट
नेपालको आधिकारिक अध्ययन छैन
स्रोत: राजधानी