ऊर्जामन्त्री शाही र आई.एफ.सी. का प्रतिनिधिबीच भेट

    1238

    काठमाडौं, ३२ साउन २०७४ ।
    ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई अन्तरराष्ट्रिय वित्त निगम (आई.एफ.सी.)का नेपाल ,भुटान र बंगलादेशका कन्ट्री म्यानेजर वेन्डी वेर्नर (Ms. Wendy Werner ) ले भेट गर्नुभएको छ । ऊर्जामन्त्रालयमा आज भएको भेटमा मन्त्री शाहीले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आई.एफ.सी.लाई आग्रह गर्नुभएको छ । नेपालको ऊर्जा क्षेत्रमा गरिने लगानी नाफामूलक र सुरक्षित हुने दाबी गर्दै मन्त्री शाहीले राजनीतिक संक्रमणबाट बाहिरिँदै गरेको नेपालको मुख्य एजेण्डा अब आर्थिक विकास रहेको बताउनुभयो । सरकारले आफ्नो ध्यान विद्युत् उत्पादन गर्ने तर्फ मोडेको बताउँदै मन्त्री शाहीले नेपालको ऊर्जा क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको तर्फ ध्यानाकर्षण गर्नुभयो । ‘धेरै उद्योग र पूर्वाधार परियोजना पाइपलाइनमा छन्। यातायात र सेवा क्षेत्रमा ठूलो अवसर छ। यसले ऊर्जा क्षेत्रमा लगानीको ठूलो अवसर सिर्जना गरेको छ,’ मन्त्री शाहीले भन्नुभयो, वितरण र प्रसारण लाइन विस्तार तथा स्तरोन्नतिमा पनि लगानीको अवसर रहेको छ । उहाँले नेपालले सन् २०२५ सम्म १० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको जानकारी गराउँदै यो लक्ष्य पूरा गर्न वैदेशिक र निजी क्षेत्रको लगानी महत्वपूर्ण हुने समेत बताउनुभयो । ‘वैदेशिक लगानीप्रति हामीले उदार नीति लिएका छौं। लद्यु जलविद्युत् र सौर्य ऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्न नेपालले नवीकरणीय ऊर्जा अनुदान नीति कार्यान्वयनमा ल्याएको छ,’ मन्त्री शाहीले भन्नुभयो , ‘ऊर्जा क्षेत्रमा लगानीकर्तालाई कर छुट, सहुलियत छुट, अन्तःशुल्क फिर्ता र शतप्रतिशत नाफा फिर्ता लैजान पाउनेलगायत सुविधा व्यवस्था गरेका छौं ।’नेपालको श्रम नीति बजारमैत्री भएको दाबीसमेत मन्त्री शाहीले गर्नुभयो । नेपालको श्रमिक अन्यको तुलनामा सस्तो समेत भएको बताउँदै उहाँले औद्योगिक मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको जनाउनुभयो । भेटमा (आई.एफ.सी.)का नेपाल ,भुटान र बंगलादेशका कन्ट्री म्यानेजर वेन्डी वेर्नर (Ms. Wendy Werner ) ले आफुहरु ऊर्जामा लगानी गर्न इच्छुक रहेको बताउँदै अपर त्रिशुली १ को पिपिए गर्न पहल गरिदिन मन्त्री शाहीलाई आग्रह गर्नुभयो । उहाँले आईएफसीले मुख्यतः नीजि क्षेत्रमा लगानी गरिरहेको भन्दै सरकारले लगानी गर्ने अबसर दिएमा आफूहरु लगानी गर्न तयार हुने प्रष्ट पार्नुभयो ।